युवा गायक तेज राईकाे “बड्डे कथा”

टाकानटुकुन_कुरा

जन्मेर १२/१४ बर्ष हुँदासम्म यो ‘जन्मदिन’ मनाइन्छ भन्ने बारे पत्तै थिएन।तल्लोघर,वल्लोघर,पल्लोघर
कसैले नमनाएपछी मलाई मात्र थाहा हुने कुरा पनि भएन। मैले ‘जन्मदिवस’ नमनाईकन त्यसै १२/१४ साल सकाइदिएँ। ‘जन्मदिन’ नमनाए पनि म फुर्सदिलो त छदै थिइनँ। ग्याटिस(गुलेली)को काफे बनाउनै त समय पुग्दैनथ्यो। तर एउटा राम्रो र डप्किलो ग्याटिस पनि खेलाउन पाइएन किनभने ग्याटिस तयार पार्न काफे मात्रले पुग्दैनथ्यो;लाबर(रबर) पनि नभै नहुने। लाबर त्यसै नपाइने;किन्नुपर्ने;त्यो पनि सहर(बजार)मा पो!! आम्मामा!!को जानु सहर? का हो त्यो बजार भनेको?
त्यसैले एउटा गतिलो गुलेली पनि तन्काइएनँ र चरा पनि एउटै मारिएनँ। मेरा हातले बनाइएका काफेहरु बजारे लाबर नपाएर त्यसै मक्किए।सक्किए।क्यै छैन।(गुलेलिको कथा अझै थिए,तर आज यतिनै)

पछि फाट्टफुट्ट, सबै मान्छे जन्मने ‘जन्मदिन’ हुन्छ र त्यसलाई जस्ले जति सक्यो उति धुमधामसङ्ग मनाउदा रै’छ्न भन्ने पत्ता(आफै)लगाएँ।
एकदिन ‘जन्मदिन’ मनाउने मौका मिल्यो तर आफ्नो हैन अर्कै एकजना छिमेकीको।त्यसैदिन अर्को गाँठी कुरो थाहा पाएँ, ‘जन्मदिन’लाई ‘बड्डे’ भनिदो रहेछ।
“ए……!!! बड्डे……..!!!”
किन ‘बड्डे’ भनेको…?
कुन भाषा हो………?
कि कुन स्ट्याल (Style – ‘तरिका’) हो?
खै? खोजितलासी पनि गरिनँ। ‘बड्डे’ नाम सुन्दा र आफुले उच्चारण गर्दा कताकता ‘सहरिया मान्छे’को भाषा होकि भन्ने चै लागेको थियो। ‘जन्मदिन’ भन्दा ‘बड्डे’ भन्नै मज्जा पनि आयो।
जे होस,मनाइयो; ‘जन्मदिन’ भन्दा बढी ‘बड्डे’ मनाइयो।

र केहिबर्ष अघिदेखी थप कुरा जानेको छु, जन्मदिनलाई अङ्ग्रेजीमा ‘बड्डे’ भनेका रै’छन। तर फेरि ‘बड्डे’ पनि हैन रैछ, ‘बर्थडेइ’ पो रैछ। ब्रीटिस अङ्ग्रेजीअनुसार ‘बथडेइ’ पनि भनिने रैछ।(दुबैखाले अङ्ग्रेजीको प्रभाव अहिले बिश्वमा उस्तै छ।)
खैर, ‘बड्डे’ होस या ‘बर्थडेइ’, मेरा लागी मेरो ‘बड्डे’ भन्दा तपाइँहरुको शुभेच्छा महत्त्वपूर्ण हो। शुभेच्छा त तपाईहरु बाट सबै दिन पाइरहेको छु। यद्यपि,मेरो ‘बड्डे’को अवसरमा ‘म पनि जन्मिएको छु है!’ भनी अनुभुती दिलाउनुहुने सम्पुर्ण आदरणीयजन,मित्रजन र प्रियजनप्रती धन्यवाद ब्यक्त गर्दछु।
म पनि जन्मिएको छु; जन्मनुको केहि न केहि त अर्थ/कारण अवश्य छ।अर्थात केहि कामहरु मेरा भागमा पनि परेका छन।ति सबै काम फत्ते पारेर म ‘जन्मनुको कारण’ प्रष्ट पार्नु छ।यसका लागी नै तपाइइहरुको शुभेच्छा आवश्यक हो।
नजानेरै,कति आदरणीयजनसामुन्ने गलत/रुष्ट व्यबहार देखिन गयो होला। भन्न मन छ, “गल्ती गरिहालेँ। अब म कसरी सच्याउँ?”
नजानेरै,कति मित्रजन रिसाएका होलान।
अङ्कमाल गरेर भन्न मन छ, “यस्तै भैगो यार!”
अन्तिम वाक्यमा,फेरि एकपटक सबैलाई धन्यवाद भन्दै सधै माया,घृणा र सल्लाहको आश गरिरहने कुरा अनुरोध गर्दछु।
(जम्मै पढिसक्नेहरुको लागी थप एक थान धन्यवादको ब्यबस्था छ।)
– ‘बड्डे ब्वाई’ २०७७ साल। :– तेज राईकाे फेेेसबुक वालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here