जिल्लामै पहिलो पटक ड्रागन फ्रुटको खेती

एविसि खबर

असार २८, खोटाङ । खोटाङमा चार युवा मिलेर जिल्लामै पहिलो पटक ड्रागन फ्रुटको खेती सुरु गरेका छन् । पारुहाङ ड्रागन फर्म दर्ता गरेर साकेला गाउँपालिका–२ रतन्छामा उक्त फलको खेति सुरु गरिएको हो ।
स्थानीय युवा कृषक पर्वत राई, सन्तराज राई, मिसन राई र चन्द्रकला राईले सामुहिकरुपमा ड्रागन फ्रुटको खेती थालेको बताएका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा साकेला गाउँपालिकाले दिएको अनुदान आठ लाख र ड्रागन फर्म सञ्चालकको तर्फबाट प्रति व्यक्ति १ लाख गरी चार लाख जम्मा गरेर १२ लाखको लगानीमा ड्रागनको खेती सुरु गरिएको संचालक पर्वत राईले जानकारी दिए । पहिलो चरणमा झापाबाट तीन हजार विरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती लगाइएको राईले सुनाए ।
गाउँपालिका भित्र ड्रागन फ्रुटको सम्भाव्यता अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिइएको छ । पालिका स्तरिय नमूना कृषि फर्म स्थापना तथा सिँचाई केन्द्र शिर्षकमा बिनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती सुरु गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले जानकारी दिएका छन् । फर्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउनका लागि रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन् । उनीहरुले आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here