माझकिरातमा जन्मेको तामाङको छोरा हुँ : पूर्व उपप्रधानपञ्च

Jit Bahadur Tamang

काम विशेषले खोटाङ जिल्लामा रहेको त्रिधार्मिक स्थल हलेसी गएर फर्कदै गर्दा बाटोमा भेटियो जीतबहादुर तामाङ दाईलाई । पञ्चायती व्यवस्थामा तत्कालिन नुनथला गाउँ पञ्चायतका उपप्रधानपञ्च समेत बनेका जीतबहादुर दाई अहिलेपनि युवा जोशमै हुनुहुन्छ । उहाँसँग भेट्ने अवसर भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न. १३ का वडाध्याक्ष आत्मिय भाई भिम राईले गराएका हुन् ।

हलेसीबाट ठुली बहिनी तारा (हलेसी क्याम्पसमा पढाउँछिन) ले मोटर साईकलमा राखेर मलाई त्याँहासम्म ल्याएकी थिईन । नुनथला चौकी नजिक आएपछि दाजै चिया खाउँ है भन्दै मोटर साईकल रोकेपछि चियाको अर्डर गर्दै मैले नै वडाध्याक्ष ज्युलाई नुनथला भएको खबर गरेको थिएँ । उनले फोनमै मलाई तँपाई चिया खाने खालको मानिस त होइन भनेर ठोकेका थिए । त्यहि भएर तातो चिया हतार सकाएर वडाध्याक्ष भएको ठाउँमा हामी चेलिमाईती हाँकिएका थियौँ ।

पहिले पनि जीतबहादुर दाईसँग नभेटेको त होइन । अन्तरंग गफहरुपनि चलेकै हुन । तर यसपटक भने जीतबहादुर दाईले निकै गुनासो पोख्नु भयो । हामीले नुनथलामा पाईने लाङसाको सिकुटी र केही झोलिलो कुरा खायौँ । दाईले भने चिसो डिउ मात्र खानुहुँदो रहेछ । खाँदै जाँदा दाईले आफ्ना केही विगत बताउनु भयो । पञ्चायतकालिन राजनीतिमा उपप्रधानपञ्च समेत बन्नु भएको जीतदाई पछिल्लो समयमा तत्कालिन नेकपा माओवादीको नुनथला पार्टी सेक्रेटरी हुनुहुन्थ्यो । नेकपा माओवादी केन्द्र बनेपछि पनि पार्टी सचिव बनेका उनले संघीयताको विषयमा बताउँदै जाँदा झण्डै हामी जिल्लाराम भएको थियौँ ।

उहाँले प्रसंग उठाउनु भयो । ‘म माझकिरातमा जन्मिएको तामाङको छोरा हुँ मलाई किरात प्रदेश चाहियो ।’ उहाँले यसो भनिरहँदा मलाई भने औधि खुशी लाग्यो आखिर हामीपनि त यही चाहिरहेका छौँ । तर किन शाषकहरुले चाहेका छैनन् । उहाँले भन्दै जानु भयो । ‘ हामी हुर्केको समाज किराती समाज हो । पहिले पूर्वबाट पल्लो किरात, माझकिरात र वल्लो किरात भनेर चिनिएको ठाउँमा अहिले अरुले अरुनै नाम राखेर बिगारेको उहाँको तर्क थियो । उहाँले आफुलाई किरात प्रदेश भन्नुलाई कुनै असहज नभएको बताउँदै यहाँका अन्य जातीय समुदायले जिब्रो चबाएको देख्दा नमज्जा लाग्ने गरेको सुनाउनु भयो ।

पञ्चायतकालिन जनप्रतिनिधी हुँदै बहुदलको प्राप्तीसँगै कम्युनिष्ट हुनुभएका उहाँले आफ्नो आधा उमेर समाज र जनताको पक्षमा दिएकोमा कुनै गुनासो नरहेको भएपनि किरात प्रदेश आउन नसकेमा सबैभन्दा ठुलो गुनासा रहने बताउनु भयो । खानपान सँगै अन्य बहसहरु भए । बहुदलिय व्यवस्थासँगै जन्मिएका राजनीतिक दल र त्यो भन्दा अगाडि देखि राजनीतिक वृत्तमा उभिएका राजनीतिक दलहरुले गरेको कामको जस र गर्न नसकेको कामको अपजसका कुराहरु भए । तर जस्ले जे भनेपनि आफुले नुनथलामा नाङलोमा पसल थापेर भएपनि खान जानेको भन्दै अहिलेका राजनीतिक नेता कार्यकताहरुको भने उछितो काड्ने गरी रिसाए । उनले भने ‘यहाँ विचार र सिद्धान्त बोकेर बनेका नेता भन्दा बढी नेताको झोला बोकेर भएका नेताहरुको बोलवाला छ । के गर्नु र ? सानो सानो कुरामा गुटको खेतीगर्न झुटको राजनीति गर्छन ।’

यसो भन्दै गर्दा मलाई साँच्चै लाग्यो के अहिले यस्तै भईरहेको हो त ? नत्र जीतबहादुर दाईहरु जस्तैले भनेको समाज कहिले सम्म चल्ने हो । दाईले भने जस्तै ‘म माझ किरातमा जन्मेको तामाङको छोरा हुँ । मलाई किरात प्रदेश चाहिन्छ ।’ भन्नु अरु प्रगतीशिल विचार राख्ने हुँ भन्नेहरुले कहिले आँट गर्लान । म माझकिरातमा जन्मेको बाहुन हुँ मलाई – भिम राई (माक्पाली कान्छा)चाहिन्छ भन्ने बाहुनहरु माझकिरात कति जति होलान ? यहि सम्झदै गर्दा रात पर्न लागेको संकेत बहिनिले दिईन । हामी विदा भएर लाग्यौँ गन्तव्य तिर बहिनि हलेसी नै फर्किइन । म भने लागे दिक्तेल तिर ।

– भिम राई (माक्पाली कान्छा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here