मात्तिन र पात्तिनका लागि दुईतिहाई मत चाहिएकाे हाे र ?

भीम राई
राजनीति भनेको मूलुुक चलाउन निर्माण गरिने सबैखाले नीतिहरुलाई मार्ग निर्देश गर्ने मूलनीति हो । राजनीति भन्नु विचार र सिद्धान्तको आधारमा निर्माण हुन्छ । राज्य सञ्चालनका लागि अख्तियार गरिने सबै खाले नीतिहरु जस्तै कृषि नीति, स्वास्थ्य नीति, शिक्षा नीति, आर्थिक नीति, सुरक्षा नीति, परराष्ट्र नीति जस्ता थुप्रै नीतिहरु निर्माण गर्नकालागि लिइने मुख्य विचार तथा सिद्धान्तनै राजनीति हो ।

नेपालमा यी र यस्तै नीतिहरु निर्माण गर्ने हेतुले विभिन्न किसिमका राजनीतिक विचार तथा सिद्धान्त बोकेका राजनीतिक पार्टीहरुले आफ्नो सङ्गठनहरु निर्माण गरेका छन् । मुलुतः नेपालभित्र रहेका राजनीतिक दल र उनीहरुले लिएको राजनीतिक सिद्धान्तको आधारहरु हेर्ने हो भने बामपन्थी राजनीतिक लाइनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायतका अन्य कम्युनिष्ट पार्टीहरु, प्रजातान्त्रिक समाजवादको राजनीतिक लाइनमा नेपाली काँग्रेस, जातीय पहिचान सहितको समाजवादको लाइनमा समाजवादी पार्टी, यथास्थितमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जस्ता थुप्रै दलहरु छरपष्ट रहेका छन् ।

सबै राजनीतिक दलहरुको आफूले निर्वाचन जितेर गएमा राज्य सञ्चालनको आफ्नै खाकाहरु रहेका छन् । जसलाई राजनीतिको मूलधारमा मिसाएर उनीहरुले शासन सत्ता सञ्चालन गर्नेछन् । तर नेपालको राजनीतिलाई नजिकबाट हेर्नेहो भने दशक यताको राजनीतिक वातावारणमा अस्थिरताहरु देखिएका छन् ।

वि.सं. २०५२ सालबाट सशस्त्र आन्दोलन गर्दै जनयुद्धको जगबाट नेपाली राजनीतिमा उदाएको शक्ति होस, या २०४७ ÷०४८ देखि नेपाली जनताको नाममा माक्र्सवाद लेनिनवादको नामबाट राजनीतिक आकाशमा उभिएको राजनीतिक शक्ति होस, वा २००७ साल देखि नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादको हुङ्कार दिने राजनीतिक शक्तिनै किन नहोस यी शक्तिहरुमा राजनीतिक विचार र आस्थाको आधारमा अगाडि बढेको पाइएको छैन । यो पर कै कुरा हो पछिल्लो राजनीतिक परिवर्तनपछि उदाएका समाजवादी पार्टी नेपाल भनिनेहरु समेत विचार र सिद्धान्तको आधारमा चलेको पाइदैन ।

अहिले चलिरहेको राजनीतिक पार्टी र यसका नेता कार्यकर्ताहरु हेर्दा नेपाल भन्ने बजारमा राजनीतिक दल नामको दोकान थापेर बसेका जस्ता मात्र देखिएको छ । पार्टीका नीति विचार र सिद्धान्तको छलफल समेत हुन छाडेपछि आमकार्यकर्ताहरु भने नीतिको पछाडी भन्दापनि नेताको पछि मरिहत्ते गरिरहेका छन् । पार्टीमा विचार सिद्धान्तको लडाई नभएका र पदको उच्चतम लडाइँमा आफूलाई कित्ताकाट गर्न कार्यकर्ताहरु सामाजिक सञ्जालमा आफ्नै नेताको हुर्मत लिन तँछाड मछाड गर्नु विचार विहिन हुलको निर्माण हुँदै जानु हो ।

चाहे त्यो सत्तासिन नेकपाको कार्यकर्ता होस या नेपाली काँग्रेस पार्टीको विचार सिद्धान्तको पछि लाग्ने कार्यकर्ताहोस व्यक्तिपछि लाग्नेहरुको हुल बढेको बढ्यै छ । उसो त पछिल्लो समयमा राजनीतिक अध्ययन र चिन्तनहरु अधययनका आधारमा हुन छाडेको छ । एउटा टेििभजन प्रस्तोता रवि लामिछानेको पक्षमा जनसागर उर्लाउने बुझाइ भएका कार्यकताहरुले आफ्नो नेताको पक्षमा केहि न केहि नगर्लान भन्ने आशा त नराखौँ तर सामाजिक सञ्जालहरुमा जुन हर्कत देखिएको छ । त्यो अशोभनिय हुन थालेको छ ।

