कुम्भघर उखेलिएको हो, पुनः त्यहि ठाउँमा स्थापना गरिन्छ : कार्यकारी निर्देशक

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा रहेको ऐतिहासिक तथा त्रिधार्मिकस्थल हलेसी महादेवस्थान खास गरेर तीनवटा धार्मिक समुदायको आस्थाको धरोहर हो । यस क्षेत्र भौगोलिक वातावरण तथा प्राकृतिक रुपमा सुख्खाग्रस्त क्षेत्र भएपनि पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको छ । विश्वका हिन्दु, बौध र किराँत धर्ममा आस्था राख्ने भक्तजनहरु आउने गर्दछन् । अध्ययन, अनुसन्धान गर्न आन्तरिक तथा बाह्य पर्यटकहरुसमेत उतिकै मात्रामा यस पवित्रस्थलमा आउने गर्दछन् । वाषर््िाक दुईदेखि चार लाख पर्यटक आउने यस हलेसीको समग्र विकास निर्माणको योजना बनाउन तथा कार्यान्वयन गर्न नेपाल सरकार मन्त्रिपरिषदको बैठकले भर्खरै हलेसी विकास समितिलाई पूर्णता दिएको छ । समितिले पूर्णता पाएपछि कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका सम्मर भुजेलसँग त्रिधार्मिकस्थल हलेसीका विकास र यसको अवस्थाको विषयमा केन्द्रित रहेर गरिएको कुराकानी प्रस्तुत छ ।

हलेसी विकास समितिको हालको गतिविधि कस्तो छ ?
खास गरेर नेपालको मात्र होइन विश्वको मानचित्रमा त्रिधार्मिकस्थलका रुपमा रहेको पवित्र धार्मिक तथा ऐतिहासिकस्थल हो । हाल हलेसी विकास समितिले २०७३ सालमा निर्माण गरिएको बृहत हलेसी विकास गुरु योजना अन्तरगत रहेर विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यसले हलेसी मन्दिर परिसरको भौतिक पूर्वाधारको निर्माण गर्ने, संघीय सरकारले आफ्नो मातहतको समितिलाई दिएको नीति तथा कार्यक्रमहरुको सहि ढङ्गले कार्यान्वयन गर्ने, नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमासमेत हलेसी त्रिधार्मिकस्थलको बारेमा व्यापाक प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षण गर्ने, जस्ता कामहरु निरन्तर अगाडि बढीरहेका छन् । यस वर्ष विश्व व्यापी बनेको (कोभिड–१९) कोरोना भाइरसको सङ्क्रमणका कारण केही भौतिक पूर्वाधारका कार्यक्रमहरु हुन सकेनन् । ती कार्यक्रमहरुलाई सहज वातावरण बन्न साथ निरन्तरता दिइने कार्यक्रम रहेको छ ।

हलेसी विकास समितिले नयाँ अध्यक्ष पाएपछिको नयाँ कार्ययोजना के के छन् ?
हलेसी विकास समिति निकै लामो समय नेतृत्व विहिन तथा अन्यौलपूर्ण अवस्था रहेको थियो । यो अवस्थाले भर्खरै निकास पाएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयले भर्खरै पूर्व माननीय सांसद टंक राईलाई अध्यक्ष र म सम्मर भुजेललाई कार्यकारी निर्देशकको रुपमा नियुक्ति गरेको छ । यद्यपि, विकास समितिका सदस्यहरुको नियुक्ति गरेका छैन । यो मन्त्री स्तरिय निर्णयबाट गर्नुपर्ने भएकाले केही समय लागेको हो । यो काम टुङ्गिएपछि पूर्ण समितिले निश्चित कार्यायोजना निर्माण गर्ने छ । यतिबेला भने हामीले पुराना बाँकी रहेका कामहरुलाई निरन्तरता दिने तथा त्यहाँ रहेका स्रोत साधनलाई संरक्षण गर्ने कार्य भइरहेको छ ।

अहिले भइरहेका कामहरु के के हुन ?
यसपाली हामीले हलेसी भैरवथान पर्यटन पूर्वाधार विकास कार्यक्रम र हलेसी पाथीभारा बाराहाक्षेत्र चतराधाम सँस्कृति प्रर्वद्धन अन्तरगतका शिर्षकहरुमा लकडाउनका काम गर्न सकिएन । यो लगायत रु एक करोड २० लाख बराबरको बजेट फ्रिज भएको छ । यस्तै, प्रदेश सरकार मार्फत प्राप्त साझेदारी पर्यटन पूर्वाधार कार्यक्रम अन्तरगत हलेसी बसाहा गुफा रिठाबोटे रानीपोखरी पदमार्गको काम अहिले द्रुतगतिमा भइरहेको छ ।

