बचकना बुद्धीले न नेता ? न कार्यकर्ता ?

भिम राई
देशको पछिल्लो राजनीतिक घटनाक्रमहरुले मुलुकका ठुला भनिएका राजनीतिक दलभित्रनै बच्कना राजनीतिज्ञहरुको बोलवाला भएजस्तो देखिन थालेको छ । नेपाली राजनीतिको मियो बनेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को शिर्ष मानिएका नेताहरुको आपसी विवादले मुलुक अत्यन्त अन्यौलको अवस्थामा पुगेको छ । जनताको तर्फबाट अभिमत लिएर सत्ताको बागडोर सम्माहाल्न पुगेका नेताहरुको जुँगाको लडाईले यतिबेला साँच्चै बुझेर राजनीतिमा होमिएका इमान्दार कार्यकर्ताको मन भाँचिएको छ । उनिहरुले आफ्ना नेताहरुको यो कार्यशैलिलाई पटक्कै मन पराएका छैनन् । उनिहरुको एउटै चिन्ता भनेको नेपाली जनाताको घरघरमा गएर पार्टीको लाईनमा मागेको मतको सुरक्षा कसरी गर्ने भन्ने हो । यो अवस्थामा नेताहरुको लाईन नमिलेको देख्दा तिख्तताहरु जन्मन थालेका छन् । कार्यकर्ताहरुलाई उर्जा दिएर पार्टीको राजनैतिक तथा वैचारिक लाईनलाई मजबुद बनाउने बेला अन्यौलताको सिर्जना गरेर निराशा जन्माईएको छ । द्धन्द्धवादको नियमलाई मान्नेहरु एकले अर्कालाई सिध्याउने खेलमा सहभागी हुन थालेका छन् । एउटा कम्युनिष्ट कार्यकर्तालाई सबैभन्दा ठुलो कुरा आफ्ना वर्ग दुश्मनलाई चिन्नु हो । तर यहाँ आफ्नै नेता वा आफ्नै सहयात्रीलाई वर्ग दुस्मनको व्यवहार देखिन थालेका छन् के यो सुहाउने विषय हो र ?

केही समय अगाडिबाट सत्तारुढ दलको स्थायी समितिको बैठक शुरु भयो स कम्युनिष्ट पार्टीको बैठकहरुमा मर्यादित ढँगले पार्टीको विधि विधानमा टेकेर छलफल तथा बहसहरु हुन्छन् । स्वस्थ आलोचना र आत्मआलोचनाहरु हुने गर्दछन् । यो क्रम स्थायी समितिको बैठकमापनि हुने कुरामा दुईमत रहेन । तर यसबाट कोही भाग्ने र कोही खेद्ने जस्ता कच्चाखेलहरु देखा पर्न थाल्यो । यसले पार्टीको आन्तरिक जीवनमा दुखद क्षणहरुको परिकल्पना गर्नुपर्ने बाध्यताहरु पनि आएका छन् । राजनीतिक जीवनलाई आत्मसाथ गर्नेहरुसँग स्वाभाविक रुपमा समर्थन र विरोध हुन्छ । द्धन्द्धवादको नियम मान्नेहरुले यो अझै राम्रैगरी लिएकापनि हुन्छन् । तर यसपटक त्यस्तो किसिमको बुझाई देखिएको छैन । अहिले आधाबाटोमा गएर स्थायी समितिको बैठक रोकिएको छ । पुराबाटो हिँडाउन शिर्ष भनिएका नेताहरुलाई निकै हम्मे परेको भान भईनै रहेको छ । यो कुनै एकादेशको घटनाहो भनेर कसरी भनुँ हाम्रै देशको परिवेश हो । यसबेला स्वाभावैले सत्तासिन दलभित्र दुईलाईनको संघर्ष चलिरहेको छ । यो जीवित पार्टीमा हुन्छ । तर परिणाम त जे आएपनि स्विकार गरेर जानुपर्ने कम्युनिष्ट पार्टीको जुन चरित्र छ । यसबेला धान्न गारो देखिएको छ । यो सब किन भईरहेको बेला आम वैचारिक कार्यकर्ताहरुको सोचाईको विषय बनिरहेको छ ।

प्रसँगवस चिया गफमा एकजना पुरानो मित्रले आफ्नो मित्रलाई हिजोमात्र फोनमा भनिरहेका थिए । ‘खै सर एउटै पार्टी भित्र दुईवटा अध्यक्ष छन् । एउटा अध्यक्षले अर्का अध्यक्षलाई भेटेर गरेको सल्लाहा समेत समाचार बन्ने युगको कम्युनिष्ट पार्टीको कार्यकर्ता भईएको छ ।’ यो वास्तविक पिडा हो । पार्टी एउटै विचार एउटै पार्टीको मार्गनिर्देशक सिद्धान्त ‘माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा’ पार्टीको कार्यक्रम महाधिवेशन सम्मका लागि जनताको जनवाद अख्तियार गरिसकेपछि यसमा कुनै विवाद रहेन । यो राजनैतिक वैचारिक लाईनबाट पार्टी कार्यकताहरुलाई प्रशिक्षित गर्नुपर्ने बेला जुँगाको लडाई हुनुले नेपाली समाजको रुपान्तरणका लागि लडेका नेताहरुको हविगत हेर्न लायक नै हो त ? प्रश्नै प्रश्न छन् कार्यकर्ताहरु सँग ।
देशको भाग्य र भविष्यको मुलढोका खोल्ने राजनीतिज्ञहरु नै आन्तरिक विवादको दलदलमा फसेर एकले अर्कालाई हिलो छ्याप्ने प्रतिपर्धमा उत्रिएपछि परिणाम के हुने त । के अब राजनीतिक दलको रुपमा दुईतिहाईको नजिक पुगेको दललाई उन्माद नै चढेको हो त । यसमा कोही नेता सफल होलान कोही असफल हुने हुन की भन्ने खतराको विकास भईरहेको छ । यसले लोकतान्त्रिक भनिएको पद्धतीप्रति अविस्वासको सिर्जना हुन सक्ने खतरा छ । राजनीतिककर्मीहरुको बचकनापनले अहिले अहिलेको व्यवस्थाप्रति नै नकरात्मक धारणाको विकास हुन थालेको छ ।

