सकरात्मक पनि हुन सिक्ने की ?

–भीम राई
गर्दा हुने विकास र नबुझ्दा हुने विरोधकाबीच दिक्तेल बजारले काँचुली फेर्दै गएको छ । विकास हुनुका लागि केहि समय सानातिना बिनासहरु हुने गर्दछन् । केहि समय स्थानीयलाई गारो अफ्ठयारो असजिलो पनि पर्न जान्छ । यो कुनै अनौठो कुरा रहेन । तर, हाम्रो समाज र सँस्कृति कतातिर जाँदैछ भन्ने कुरा भने यसपटक निकै राम्रै देखिएको छ ।

दिक्तेल बजारको त्रिवेणीचोकदेखि भवनगैरा, दिक्तेल बजारकै सङ्गमपार्कदेखि रत्नपार्क बजार क्षेत्रको सडक स्तरउन्नतिको कुरालाई हेर्दा हाम्रो असली अनुहारहरु देखिन थालेका छन् । दिगो विकास गर्दा केहि व्यक्तिगत तथा सामुहिक अफ्ठ्याराहरु समेत आउँछन् । व्यक्ति वा समूहलाई झिना मसिना समस्याहरु पर्नपनि सक्दछ । तर, समग्र समाजको विकासको अगाडि यी र यस्ता किसिमका क्षतिले कुनै असर गर्दैन ।

मानिस स्वभावैले स्वार्थरहित हुँदैन । तर, सामाजिक स्वार्थको स्थानमा व्यक्तिगत स्वार्थ गौण हुनु आवश्यक छ । यसमा सबैको ध्यान मुल विषयमा केन्द्रित हुनुपर्दछ । जतिकै स्वार्थ पालेर बसेका व्यक्ति भएपनि उ समाज भन्दामाथिको अब्बल हुदै होइन । हामी जे देख्छौँ देखेको कुरालाई हेर्ने हाम्रो दृष्टिकोण सकरात्मक कि नकरात्मक भन्ने कुरामा धेरै कुरा निर्भर हुन्छ । त्यस कार्यले समाजलाई पुग्ने असर र फाइदाको कुरा बाहेक त्योसँग जोडिएका विविध पक्षको अध्ययन गरेपश्चात आफ्नो धारणा वा दुष्टिकोण बनाउन सक्नु नै मानव जीवनको उच्चतम अभ्यास हो ।

प्रशंग हो दिक्तेल बजारभित्र र आसपासको सडक ढलानको । निकै लामो समयको प्रतिक्षापछि दिक्तेल बजारबीचमा सडकको ढलान कार्य भइरहेको वर्षायाममा सडकको ढलान कार्यभइरहँदा सर्वसाधरणलाई केहि शास्ती भएको छ । यो सहन सकिने शास्ती नै हो । हामीले करीब दुई तीन महिनाको शास्तीपछि आफ्नो आगनमा चिल्लो सडक पाउने छौँ । पछि राम्रो हुन्छ भने अहिलेको शास्ती भोगाइलाई धारेहात लगाउनुको के अर्थ रहन्छ र ?

तर, हामीसँग यस्तो चेतना पनि छ । जो सडकलाई चौडा बनाउँछु भन्दा आफ्नो घरको पेटीको मायाँ गर्छौँ र भन्छौँ यो मेरो घरको पेटी हो भत्काउन पाइदैन । सडक ढलान गर्नका लागि माटो लेभल मिलाउँदा बाटो हिलो बनायाँै तुरुन्त सफा गरिदेउ । काम गर्ने मजदुरले काम गर्दा हल्ला हुन्छ । हल्ला नगरी काम गरिदेउ, सडक ढलानका लागि चलाएको स्काभेटरले थर्काएर घर भत्किने भो नचलाउनु, ट्याक्टर हिँडाएर बनाएको खाल्डो पुरीदेउ जस्ता हाम्रो चिन्तनले कसरी बढ्छ हाम्रो समाज कसरी हुन्छ विकास ?

