मेयर साब ! यो पाराले पुग्ला : दिक्तेल रुमवासीको रहर ?

समाचार

भिम राई
‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दिपनारायण रिजाल नाम गरेका मेयर र विणादेवी राई नाम गरेको उपमेयर पहिलो पटक निर्वाचित भएका हुन् । विक्रम संवत २०७४ असार १४ गते भएको स्थानीय तहको पहिलो निर्वाचनबाट उनीहरु निर्वाचित भएका हुन् । नेपालको संविधान २०७२ लागु भएपछि बनेको संघीय संरचना अन्र्तगत स्थानीय तहको यो पहिलो निर्वाचन थियो ।’ स्थानीय निकायलाई स्थानीय तह भनिएको पहिलो पटक निर्वाचित उनीहरुले यस्तो यस्तो काम गरे भनेर आउँने पुस्तालाई सुनाउने बेला सकरात्मक कुराहरु के के भन्ने होला । लेख्नै पर्दा के लेख्ने होला ? मनमा प्रश्न उठेर हैरान छ ।
‘समाजवाद उन्मुख सभ्य र संमृद्ध नगरः दिक्तेल रुमवासीको रहर’ नगरपालिकाको मूल नारा हो । यो नाराको आधारमा नगरमा काम नभएका हुँदै होईन तर जति हुनुपर्ने त्यति नपुगेको भने अवश्य हो । नगरपालिका स्थानीय सरकार हो । सरकारले गर्ने सबैकामहरु नगरले नै गर्नु पर्दछ । कति व्यस्तता होला हामी जस्तो बबुरो के अनुमान गरौँ । त्यो निर्वाचनको बेलाको धपेडीको स्मरण गरिरहनु बेकार छ । लोकप्रियताकै कारण निर्वाचनमा होमिएको बेला के कहाँ कती कसरी मत आएको थियो होला ? कहाँकती के खर्च भए होलान ? यसका बारेमा हामीले केही बोल्न मिल्दैन, बोल्नपनि हुँदैन । तर यति भन्नु पर्छ कति जती खर्च गरे होलान ?
यी सबै गन्थन गरिरहनु पर्ने कुनै कारण थिएन । नगरले लिएको नाराको कारण गन्थन गर्नु पर्नेनै भयो । समाजवाद उन्मुख सभ्य र संमृद्ध नगर निर्माण गर्न संचालन भईरहेको योजनाहरुले थेग्लान त ? यहाँ स्वास्थ्य, शिक्षा, कृषीको विषयमा खास प्रयास भएको देखिन्न । भर्खरै शिक्षामा केही नया कार्यक्रम आएको जानकारी प्राप्त भने भएका छन् । झन सूचना र संचारको विकास त कसो कसो भईरहेको छ । भएका मिडिया हाउसहरु खिएर खिनौटे भईसके । यहाँ आँखा पोखरी, भ्यु टावर, मठमन्दिरको घेरावार गर्नुलाई विकास मान्ने चलन बढेको छ । नागरिकहरुको दैनिक गुजारा चल्ने दिगो किसिमको विकासे योजना देखिन्न । भन्न त सजिलै छ । विकास भईरहेकै छ । तर यो तेस्रोवर्ष हो । अब जम्मा दुई आर्थिक वर्षको बजेटमात्र छ । मेयरसाबहरुले संचालन गर्न पाउने । यसमा पछिल्लो वर्षको बजेटमा आचारसंहिता कि के पनि लाग्छ रे । कसो कसो हो ?