हलेसीलाई त्रिधार्मिकस्थल भनिन्छ । यसको आधारहरु के के हुन् ?
नेपालको संविधानले नै नेपाललाई बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक देशका रुपमा लिएको छ । यस मध्येपनि नेपालमा रहेका तीनवटा धार्मिक समुदायको संयुक्त आस्थाको केन्द्रका रुपमा हलेसी रहेको छ । हिन्दु धर्मावलम्बीहरुको शिव महादेव, बुद्ध धर्मावलम्बी गुरु पद्मसंभव र किराँत धर्मावलम्बीहरुको सुम्निमा पारुहाङ तायामा, खियामा, रैछाकुलेको पूजा आराधाना गरिने भएकाले यो निकै महत्वपूर्ण रहेको छ । त्रिधार्मिकस्थलका रुपमा विकास भइरहेको हिन्दु, किराँत र बुद्ध धर्मको सङ्गमस्थलका रुपमा रहेको हलेसीमा आउने पर्यटनको प्रमुख आकर्षण पनि यो नै हो । यीनै त्रिधार्मिक आस्थाका आधारमा अहिले हलेसी विकास समिति अगाडि बढीरहेको छ ।

हाल गुरुयोजना कार्यान्वयनका लागि के कस्ता अभ्यास भइरहेका छन् ? २०७३ सालमा बनेको गुरु योजना कार्यान्वयन गर्न कसरी हुन्छ ?
गुरु योजना निर्माणको र कार्यान्वयनको कुरा गर्दा यसको इतिहाँसको समेत स्मरण गर्नु पर्ने हुन्छ । बिगतमा राजा वीरेन्द्रको शासनकाल २०४२÷०४३ सालमा हलेसी महादेवस्थानको विकासका लागि भनेर एउटा गुरु योजना निर्माण भएको देखिन्छ । यसबेला सरकारले हलेसी मन्दिर परिसरका जग्गाको समेत उचित मुआब्जा वितरण गरेका थिए । तर, मुख्य कमजोरी त्यसबेला मालपोत कार्यालयमा रहेको लागत कट्टा नगरिएको हुँदा पछिल्लो समयमा स्थानीयले त्यो जग्गा फेरि किनबेच गर्न थाले मन्दिर वरीपरि घर तथा टहराहरु निर्माण हुन थालेपछि समस्या आएको छ ।

अब यसलाई व्यवस्थित रुपमा अगाडि बढाउन सरकारले फेरिपनि जग्गा तथा घर टहराको उचित मुआब्जा उपलब्ध गराएर यसक्षेत्रको सौँदर्यतालाई विकास गर्नु पर्दछ । यो एउटा महत्वपूर्ण चुनौति पनि हो । यो सामना गर्नै पर्छ यो काम नगरेमा हलेसी विश्वको आकर्षणको केन्द्र निर्मााण गर्न गारो हुने छ ।

पछिल्लो समयमा भौतिक पूर्वाधारको कार्यक्रम अन्तरगत पदमार्ग निर्माण गर्दा बुद्ध धर्मावलम्बीहरुले प्रयोग गर्दै आएको कुम्भघर भत्काइयो भन्ने आरोपछ नी ?
यो विल्कुल सत्य होइन । हामीले प्रदेश सरकारबाट प्राप्त ‘साझेदारी पर्यटन पूर्वाधार कार्यक्रम’ अन्तरगत हलेसी बसाहा गुफा रिठाबोटे रानीपोखरी पदमार्गको निर्माणको काम भइरहेका छन् । यहि पदमार्ग निर्माणका क्रममा एउटा फलामे ट्रसले बनाइएको कुम्भघर स्थानन्तर गर्नलाई उखेलिएको छ । यो हाल निर्माण गर्दै गरेको पदमार्गमा परेको एउटा कुम्भघर उखेलिएको छ । यो कुनै धार्मिक आस्थाका आधारमा नभई विकास निर्माणको क्रममा केहि समयकालागि उखेलिएको हो । यो पदमार्ग निर्माणपछि त्यहि नजिकै पुनः स्थापना गरिने छ । अहिले एक प्रकारको हल्ला फिजाइएको जो छ यो हल्ला हो र हल्लाको पछाडि नलाग्न अनुरोध गर्दछु । हामी धार्मिक सहिष्णुताको पक्षमा छौँ । हलेसी महादेवस्थानमा आउने जति पनि पर्यटकहरु हुनुहुन्छ । सबै धार्मिक समुदायका हुनुहुन्छ । यसमध्ये बढी प्रचारमा सहयोग गर्ने धार्मिक समुदाय भनेको बौध धर्मावलम्बी समुदाय नै हुन् । यसले गर्दापनि हामीले कुनै आस्थाको आधारमा भेदभावका दृष्टिले यो काम गरेका छैनौँ । आवश्यकता रह्यो र उखेलिएको हो त्यो फेरि पुनः स्थापना हुन्छ ।