विकास निर्माणको कामहरु गर्दा सबै शतप्रतिशत राम्रै भाको छ भन्ने छैन । केहि तलमाथि पनि भएका होलान् । केहि ढिलासुस्ती पनि नभएको भन्न मिल्दैन । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको कमी कमजोरी छँदै छैन भन्ने पनि होइन । यद्यपि, विकास निर्माणको काम शुरु भइसकेको अवस्थामा त्यसको गुणस्तरीयताको बारेमा हाम्रो चासो जानु पर्ने हो । तर, त्यतातिर हाम्रो चासो नै छैन ।

हाम्रो चासो कामको गुणस्तर हेर्ने भन्दा फलानाले कति पैसा खाएर यो काम गर्दैछ भन्ने तिर जान थालेको छ । के यो मात्र चिन्तन र दृष्टिकोणले विकास संभव छ र ? समाज रुपान्तरणका लागि गर्नुपर्ने कामहरु गर्दा कहिँ कतै खिसि ट्युरीको भाषा प्रयोग गर्नु पर्छ र ? अहिलेको प्रश्न हो यो ।

अर्को अहिले जिल्लामा प्रशंग रहेको छ । असारको पन्ध्रमा सडकमा धान रोपाइँको विषय ट्रोल भइरहेको छ । हाम्रा सञ्चार माध्यामहरुले कँहि नभएको विषय भेटेकाले समाचार नै बनाए । यो त अलिक भएन नि होइन र ? रोपाइँ खेतमा गर्ने बेला सडकमा किन ? विषय नै नचाहिने ठाउँमा बिरोध बोल्नुको अर्थ के हुन्छ । असारको १५ गते दिक्तेलको अस्पाताल चोकबाट दुम्ली जाने सडक खण्डको बीच भागमा त्यहाँका मानिसले धान रोपेर सरकारको विरोध गरे । उनीहरुले सरकारले सडक ढलान नगरेको आफ्नो घरको आगनमा हिलो बनाई दिएकाले साङ्केतिक बिरोध स्वरुप सडकमा धान रोपेर बिरोध जनाएका हुन् ।

स्थानीय उपभोक्ताहरु सडकमा भएको हिलोदेखि आजित भएर यसो गरेका हुन् कि ! सरकारले सडक नबनाएकाले त ? प्रश्न छ । तर, यसको उत्तर खोज्न किन टाढा जाने आफैभित्र यसको उदाहरण छ । आज जसले सडकमा धान रोपेर बिरोध गर्नुपर्छ भनेर आन्दोलनको रचना गर्छन् । उनैको परिवारभित्रका घरमुली अध्यक्ष भएर योजना चलाएका छन् । करीब डेढ वर्ष अगाडि त्यहि सडकमा सोलिङ गरिएको छ । अहिले त्यहि सडकमा धान रोपाइँ ? के विकास निर्माणप्रति उनीहरुको केहि दायित्व नै छैन । बेमौषममा गरिएको आन्दोलनको अर्थ के जान्छ ?

हामी राम्रो कामलाई राम्रो देख्न छाडेकै हौँ त ? हाम्रा आँखाहरुमा जहिले बिरोधी नजरमात्र आउन थालेका हुन त ? नगरपालिकाको क्षेत्रभित्र भइरहेका र हुनु लागेको भौतिक विकासलाई सान्दर्भिक नजरले हेर्दा पाप नै लाग्ने हो र ? सडकमा धान रोपेर नाटक मञ्चन गरेर जग हसाउनु भन्दा आफ्नो खेत नभएकाले आफन्तको खेतबारी गएर धान रोपी दिएको भएपनि त राम्रै हुने थियो नि हैन र ?

हाम्रो बिरोधी मानसिकता ‘काम सबैले अरुले गरिदिउन खानु आफैमात्र पाउँ’ भन्ने चिन्तनबाट कहिले माथि उठ्छौँ हामी ? र यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्न हौसला बढाउन प्रतिपक्षको भूमिकामा किन उत्साहित भइरहेका छौँ । सस्तो लोकप्रियताका लागि आफ्नो सबै हैसियत किन गुमाई रहेका छौँ ? अब खोज्ने बेला भएन र ? आफ्नो घर आगन राम्रो बनाउने दायित्व स्वयम् घरधनीको होइन र ? यसको बारेमा भर्खरै सामाजिक सञ्जालमा देखिएको असार १५ को दिक्तेल आचार्य गाउँँ जाने बाटो बाउसे र रोपाहारहरुले जवाफ दिने कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here