पदमश्री साधना र साहित्य सम्मान वितरण

lato_pahadकाठमाडौं/ खेमलाल–हरिकला लामिछाने सम्मान कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य सम्मान २०७१ र पद्मश्री साधना २०७१ सोमबार काठमाडौंमा एक कार्यक्रमबीच वितरण गरेको छ । प्रतिष्ठानले केही समयअघि कवि तथा आख्यानकार उपेन्द्र सुब्बाको कथासंग्रह ‘लाटो पहाड’ र पत्रकार मोहन मैनालीको निबन्धसंग्रह ‘मान्ठा डराएको जुग’लाई २०७१ का सर्वोत्कृष्ट कृति घोषणा गरेको थियो । यी दुईलाई संयुक्त रूपमा पद्मश्री साहित्य सम्मान दिइएको हो ।

त्यस्तै, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई पद्मश्री साधना सम्मान दिइयो । कार्यक्रममा हरिकला लामिछाने र प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले सम्मानित स्रष्टालाई सम्मानपत्र र नगद पुरस्कार दिए । पद्मश्री साधना सम्मान र साहित्य सम्मान दुवैको राशि संयुक्त रूपमा दुई लाख रुपैयाँ छ । कार्यक्रममा प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले अब म्याद दिएर पुरस्कारका लागि पुस्तक बुझाउने परम्पराको अन्त्य गर्ने घोषणा गरे । उनले भने, ‘अब कुनै पनि लेखक वा प्रकाशकले हामीलाई मूल्यांकनका लागि पुस्तक बुझाउनुपर्नेछैन ।’ त्यस्तै, सम्मानित स्रष्टाद्वय उपेन्द्र सुब्बा र मोहन मैनालीले यो सम्मानले आफूहरूमा थप मनोबल बढेको बताए । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि सम्मानले थप हौसला बढेको र नेपालमा सद्भाव कायम गर्न आफूहरू लागिरहने बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment