खाेटाङमा ल्याईयाे बाँदर खेद्ने मेसिन


एबिसि खबर

साउन ४, खाेटाङ। खोटाङको सदरमुकाम स्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा बाँदर खेद्ने मेसिन ल्याईएकाे छ। बाँदरले स्थानीय किसानले लगाएकाे वाली सखाप पार्न थालेपछि सोल्मा कृषि सहकारीले युपिभिसी पाइपबाट निर्माण गरिएको उपकरण जिल्ला भित्र्याएकाे हाे।
कारबाइड र पानीको मिश्रण राखेर पछाडिबाट लाइटरको सहायताले आगो लगाएर पडकाईने मेसिनले बाँदरलाई धपाउन सहयाेग पुग्ने छ। ठूलो आवाजमा पड्किदा बाँदर तर्सेर भाग्ने गर्दछ । स्याङ्जाका भुपेन्द्र कोईरालाले बाँदर अातंकबाट बच्न साे उपकरणकाे आविष्कार गरेका थिए। सोल्मा कृषि सहकारी संस्थाले महाविर पुनःकाे राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंबाट प्रतिगोटा २५ सयका दरले १० वटा उपकरण खरिद गरेर ल्याएर किसानलाई निशुल्क वितरण सहकारीका सचिव गंगा बहादुर बिकले जानकारी दिएका छन् । बाँदर भगाउनका लागी शनिबार हर्कपुरको फेदिमा युपिभिसी पाइपबाट निर्माण भएको उपकरण दुई पटक प्रयोग गरिएको थियो ।
बाँदरले आतङ्क मच्चाएपछि धेरै जसो खेतीयोग्य जमिन बाँझै हुनुकासाथै घरमा राखिएको मकै तथा अन्य बालिहरु लग्ने समस्यालाई न्यूनीकरण गर्नका लागि उपकरण वितरण गरिएको सचिव बिकले बताए । ‘खोटाङका बिभिन्न स्थानका किसानका लागि बाँदर साझा समस्या हो,’ उनले भने, ‘यसको प्रयोगका लागि जिल्ला प्रशासन कार्यालय खोटाङ र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएको छ ।’ सो प्रविधि सरल र सस्तो रहेको सहकारीले दावी गरेको छ ।
सोल्माको विभिन्न गाउँमा धेरै बाँदरले सताउने किसानलाई वडामार्फत प्राथमिकताका आधारमा निःशुल्क वितरण गरिएको हो । वडाका विभिन्न गाउँका किसानलाई यन्त्रको सुरक्षित प्रयोग गर्ने तरिका सिकाउँदै बितरण गरिएको बिकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here