तिहार अघि चीनबाट तेल ल्याउन मुस्किल : ढुवानी व्यवसायी

१० कात्तिक, काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चीनले अनुदान दिने भनेको पेट्रोल तिहार अघि ल्याउन मुस्किल पर्ने बताएको छ । चीनले १३ लाख लिटर पेट्रोल अनुदानमा दिने बताएको छ भने व्यवसायिक सम्झौता गर्न नेपाली टोली बेइजिङ गएको छ ।

nepal-oilतर, पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भने चीनसँग सम्झौता भएर सबै तयारी सक्दा समय लाग्ने भएकाले तिहार अघि चिनियाँ तेल नेपाल ल्याउन गाह्रो पर्ने बताएको छ ।

महासंघका महासचिव विश्व अर्यालले रसुवागढी नाका हुँदै तेल ल्याउने खबर सुनेपनि नेपाल आयल निगमले औपचारिक प्रस्ताव नगरेको बताए । ‘हामीले चीनबाट तेल ल्याउने भन्ने सुनेका छौं । तर, निगमले हामीसँग छलफल गरेको छैन । निगमले के योजना बनाएको छ, हामीलाई जानकारी छैन’ उनले भने ।

महासचिव अर्यालका अनुसार आयल निगमले आज जानकारी दिएर भोलि नै तेल लिन जाने अवस्था छैन । उनले भने, त्यसका लागि विभिन्न प्राविधिक तयारी गर्नुपर्छ । त्यसैले तिहार अघि त्यो पेट्रोल नेपाल आइसक्छ भन्ने लाग्दैन ।’

विभिन्न प्राविधिक अध्ययन बिना नेपाली ट्याकंर चीनले दिने भनिएको तेल लिन जान नसक्ने उनले बताए ।

तर, आयल निगमका प्रवक्ता दिपक बरालले भने दसैं अघि नै ढुवानी व्यवसायीहरुसँग छलफल भएको बताएका छन् ।

प्राविधिक अध्ययन जरुरी

पेट्रोलिय ढुवानी महासंघले निगमबाट चीन तेल लिन जाने प्रस्ताव आएपछि एक प्राविधिक टोली रसुवागढी पठाउनुपर्ने स्पष्ट गरेको छ ।

अर्यालका अनुसार टोलीले बाटोको अवस्था, त्यहाँको तापक्रम लगायत सबै प्राविधिक अध्ययन गरेपछि मात्र तेल लिन ट्यांकर जानेछन् । अहिले नेपालमा झण्डै १५ सय तेल बोक्ने ट्यांकर छन् ।

रुसवागढी पुग्ने मार्ग अप्ठेरो भएकाले लामो ट्यांकर जान सक्छ कि सक्दैन भन्ने स्पष्ट भएको छैन । त्यही कारण प्राविधिक अध्ययन आवश्यक भएको महासचिव अर्यालले बताए । यस्तै कागजपत्र मिलाउने लगायत प्रक्रियागत कारण पनि तिहार अघि चीनबाट तेल ल्याउन मुस्किल पर्ने उनले बताए ।

‘तेल दिनेबारे औपचारिक सम्झौता भएकै छैन । सम्झौतापछि तेल ल्याउनेबारे विभिन्न प्राविधिक अध्ययन गर्नुपर्छ । यी सबै प्रक्रिया पूरा गर्दा तिहार अघि तेल आउने अवस्था कम छ,’ अर्यालले भने ।

onlinekhabar.com

Facebook Comments

सम्बन्धित

Leave a Comment