विकास समितिले धार्मिकस्थलसम्म आएका पर्यटकलाई के नयाँ सन्देश दिएर पठाउने ?
हामीले त्रिधार्मिकस्थल हलेसीसम्म आउने हाम्रा पर्यटक तथा भक्तजनलाई पहिलो कुरा राम्रो वातावारण दिनुपर्दछ । हामीले दिने सेवा सुविधा र नयाँ किसिमको वातावरणले नै उहाँहरुले के सन्देश लाने भन्ने मुख्य कुराको निर्धारण गर्दछ । दोस्रो कम्तिमा हलेसीसम्म आइपुगेका पर्यटकहरुलाई नजिकै रहेका अन्य मठमन्दिरहरुको समेत जानकारी दिएर त्यहाँ सम्म पु¥याउने कोशिस गर्नुपर्दछ । योसँगै हलेसी भन्दा माथिल्लो भागमा रहेको किराँत राई समुदायको उद्गमथलो तुवाचुङ जायजुम, अर्खौले बजारमा रहेको सुत्केरी ढुङ्गा, महुरेगढी, नुनथला, रुपाकोट, नेर्पाको भुलभुले, कालिका भगवतीथान, मझुवागढी आदिसम्म जानकारी दिने तथा सम्पूर्ण खोटाङको पर्यटन प्रर्वद्धन हुने खालको सन्देश दिने प्रयास विकास समितिको रहने छ । यस्तै रैथाने उत्पादन, रैथाने सँस्कार सँस्कृतिको प्रर्दशन, हलेसीको कोशेली दिएर पठाउने योजना बनिरहेको छ ।

हलेसीको समग्र विकास गर्ने भावी योजना के के छन् ?
पहिलो कुरा त गुरु योजना कार्यान्वयन गर्नु नै प्रमुख कुरा हो । हाम्रो जिल्लाकै चिनारीका रुपमा रहेको हलेसी महादेवस्थानको मन्दिर तथा त्यहाँको भौतिक तथा पुरातात्विक कुराहरुको संरक्षण गर्न सकिएन भने यो विस्तारै भासिदै र मासिदै जान सक्छ । यसका लाष् िमन्दिर परिसरमा करीब ४५० रोपनी जग्गा हलेसी विकास समितिले लिनुपर्दछ । यसका वरीपरि सुरक्षाका लागि अपनाउनु पर्ने विधिहरु अपनाउनुपर्दछ । यसपछि पुरातन हिसाबले चलिरहेको परम्परालाई नमासिनेगरि पूजाआजा गर्ने पुजारीहरुको व्यवस्थापन गर्ने, मन्दिरको मुख्य थानमा रहेको शिवलिङ्ग खिइनु थालेको छ । यसलाई संरक्षण गर्न चाँदीको प्रयोग गर्ने, हलेसी क्षेत्रको चौतर्फी विकासका लागि आवश्यक अल्पकालीन तथा दिर्घकालीन योजनाहरु निर्माण गर्दै जाने सम्भावित पूर्वाधारहरुको निर्माणहरु समेत नियमित गर्दै जाने विकास समितिको लक्ष्य छ ।

र अन्तमा ?
र अन्तमा हलेसी विकास समितिका बारेमा केहि कुराहरु राख्ने अवसर दिनुभएकोमा धन्यवाद । केहि भ्रमहरु चिर्ने मौका दिनुभयो । विशेषगरी हलेसीलाई चिनाउने कुरामा एक इँटा थपिदिनुभयो हार्दिक आभार व्यक्त गर्दछु ।

                       -भीम राईको प्रस्तुति ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here