राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने, ‘जनकपुर जाने वातावरण बनाइदिनुस्’

Rambaran-and-sushil1काठमाडौंराष्ट्रपति रामवरण यादवले मधेसमा भइरहेको आन्दोलन र असन्तुष्टिलाई सम्बोधन गर्न मंगलबार प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् । बन्द/हडतालका कारण मधेसका लाखौं नेपालीले दिनहुँ पीडा र अप्ठ्यारो भोगिरहनुपरेकाले ‘आफैं गएर जनताको कुरा सुन्न’ र समस्या समाधान गर्न उनले कोइरालालाई आग्रह गरे ।

‘मलाई घर फर्कने वातावरण मिलाइदिनुहोस्,’ दुई मन्त्रीसहित शीतल निवास पुगेका कोइरालालाई यादवले भनेका थिए, ‘नयाँ संविधानअनुसार शीतल निवासमा म बस्ने भनेको एक महिना हो । म त जनकपुर फर्कनै पर्छ । त्यो वातावरण छैन ।’

मधेसमा भइरहेको अशान्ति र जनताले पाएको दु:खलाई जनकपुरको उदाहरण दिएर राष्ट्रपति यादवले प्रधानमन्त्रीलाई समस्या बुझाउन खोजेको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले  बताए ।

यादवले संविधान जारी हुनुअघिदेखि नै मधेसमा भइरहेको आन्दोलन, हिंसाप्रति गम्भीर भई शीर्ष नेताहरूलाई ध्यानाकर्षण गराउँदै आएका छन् । संविधान बनिसकेपछि पनि अझै असन्तुष्ट पक्षका एजेन्डा सम्बोधन गर्न सक्ने ठाउँ रहेको उल्लेख गर्दै उनले त्यसका लागि पहल गर्न प्रधानमन्त्री कोइरालालाई आग्रह गरेका हुन् ।

‘प्रमुख दलका नेताहरू मधेसमै जानुपर्‍यो । जनताका कुरा सुन्ने, त्यहाँको अवस्था बुझ्ने काम गर्नुपर्‍यो । तपाईं आफंै गएर पनि सम्बोधन गर्न सक्नुहुन्छ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै दाहालले भने ।

अमेरिका भ्रमणमा जानुअघि नै मधेसमा भइरहेको अशान्तिको अवस्था सामान्यीकरण गर्नुपर्नेमा राष्ट्रपतिको जोड दियो । प्रधानमन्त्री कोइरालासँगै कानुनमन्त्री नरहरि आचार्य र वनमन्त्री महेश आचार्य भेटमा सहभागी थिए ।

‘मधेसमा ठूलो संख्यामा रहेका जनताले पाएको दु:ख, कष्टको अन्त्य गर्न सरकार र ३ ठूला दलले पहल गर्नुपर्छ । संवाद नै त्यसको उपाय हो,’ राष्ट्रपति यादवले भनेका थिए, ‘त्यसका लागि अविलम्ब वार्ता सुरु गर्नुहोस् ।’

यादवले आफ्ना मागलाई शान्तिपूर्ण तबरमा राख्न र हिंसामा जोड नदिन आफूले मधेस केन्द्रित दलका नेतालाई समेत भनेको जानकारी दिएका थिए । मधेसका मुद्दालाई अहिले आन्दोलनमा देखिएका केही दलको जिम्मामा मात्र नछाड्न पनि उनले प्रधानमन्त्रीलाई भनेका थिए ।

‘मधेसमा मधेसी दल मात्र छैनन् । सबै जातजाति, वर्गका नेपाली छन् । मधेसको प्रतिनिधित्व कांग्रेस, एमाले र एमाओवादीमै बढी छ । त्यसैले पनि त्यहाँको दु:खमा ३ ठूला पार्टीले बढी चासो देखाउनुपर्छ,’ यादवको भनाइ थियो ।

प्रधानमन्त्री कोइरालाले आफूहरूको प्राथमिकता नै मधेसको मुद्दा सम्बोधन रहेको जवाफ दिएका थिए । आफू शीतल निवासमा आउनुअघि नै तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेको र अब तत्कालै अन्य नेतालाई पनि भेट्ने जानकारी गराएका थिए ।

‘मधेसको मुद्दालाई समेट्न म सक्रिय भएर लागेको छु,’ कोइरालाले भनेका थिए । त्यसक्रममा कोइरालाले आन्दोलन रोक्न नचाहने केही तत्त्वहरूले ‘घुसपैठ’ गराएको भरपर्दो सूचना सरकारलाई रहेको अवगत गराएका थिए । राष्ट्रपति यादवले त्यसका लागि काठमाडौं केन्द्रित भएर मात्र समस्या समाधान नहुने, नेताहरू तराई–मधेसमै गएर विभिन्न तहमा कुराकानी गर्नुपर्ने उल्लेख गर्दै भनेका थिए, ‘त्यहाँ नपुगी वास्तविक कुरा आउँदैन ।’

प्रधानमन्त्रीले आफू राष्ट्रसंघीय महासभामा भाग लिन जान लागेको बारेमा समेत जानकारी गराएका थिए

कान्तिपुर दैनिकबाट

Facebook Comments

Related posts

Leave a Comment