अहिले सम्म नगरपालिका अर्काको घरमा भाडा तिरेर बस्नु परिरहेको पिडा त निर्वाचित भएका नेताहरुलाई कति लागेको होला । जसले आगामी निर्वाचनमा विपक्षीलाई राम्रो मसला नभएको राम्रो लाग्छ । दिक्तेल बजारभित्रको सडकको विजोग नै छ । सोलिङ नामको विकासले यातायातको साधनहरुलाई त शास्ति छ भने झन सर्वसाधरण बटुवाहरुलाई कस्तो होला । सडक पेटीमै रहेको सामग्रीको अर्सेलोले कम गारो भएको छैन । यसलाई कालो पत्रे त गर्न सकिन्न । बजारको सडक वारीपारी घरहरु छन् । यस क्षेत्रमा ढलान त अवश्य गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिए कसो हुँदाहुन् । हजुरहरुको मिसन समृंद्धी तर्फकै हो यसमा विमती छैन । तर संमृद्धीमा पुग्नो दिगो र स्थायी विकासको अवधारणा हुन जुरुरी छ । एउटा वडामा मात्र विकास भएर सिँगो नगरको विकास हुँदैन भन्ने मान्यता निर्वाचित नेताहरुकै हो । गाउँ र नगरपालिकाहरु समृद्ध नभई देशमा समृद्धी आउँदैन भन्ने कुराको पनि हजुरलाई हेक्का नभएका त कहाँ होलार । तर खै के खै के पारा मिलेको देखिन्न ।
कता कता मिल्दैन । संघीयता नहुँदा दुख नपाएका नागरिकले बढी दुख पाउन थालेको जन गुनासो बढ्न थालेको छ । नगरपािलका मातहतको विषयगत कार्यालय एकठाउँमा केन्द्रिकृत नहुँदा सर्वसाधरणलाई समस्या छ । सडकहरु बनाउनेकाम त भई नै रहेको छ । सडक बनाउने नाममा उब्जनी हुने अब्ववल जमिन पुरीदैँ पनि छन् । पुरिएको ठाउँमा वैकल्पि हिसाबमा के गर्न सकिन्छ होला । पशुपालन गर्ने किसानकालागी घाँस तथा अम्लिसो जस्ता कुराहरु रोप्न प्रेरित गर्न सके हुन्थे होलान । दिक्तेलको हाटडाडाँमा एउटा राम्रो सानो चिटिक्क परेको नगर कृषि सूचना पाटी त देखियो तर केही सूचना भेटिन्न कृषि सम्बन्धी केही सूचना नभएका हुन ? बजारमा नया व्यवस्थापन हुँदा यो खाली नै रहनुले राम्रो सन्देश जाँदैन की ?
स्थानीय कृषकहरुले उत्पादन गरेको कृषी जन्य उपजको खपत कता भईरहेको छ । काठमाडौँमा खोटाङको कालो बंगुरको मासुको कम्ता बजार छैन । तर नगरपालिका भित्र कतिवटा बँगुर पालन गर्ने व्यवसायीक फार्म छन् होला ? दिक्तेल बजारमा व्यवस्थीत मासुपसलको आवश्यकता महसुस भएकै छन् । दैनिक उपभोग गर्ने तरकारीहरु काठमाडौँबाट सस्तोमा ल्याएर व्यापारीले बेचिदिनाले याहाँका कृषकले उत्पादन गर्ने जाँगर चलाउन छाडेका छन् । यसले हाम्रो नगरलाई कतिको अर्गानीक नगर बनाउन सकिएला ? यसलाई नियमन गरौँ र निरुत्साहीत बनाउन कोशीस गरौँन ।