उपल्लो तहमा पुगेका राजनीतिककर्मीहरुको व्यवहारिक तथा साँस्कृतिक कुराहरुका कारण अहिले देशमा प्राप्त उपलब्धीहरुको कुनै हालतमा संरक्षण हुन सक्दैन । राजनीतिक ज्ञान सिपहरुको कुरा एउटा रहयो । दोस्रो दर्शन, सिद्धान्त, विचारहरुका कुरा छन् । यी सबै बुझेर जानेर मात्र मुलुकले आशा गरेको जस्तो राजनीतिक कर्मीहरुको जन्म नहुने रहेछ भन्ने कुरा पछिल्लो घटनाक्रमहरुले देखाएका छन् । घटना बाहिर आएपछि अरु धेरै घटनाहरु पर्दाफास हुने अवस्था देखिन्छ ।
यही नेपाल भन्ने देश हो जहाँ राणाहरुले आफुलाई १०४ वर्ष शासन सत्ताको केन्द्रमा राखेर नेपाली जनतालाई कज्याएर राखेका थिए । शाषक हुने गुणमा उनिहरु अब्बल थिए होलान् । तर पछिल्लो समयले उनिहरुको उपस्थिती अस्विकार ग¥यो । नेपाली जनताको चेतना स्तर उठेपछि तत्कालिन समयमा नागरिकहरुले आफुले आफुलाई चिनेपछि परिणाम उनिहरुले पत्तासाफ हुनु प¥यो । यसपछि उदाएको पञ्चायती व्यवस्था तीन पुस्तापनि रहन नपाएको इतिहाँस हाम्रै देशको होइन र ? राजा महेन्द्रले शुरु गरेको शासन व्यवस्था उनकै छोराको पालमा कायापलट भएको यार्थात छर्लङ छ । विरेन्द्रको पालमा भएको २०४६ को जनआन्दोलनमा शासन सत्ता सेयरिङ गर्न राजालाई मन भएर गरेका हुन र ? नेपाली जनताको उत्कट इच्छा शक्ति कै कारण हो नी व्यवस्था फेरिएको ।

यसै यसै धान्दै गरेको संवैधानि राजतन्त्रले अर्को पुस्ता सर्न नपाएको कथा कसलाई थाहा छैन ? यदि मुलुकमा शसस्त्र आन्दोलन नभएको भए । राजा विरेन्द वंशनास नभएको अवस्थामा के मुलुकमा अहिले अवस्था यति चाँडै प्राप्त हुने कल्पना गर्न सकिन्थ्यो । तत्कालिन समयमा बृहत शान्ति सम्झौता राजतन्त्रको अन्त्य गर्ने निर्णय, गणतन्त्रको स्थापना यी सबैकुरामा पोख्त राजनैतिक नेताहरु अहिले किन दृष्टिभ्रम र दृष्टिदोष पालेर बसिरहेका छन् । प्रश्न इमान्दार कार्यकर्ताको मनमा रहेको छ ।

मुलुकमा गणतन्त्र स्थापनाकालागि पौँठेजोरी खेल्दै आएका राजनीतिक दलहरु तत्कालिन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीका नेता कार्यकर्ताहरुसँग सपनाम के थियो । त्यस पछि विकास भएका घटनाक्रमले नेताहरुलाई कता बाट कता पु¥यायो । पछिल्लो जनादेश लिने बेलासम्म आईपुग्दा सारा नेपाली जनताको घर दैलोमा पुगेर भाकेको कुराहरुले अहिले पोल्छ की पोल्दैन होला ? अहिले जे खेलहरु भईरहेको छ यसका लागि त के गणतन्त्र नै चाहिन्थ्यो र ? आम इमान्दार कार्यकर्ताहरु अहिले शिर ठाडो बनाएर जनताको बीचमा जाने वातावरण छैन । शिर ठाडो बनाएर जनताको विचमा जान सकिने गरी अब गाँठो पुकाउनु पर्दछ । बच्कना बुद्धीले न नेताको हित गर्छ न कार्यकर्ताको हित गर्छ न नेपाली कम्युनिष्ट आन्दोलनको नै हित गर्छ । यसैले नेतृत्वले सच्चिनु आजको सच्चाई हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here