खोटाङमा भेटियो सलह

किसानहरु त्रसित

एविसि खबर
खोटाङ, १४ असार । नेपालको तराईक्षेत्रबाट प्रवेश गरेको फट्याङ्ग्रा जातको सलह किरा खोटाङमा पनि भेटिएको छ । जिल्लाका् विभिन्न स्थानीय तहमा आइतबार एकैसाथ यो किरा देखिएको हो ।
ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा भेटिएको स्थानीय किसानहरुले जनाएका छन् । शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ ।
जिल्लाका विभिन्न ठाउँमा एकसाथ सलह किरा देखिएपछि जिल्लास्थित स्थानीय तहका कृषि शाखा प्रमुख तथा कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय प्रमुखको आपतकालीन बैठक बसेको छ ।

वर्षा भइरहेको समयमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माल्खुमा घरको भित्तामा आएर बसिरहेको अवस्थामा सलह किरा देखिएको नगरप्रमुख इवन राईले जानकारी दिए । उनले भने, “बालीनालीमा देखिएको छैन, घरको भित्तामा आएर बसेको अवस्थामा २०–२५ वटा सलह फेला परेको छ ।” उनले लगातार परिरहेको पानीले रोकेर घरमा ओत लागेको हुन सक्ने बताएका छन् ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको बैङ्कचोकका एक पसल, र सरस्वती माविको भित्तामा पनि केही सलह किरा फेला परेको छ । बैङ्कचोकमा भेटिएको सलह किरा स्थानीय बासिन्दाले परिक्षणका लागि लिएर आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखाका कृषि प्रशार अधिकृत धर्मेन्द्र कलौनी जानकारी दिएका छन् ।

झुण्डमा देखिनुपर्ने सलह एक–दुई वटा मात्र देखिएको विषयमा अध्ययन भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले पनि दिक्तेलमा छिटफुट मात्रामा सलह किरा फेला परेको जानकारी आए पनि पुष्टि हुन बाँकी रहेका बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here