समाजवादी समाज कि साम्राज्यवादकाे दास बनाउने ?

भीम राई,
नेपाली राजनीतिको पछिल्लो कालखण्डको अवस्था हेर्दा युवा तथा विद्यार्थीहरुलाई राजनीतिप्रति चासो कम भएको पाइन्छ । राजनीतिको पहिलो जगका रुपमा लिइने युवा तथा विद्यार्थीहरुमा रुचि नदिखिनुले अब आउने राजनीतिक परिर्वतनको स्वरुप निर्धारण गर्ने युवाहरुको राजनीतिप्रतिको वितृष्णाले समृद्ध नेपालको परिकल्पनामा सघाउला कि नसघाउला ?

वर्तमान पुँजीवादको समयलाई चिरेर समाजवादको बाटोमा लैजाने पुस्तामा राजनीतिमा वितृष्णा आउन थालेमा साँच्चै परिवर्तनको खातिर हाम्रो भाविपुस्ता तयार हुन सक्लान त ? बहसको विषय बनेको छ । यो बहस अब राजनीति गर्ने नेता तथा कार्यकर्ताहरुले मात्र होईन समाजको अगुवाई गरेर सामाजिक परिवर्तन चाहाने सबै सचेत नागरिकले सोच्ने बेला आएको छ ।

हामीले सुनेको जहानिया राणा शासनको १०४ बर्षे लामो शासनको जग हल्लाउन विद्रोहमा उत्रने पुस्ता तत्कालिन यूवा पुस्ता नै हुन भन्ने कुरा ईतिहाँसमा उल्लेख छ । तत्कालिन त्रिचन्द्र कलेजका विद्यार्थी गंगालाल श्रेष्ठ, धर्म भक्त माथेमा, शुक्रराज शास्त्रि, दशरथ चन्द लगायतको शहादत्तले राणा विरोधी आन्दोलनको जग बसालेको थियो ।

तत्कालीन प्रजा परिषद राष्ट्रिय काँग्रेस हुँदै नेपाली काँग्रेस र नेपाल कम्यनिष्ट पार्टीको नेतृत्व गर्नेहरुको उ बेलाको उमेरलाई हेर्ने हो भने सबै युवाहरु नै हुन् । त्यसपछि नै नेपालमा राजनीतिक चेतनाको बीजारोपण विकास भएको थियो । यतिबेला नेपाली राजनीतिको मुल मियोमा खेल्ने अधिकांश नेताहरुले विद्यार्थी या युवा राजनीतिको परिवेशबाट आएका छन् ।

वि.सं. २००७ सालको राजनीतिक परिवर्तनपछि नेतृत्वमा आएको विचलनका कारण २०१७ सालबाट राजा महेन्द्रले शुरु गरेको निरकुंश निर्दलीय पञ्चायती व्यवस्थाभित्र दलहरुमाथिको प्रतिबन्दसँगै सबैभन्दा बढी आन्दोलनमा परिचालित हुने र सङ्गठनमा आवद्ध हुने विद्यार्थी र युवाहरु नै थिए ।

अहिले क्रियाशिल राजनीतिक मूलधारमा रहेका जो जति राजनीतिक नेताहरु रहेका छन् उनीहरुको संलग्नता र सहभागिता कलिलै उमेरमा भएको देखिन्छ । उनीहरुले अहिले जे जस्तो अवस्थामा रहेका छन् । विचार दृष्टिकोण तथा सैद्धान्तिक धरातलको शुरुवाती तिनै कलिलो उमेरमा भएका थिए ।

एउटा अनुभवकको कुरा गरौँ । २०४६ सालमा तत्कालीन निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध ऐतिहासिक जनआन्दोलन भयो । आन्दोलनको अग्रभागमा रहेर सडकमा निस्कनेहरुको जत्था युवा विद्यार्थीहरु नै बढी थिए । यहि मेसोमा उदाएका विद्यार्थी नेताहरु अहिले माननीय तथा मन्त्रिको लाइनमा रहेका छन् । पार्टी नेतृत्वमा एकाध शिर्ष नेताहरु बाहेक सबै त्यहि राजनीति प्रवेशद्धारा विद्यार्थी नै हो ।

तर अहिले राजनीतिमा युवा विद्यार्थीको सहभागिता एकदमै न्यून रहेको छ । २०४६ साल ताका कक्षा ६ मा पढ्दै गर्दा आफू पढेकै विद्यालयमा अखिलको सदस्यता यो पङ्क्तिकारले पनि लिएको थियो । शुरुमा राजनीतिको र का बारेमा समेत चासो चिन्तन नभएकालाई सदस्यता दिलाएर सङ्गठन र राजनीतिक पद्धतीतर्फ आकर्षण गर्न नेताहरुले शुरुमै सङ्गठिन गरेका रहेछन भन्ने हाल आएर बुझिदैछ ।

