मितेरी पुल प्रहरी नियन्त्रणमा : मोर्चा प्रदर्शनमा

१६ कार्तिक,काठमाडौ
प्रहरीले बीरगञ्जको रक्सौल नाकास्थित मितेरी पुलमा रहेका मधेशी मोर्चाका कार्यकर्तालाई आज बिहान हटाएको छ । करिब दुई महिनादेखि मितेरी पुलमा धर्ना दिएर आन्दोलनरत मोर्चा कार्यकर्तालाई आज बिहान साढे पाँच बजे प्रहरीले हटाएको हो ।
मोर्चा कार्यकर्ताको धर्नाका कारण पछिल्लो दुई महिनादेखि बीरगञ्जस्थित रक्सौल नाकाबाट हुने सबै आयात ठप्प भएको थियो । प्रशासनले आजैदेखि नाका सूचारु गरेको छ । मोर्चाले भने प्रहरी हस्तक्षेपको विरोध गरेको छ । नाकाको अवरोध हटाइएसँगै नेपालतर्फ रोकिइरहेका भारतीय ट्रकहरुलाई सीमा पारि पठाइएको वीरगञ्ज प्रहरी प्रमुख राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले प्रदर्शनकारीलाई हटाएसँगै रक्सौल नाकाको अवरोध हटेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पुलबाट आन्दोलनकारीलाई हटाएको हो । प्रहरीले प्रर्दशनकारीलाई हटाउने क्रममा आन्दोलनकारीले प्रहरीमाथि  ढुंगामुढा समेत गरेका थिए । केही दिनदेखि मितेरी पुलमा आन्दोलनकारी कम हुँदै गएकाले आज प्रहरीले त्यहाँबाट आन्दोलनकारीलाई हटाएको हो ।
नाकाबाट आन्दोलनकारी हटेसँगै नेपालमा समान अनलोड गरेर भारत तर्फ फर्किन नपाएका भारतीय मालवाहक गाडीहरु भारत तर्फ गएका छन् । प्रहरीले नाकामा फेरि धर्ना हुन सक्ने भन्दै सतर्कता बढाएको छ । प्रहरीले रजत जयन्ती चोकबाट मितेरी पुल तर्फ जान कडाई गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले मितेरी पुल निरन्तर खुला रहने गरी प्रशासनले काम गर्ने जानकारी दिनुभयो । नेपाली सुरक्षा निकायले मितेरी पुल खाली गराउँदा सीमापारी भारतीय  सुरक्षा बलले पनि नाकामा बसेर सहयोग गरेको थियो ।
अहिले वीरगंज भन्सार क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले टेण्ट जलाई दिएको र लाठीचार्जबाट  १० जना प्रर्दनशकारी घाइते भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजकुमार यादवले जानकारी दिए ।
शान्तिपूर्ण धर्नामा बसिरहेका आन्दोलनकारीमाथि प्रहरीले अमानवीय तरिकाले बल प्रयोग गरेको भन्दै मोर्चा समर्थक आन्दोलनकारीले वीरगञ्जका  घण्टाघर, माइस्थान, छपकैया, बाइपास सडकखण्डको नयाँ बसपार्कलगायतका स्थानमा टायर बालेर नाराबाजी गरेका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment