सामाजिक अभियान्ता ईमान राई सम्मानित


एविस खबर
असार२०, खाेटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका सामाजिक अभियान्ता इमान राईलाई नारायणप्रसाद जोशी सामाजिक विकास पुरस्कार प्रदान गरिएको छ । जिल्लामा सामाजिक संघसंस्था सञ्चालन सुरु गरेर सामाजिक अभियान्ताकारुपमा जीवन बिताएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका नारायणप्रसाद जोशीको स्मृतिमा स्थापना गरिएको ३० हजार राशीको पुरस्कार राईलाई प्रदान गरिएको हो ।

विभिन्न संघ–संस्थासँगको सहकार्यमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थापना गरेको पुरस्कार शनिबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले दोसल्ला ओढाएर सामाजिक अभियान्ता राईलाई हस्तान्तरण गरेका छन् । विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिया रहेर समाजमा सकरात्मक परिवर्तनका लागि पु¥याएको योगदानको कदर स्वरुप राईलाई नारायणप्रसाद जोशी सामाजिक विकास पुरस्कार प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । पुरस्कृत राई जनसेवा समाज नेपाल जालपामा आवद्ध रहेर सामाजिक सेवाका क्षेत्रमा क्रियासिल छन् ।
पुरस्कृत ईमान राईले नगरपालिकाले पुरस्कृत गरेर समाज सेवा गर्न थप प्रोत्साहित गरेको बताउनुभयो । स्वर्गिय नारायण प्रसाद जोशीसँग लामो सयम सँगै काम गरेको अनुभव सुनाउदै सामाजिक अभियानमा जोशीको योगदान अमुल्य रहेको राईले स्मरण गर्नुभयो । ईमान राईले सामाजिक अभियान सँगै सामाजिक सचेतना जगाउने गितहरु समेत रचना गरेका छन्। राईले लेख्नुभएको ‘के गर्दैछौ किसान दाई बेला विति सक्यो’ ……….. बोलको गित निक्कै लोकप्रिय छ ।
सामाजिक सेवाका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै जोशीको बार्षिक पुण्य तिथीको अवशरमा गत वर्ष ५० हजार राशीको सामाजिक पुरस्कार स्थापना गर्ने घोषणा गरिएको थियो । २००४ साल पुस २४ गते जन्मिएका जोशीको ७० वर्षको उमेरमा २०७४ साल असार २१ गते निधन हुनुभएको थियो । निजामती कर्मचारी संगठन खोटाङको संस्थापक अध्यक्ष रहेका जोशी हिमाली क्लवका अध्यक्षकारुपमा कार्यरत थिए ।
जिल्ला प्रशासन कार्यालयमा नासुकारुपमा कार्यरत रहेको अवस्थामा जोशी २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागीरबाट हटाइएका थिए । जोशी २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेकाबेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका मनोज जोशीको पीता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here