असारको पन्ध्र

भिम राई
गाउँमा किसानहरुलाई यतिबेला निकै चटारो छ । मुठी खाएर मुरी उब्जाउने समय हो यो ग्रामिण किसानका लागी । उनीहरुका लागि हल गोरु घसाउनु, खेतको आँठा काट्नु, खेत रोप्ने बाउसे र रोपाहारहरु खोज्नु, पानी देखी खाने सम्मको जोहो गर्नु खेति किसान गर्नेहरुका लागि कम शास्ती छैन । यहि समयमा खेतमा मकै पाकिसकेको छ निकाल्नु प¥यो । पाखाबारीमा कोदो रोप्ने मौसमपनि यहि हो । कोदो रोप्ने बारीको खनजोत गर्नु उतिकै हतारो गर्नुपर्ने समय भएकाले छुट्याउनै भएन । यी र यस्तै बग्रेल्ती कामहरुकै कारणले मानिसहरु हतारो परेको समयलाई संकेत गर्न ‘असारको पन्ध्र’ भन्ने गरेका छन् ।
असारको पन्ध्र खास गरेर किसानहरुको कामको प्रकृति हेरेर बनाइएको होला । तर यतिखेर नेपालमा भने यो उखानले सबै तह र तप्काका मानिसहरुलाई भेट्ने गरेको छ । असार आर्थिक बर्षको अन्तिम महिना हो । नेपालमा साउन महिनाबाट नया आर्थिक बर्षको शुरुवात हुने गर्दछ । त्यसैलेपनि नेपालमा आर्थिक वर्षको अन्तिम महिना भएकाले सरकारी अड्डाहरु हिसाब किताब मिलानमा व्यस्त रहन्छन् । फिल्डमा नसकिएको काम कागजमा सक्ने यो सबैभन्दा सजिलो मौसम हो । विशेष चटारो किसानलाई भन्दा बढी नेता तथा कर्मचारीलाई हुने गर्दछ । ठेकेदार र उपभोक्ता समितिका अध्यक्षहरुलाई समेत यो असारको पन्ध्रले निकै चटारो दिन्छ ।
वर्षभरी काम गर्न आलटाल गर्ने र असार आउन लागेपछि विकास निर्माणको काममा निकै हतारो गर्ने प्रचलन नेपालको हकमा निकै पुरानो हो । हाम्रो जिल्लामा पनि यो प्रवृत्ति नहुने कुरै भएन । जिल्लामा भएका सबै गतिविधीहरु जेठ र असारमा निकै बढ्छन् । खेतिपातीको सिजनमा भौतिक पूर्वाधारकाकामहरु हुन थालेपछि गाउँमा खेतिपाती गर्नेहरु समस्यामा पर्छन । विकास निर्माणको कामहरु केही त हुन्छन तर कतिपय कागजमा मिलाउनेकाम बाहेक हुँदैन । यो सबै विकासे अड्डाहरुको सरुवा रोग हो । यसलाई न्युनिकरण गर्ने बारेमा कसैको ध्यान जान सकेको पाईदैन ।
यस पटक विस्व नै कोरोना (कोभिड १९)को संक्रमणबाट गुज्रिरहेको छ । यस्ते बेला विकास निर्माणको कामहरु अलिकम नै भएका छन् । २०७६को चैत्र ११ गतेबाट नेपालमा शुरु भएको लक डाउनले सबै कामहरु प्रभावित बनाएको छ । जति प्रभावित भएपनि विकासका नाममा आएका बजेटहरु फिर्ता नजाउन भनेर आर्थिक बर्षको अन्ततीर नै भएपनि उपभोक्ता समिति बनाउने र खात्राक खुत्रुक काम गर्ने बजेट निकासा गरिहाल्ने मनोविज्ञान आम जनप्रतिनिधी तथा उपभोक्ता समितिको रहेको छ । एक त बर्षादको समय त्यसमाथी लक डाउनले केही गर्न पाइएन भनेर गरिने गुनासो यसपटक सबै भन्दा ठुलो ओखती भएको छ । उनीहरुलाई ।
ठेकेदार तथा उपभोक्ता समितीका अध्यक्षहरुलाई राम्रो अवसर मिलेको छ । उनीहरुलाई काम सकाउने भन्दा बढी समय थप्ने राम्रो अवसरका रुपमा लकडाउन लागेको छ । सम्झौता गर्दा तोकिएको समयसिमा भित्र काम हुन नसक्दा चिन्ता भन्दा बढी कसरी कागज मिलाएर रकम निकासा गर्ने भन्ने विषय उनिहरुको टाउको दुखाईको विषय बन्न पुगेको छ ।
असारे विकासले कर्मचारीहरु समेत व्यस्त बनेका छन् । कुन योजना कहिले सकिने भन्ने सम्झौता पत्रमा उल्लेख भएपनि काम नसकी रकम भुक्तानी गर्नु पर्ने दबाद उनिहरुलाई आईलागेको छ ।
अहिले विकासे अड्डा वरीपरि निकै मानिसहरुको भिडभाड बढेको छ । विकास माग्ने भन्दा नी विकास मिलाउने नाममा उनिहरुको सक्रियता देखिन्छ । हातमा फायल बोकेर दौडिरहेकाहरु निकै लामो रेसमा निस्केका धावक भन्दा कम लाग्दैनन् । लगातार कामको चाप बढीरहेका छन् । तरपनि कतिपय सबै काम पूर्णरुपमा सम्पन्न भईसकेका योजनाहरुको कामपनि हुन नसकिरहेको उपभोक्ताहरुले गुनासो पनि गर्न थालेका छन् । विधि र प्रकृया नपुगेकाले भुक्तानी गर्न नसकिएको जवाफ सम्बन्धीत निकायले जवाफ दिन्छ । यो बेला सबै सकेसम्म विधि र प्रकृया पु¥याएरै भुक्तानी लिने दिने गरिने छ भन्ने आशय विकासे अडडाका कर्मचारीहरु सुनाउँछन् । तर डरमर्दो कुरा चाँही कहाँनिर छ भने विधि प्रकृया आन्तरिक हिसाब मिलानबाट हुन सक्ने ठुलो खतरा देखिन्छ । आन्तरिक हिसाब मिलान भागबण्डामा नहोस भन्ने सचेतनाको लागी सबै जनप्रतिनीधि, कर्मचारी ठेकेदार, नेता कार्यकर्ता उपभोक्ता समितिहरुलाई शुभकामना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here