विस्तारै सह प्रा.क.सदस्यबाट प्रा.क. सदस्य, प्रा.क. सचिव, हुँदै प्रा.क.अध्यक्ष हुँदा कक्षा १० मा पढिएकै हो । यस बीचमा राजनीतिक मोह बसेको हुँदो रहेछ । एसएलसीसँगै २०५० सालमा तत्कालीन नेकपा एमालेको विद्यार्थी सङ्गठनको अनेरास्ववियुको जिल्ला सम्मेलन आयोजक समितिको सदस्य हुँदा गौरवको महशुस हुने उमेर थियो ।

त्यही उमेर तथा समूह र सङ्गतमा राजनीति विचार बहसका कुराहरु सैद्धान्तिक पुस्तकहरुको अध्ययनको रुचि बढ्ने रहेछ । तर, आज हामीले त्यो अवसर हाम्रा पछिल्ला पुस्ताहरुलाई दिन सकिरहेका छैनौँ कि ? यो प्रसङ्ग किन उठाइएको हो भने हामी समाजलाई परिवर्तन गर्ने अभियानमा लामबद्ध हुनेहरुले हाम्रो भावि जनशक्तिको उत्पादन गर्नमा चुकिरहेका त छैनौँ ?

त्यसबेला प्रत्येक विद्यालयमा विद्यार्थी सङ्गठनहरु खुल्थे । विद्यार्थीहरुको अतिरिक्त क्षमतावृद्धि गर्ने किसिमका कार्यक्रमहरु हुन्थे । विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो बैठकहरुमा योजना बनाउँथे । साप्ताहिक तथा मासिक कार्यक्रम गरेर विद्यार्थीहरुलाई आफ्नो नजिक ल्याएर आफ्ना मातृ पार्टीलाई सहयोग गर्ने चलन थियो । तर, आजकल त्यसो भएको देखिदैन ।

आफू ईत्तर सङ्गठन तत्कालीन काँग्रेसको भातृ सङ्गठनको कुरा थाहा भएन । तर, अखिलमा लागेकाहरुले पार्टीको आन्तरिक निर्देशनमा विचार सिद्धान्तको बहस गर्न सिक्ने अवसर पाउँथे । मञ्चमा बोल्ने विद्यार्थी अधिकारको बारेमा माग राखेर प्रशासनसँग सिधा वार्तालाप गर्न सक्ने क्षमताको विकास गरेका हुन्थे ।

सामन्य विद्यालयस्तरको कमिटिका नेताले राम्रै योजना निर्माण गर्ने बैठक सञ्चालन गर्ने राजनीतिको सामन्य परिभाषा दिन सक्नेमात्र होइन विद्यार्थी आन्दोलनको इतिहासको जानकारी सम्म राख्न सक्ने हुन्थे । तर, अहिले विद्यालयमा सङ्गठन छ कि छैन थाहा छैन । क्याम्पसका विद्यार्थीलाई समेत सङ्गठनहरुको नाम थाहा नहोला ।

जिल्ला स्तरका नेताहरुलाई समेत सामन्य नीति र सिद्धान्तका कुराहरुमा बहस गर्न गारै होला । यो किन भइरहेको छ । यी सबैको उत्तर अब खोज्ने बेला आएको छ । हामीले भनेको समाजवाद उन्मुख नेपालमा साँच्चै समाजवादी कार्यक्रम तर्जुमा गरेर लागू गर्ने समयको राजनीतिक नेतृत्वगर्ने जनशक्ति आजैदेखि स्पातिलो बनाउन जरुरी छ ।

यसका लागि अहिले चिनिएका जल्दा बल्दा भनिएका राजनीतिक नेतृत्वले यसको जिम्मा लिनु पर्दछ । विद्यालयस्तर देखिनै विद्यार्थी सङ्गठनहरुको निर्माण गर्ने र निरन्तर प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्न सक्नु पर्दछ । यसका अलवा अहिले युवापुस्ता प्रविधिको सङ्गतमा हुर्कि रहेको छ ।

यो नयाँ पुस्तालाई प्रविधिमैत्रि प्रशिक्षण उनीहरुकै सरलतामा उपलब्ध गराउन सक्नु पर्दछ । आस्था र निष्ठाको राजनीति आफूले गरेर अरुलाई समेत सिकाउन अबको नेताहरुले नगर्ने हो भने भावि पुस्ताले समाजवादी समाज निर्माण होइन साम्राज्यवादीहरुको दास भएर जीउनु पर्ने बाध्यता आइपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here