पछिल्लो करीब दुई तिहाईको नजिक पुगेको राजनीतिक दलभित्र देखिएको टाउके नेताहरुको विवादको विषयमा जताततै कोको होलो मच्याउने कामहरु हुन थालेका छन् । यो कुनै वैचारिक विवाद नभएर गुटगत स्वार्थमा आधारिक विवाद हो भन्ने बुझ्दा ब्झ्दै विचार र सिद्धान्तमा आधारित भनिएका उनका कार्यकर्ताहरु भने ‘जय श्रीराम’ गर्न थालेका छन् । कुनै सैद्धान्तिक आधार विहिन अवस्थामा शुरु भएको छलफल र बहसले निम्त्याउने परिणाम स्वयम्ले कति बुझेका होलान हेर्न बाँकी छ । तर यी हर्कतहरु हेर्दा यो लामो दुरीको यात्रामा जान सकिने कदम भने होईन ।

अहिले बुझेका, पढेका कार्यकर्ताहरु र जय श्रीराम गर्ने कार्यकर्ताहरुको प्रत्यक्ष अनुहार चिनिन थालेको छ । सिङ्गो नेकपा विभाजनको विपक्षमा रातदिन चिन्ता गर्ने कार्यकर्ताहरुपनि नभएका होइन । आफ्ना नेतृत्वलाई दबाब दिन उनीहरुले खबरदारी गरिरहेका छन् । पार्टीलाई कुनैपनि हालतमा विभाजनको दिशामा जान नदिन उनीहरु क्रियाशिल भईरहेका पनि छन् ।

बिबादको खास चुरो कुरा के हो भन्ने कुरा सतहमा आइसकेको छ । केहि थान नेताको स्वार्थका कारण विकसित परिवेशका बारेमा सबैलाई ज्ञात छ । अहिले सत्तारुढ पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री र अर्का कार्यकारी अध्यक्ष तथा वरिष्ठ नेताहरुको बीचमा नमिलेको शक्ति सन्तुलनका कारण उब्जिएको परिवेशलाई केहि जय श्रीरामहरुले सडक उछाल्ने काम गरिरहेको देखिन्छ । यो राजनीतिक चरित्र देखिदैन ।

अझै कम्युनिष्ट पार्टीमा कोही पनि व्यक्तिको दे्वत्वकरण हुनु हुँदैन भन्ने सामन्य कुरा समेत भुलेर सडकमा उफ्रनुको कुनै तुक छ र ? सडकमा देखिने यो प्रवृत्तिले पार्टी एकतालाई मजबुद बनाउँछ की कमजोर । नेकपा भन्ने पार्टी भित्र केहि न केहि कमजोरी छ भन्ने कुरा जगतलाई थाहा भइसक्यो त अब । यसभित्र पदविभाजन तथा शक्ति सन्तुलन व्यवहारिक हिसाबले नमिलेका नै हुन भन्ने पनि देखिसकियो ।

मिलाउनु पर्ने विषयहरु थुप्रै रहेछन भन्ने कुरा स्थायी कमिटिको चालु बैठकमा उठेका कुराहरुले प्रमाणित नै गरिसेको छ । यस्तो बेला पार्टी एकता चाहाने तथा नेकपा भन्ने पार्टीप्रति विस्वास गर्ने साँच्चै कार्यकर्ताले पार्टी जोगाउन संयमित हुनु आवश्यक छ । पार्टीका शिर्ष नेताहरुलाई जो जाहा विवादका विषय रहेका छन् । त्यहिँबाट छलफलको विषय उठाएर समाधान गर्न सुझाउन जरुरी छ ।

किन भने यहाँ व्यक्ति पछि पर्नु ठूलो कुरा रहेन तर कम्युनिष्ट पार्टीलाई बिश्वास गर्ने आम नागरिक भने कहिल्यै पछि पर्नु हुन्न । यो मूलुकमा करीब दुईतिहाई मत भनेको इतिहासमा कहिलेकाँही मात्र प्राप्त हुने गर्दछ यसबाट मात्तिने र पात्तिने गरेमा इतिहास निर्मम पनि बन्न सक्छ । हनुमानहरुको सदबुद्धि आवोस शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here