हजार रूपैयाँका लागि दुईजनाकाे हत्या ?

एबिसि खबर
जन्तेढुङ्गा २३ भदाै।/ जिल्ला प्रहरी कार्यालय खोटाङले हजार रूपैया पैसाका लागि दुईजना बृद्ध दाजुबहिनीको बिभत्स हत्या गरेकाे अाराेपमा जन्तेढुङ्गा गाउँपलिका ४ दुर्गा भनिने दुर्गाबहादुर राईलाई पक्राउ गरेकाे सार्वजनिक गरेको छ । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय पेलेलेका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकै ६७ वर्षीय बहिनी गोपीमायाँ श्रेष्ठलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ३३ वर्षीय दुर्गाबहादुर राईलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।
प्रारम्भिक अनुसन्धाकाक्रममा घट्नाको पाँच दिनपछि भदौ २१ गते जन्तेढुंगा गाउँपालिका–२ बोपुङबाट पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
जंगल नजिकै एकान्त ठाउँमा रहेको घरको ढोकामा बाहिरबाट साङ्लो लगाएको अवस्थामा उनीहरुको शव भदौ १९ गते घरभित्रै भेटिएको थियो । अभियुक्तले गोपीमायासँग एक हजार पैसा मागेको र नदिएको निहुमा भदौ १७ गते राती अन्दाजी १२ बजेको समयमा वृद्ध दाजुबहिनीको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताउनुभयाे ।
दिनभर ढोड काट्न र ओसार्न सघाएका दुर्गाबहादुरले एक हजार पैसा माग्दा बेलुका दिने आश्वसन पाएको तर दुई पल्ट माग्न पुग्दा पनि नपाएपछि घर फर्किएका उनले रातका समयमा वृद्ध दाजुबहिनीमाथि आक्रमण गरेको खुलेको प्रहरीले जनाएको छ । ‘अभियुक्तले गोपीमायाँसँग पैसा सापटी मागेको देखिन्छ, बेलुका दिन्छु भन्ने आश्वसन पाएपछि मादक पदार्थ सेवन गरेर मृतकको घरमा दुई पटक गएको देखिन्छ, तर पैसा नपाएपछि रातको १२ बजेको आसपासमा गएर दाजुबहिनीमाथि आक्रमण गरेको देखिन्छ,’ डिएसपी चिमरियाले भने, ‘अभियुक्तले ढोका खोल्न लगाएपछि ईन्द्रबहादुरले ढोका खोल्छ ।

ईन्द्रबहादुरको हातमा दाउरा देखेपछि अभियुक्तले इन्द्रबहादुरमाथि आक्रमण गर्छ, के गरेको भनेर दाउरा बोकेर बचाउमा लाग्दा गोपीमायाँमाथि नै प्रहार गरेको खुलेको छ ।’ अभियुक्तको साथबाट प्रहरीले १ हजार १७० रुपैयाँ नगद, खुकुरी र झोला बरामद गरेको छ । उनले गोपीमायाँको थैलीमा भएको रकम मात्र झिकेको प्रहरीले जनाएको छ ।

   अभियुक्त उपर एक साता म्याद थप गरी कर्तव्य ज्यान अन्तरगतको मुद्धा चलाएर अनुसन्धान थालिएको डिएसपी चिमरियाले बताए । जानकारी पाए लगत्तै अनुसन्धानका लागि घट्नास्थल पुगेको डिएसपी चिमरिया नेतृत्वको अनुसन्धान टोलीले सुरुदेखि नै उनलाई शंकाको घेरामा राखेको थियो । गाईबस्तु भोकले कराउन थालेपछि छिमेकीले ढोका खोलेर हेर्दा उनीहरु घरभित्रै मृत फेला परेका थिए । घटनाको बारेमा जानकारी पाएपछि शुक्रबार साँझ ईलाका प्रहरी कार्यालय चिसापानी र खोटाङबजारको टोली घट्नास्थल पुगेको थियो । मृतक जताततै धारिलो हतियारको चोट लागेको अवस्थामा भेटिइएका थिए ।

    मृतक ईन्द्र अविवाहित हुन् । बिहिनी गोपीमायाँ भने लामो समयदेखि माईती घर फर्केर सामान्य पशल गरेर बस्दै आएकी थिईन् । गोपीमायाँको पोल्टामा भएका नगद तथा अन्य सामान बाहेक अन्य लुटिएको नदेखिएको वडाध्यक्ष बिदुरमान राईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here