मदमदिराको मामला उस्तै छ । हाम्रो राज्यको कानुनपनि उस्तै । स्थानीय स्तरमा उत्पादन भएको मदिरालाई बन्देज लगाउँछ । बाहिरबाट आएको आयतीत मदिराहरुलाई वैधनिकता दिन्छ । यसले हामीलाई अर्गानिक नै बनाईरहेको होला त ? हाम्रो आर्थिक उपार्जन कता जाँदै होला ? यो नगरमा स्थानीय मदिरामात्र बनाएर छोराछोरी पाल्नेहरुको तथ्यांक लिन सके । यसको ठाउँमा कुनै नया उद्योग पो निर्माण गर्न सकिन्थ्यो की ? अर्थात उनीहरुलाई करको दायारामा ल्याई व्यवसायीक ब्राण्ड कायम गेरेर बाहिर पठाउन पो सकिन्थ्यो की ? आयतित मदिराले हामीलाई जोखिममा पारी रहेको छ । कुनै किसान खेतबारीमा पस्न सकिने अवस्था छैन जताजतै खाली सिसिहरु फालिएका छन् । सिसि फुटेर चोटपटक लागेका धेरै छन् । अब यताको पाटोतिर पनि सोचुम कि ।
अहिले शब्दहरुको बढो रोमाञ्चक प्रस्तुतीहरु छन् । सायद त्यो पछि भावि पुस्ताका लागि सुरक्षित गर्नकै लागी होला भन्ने लाग्छ । कुनै साना तथा ठुला योजनाहरु सम्पन्न भयो र नगरपालिकाले उद्घाटन गर्न परेमा शिलालेख राख्ने प्रचलन निकै बढेछन् । केही ठाउँमा त शिलालेख राख्न साथ पनि फुटीसके छन् । विकासे कामको जस लिँदा कहिले काँही अपजसपनि भोग्नुपर्ने नियतीहरु आईलाग्छन् । माहुरेगढीको आँखापोखरी त्यस्तो त्यस्तै हुन पुगेको छ । पोखरी बन्यो केही समयमा पोखरीमा पानी छैन् । शिलालेख नटालिएको भएमा भुईँमा ५÷६ टुक्रा भएको अवस्था हुने रहेछ । खै यो विकासले समृद्धीमा पु¥याउँला त ? रुपाकोटमा टावर बनेको छ । टावरमा चढीसक्नु छैन । रुपाकोटमा बिना टावर जतिकुरा देखिन्थ्यो । टावर बनेपछि थप के के कुरा त्यहाँबाट देख्न सकिने भए होलान ?
खोटाङ जिल्लामा मध्येपहाडी भन्ने लोकमार्ग छ । यस लोकमार्गले हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका छोएर जाने सडक आसपास नगरपालिकाले सक्रियता देखाई रहेको छ । सडक किनाराको टहरा नगरपालिकाले डोजर लगाउने निर्णय गरेर केही आलोचनापनि खेपेकै हो । तर यो काम सकरात्मक नै मान्नु पर्छ । तर केही प्रक्रियाहरु नपुगेको भएपनि यो कामले नया सन्देश दिएकै छ । सडकको किनारमा रहेको टहरा भत्काएर नगरपालिकालाई राम्रो त बनाउँदै छौँ । तर दिक्तेलकै मुटुमा रहेको वेसक्याम्प क्षेत्रको यातायातको चाप र पार्कीङको अवस्था हेर्दा त खै कता कता नमज्जा लाग्दो रहेछ । काउण्टरहरुको वेजतन छ । ठुला र साना सवारी साधनको चापले यात्रुले हिँडदा हिँडदै ५ मिनेट विसाउनै पर्ने अवस्था छ । त्यो बाटो हिँड्दाको अनुभव हो । विद्यार्थीहरुको चापको वेला दुर्घटनाकोपनि संभावना धेरै नै पो छकी ? यो कुरा नगरपालिकाले स्विकार गरेको छ ।


मुआब्जा पाउने क्षेत्रमा त नगरको मापदण्ड लागु गर्न सकिन्छ । तर जो नागरिकले मुआब्जा पाएका छैन । उनीहरुले राज्यलाई कर तिरिरहेका छन् । उनीहरुलाई सडकको मापदण्ड लागु गराउन भन्दा मुआब्जा उपलब्ध गराउने तर्फ बढी चिन्ता गर्ने हो की ? यो आलेखलाई मेयर साबले एकपटक मिडियामा भन्नु भएको आग्रहलाई स्विकारेर लेखिएको हो । उहाँ भन्नु हुन्छ,‘सार्वजनिक चासोको विषयहरुमा निर्णायक भूमिका नगरवासीको हुनेछ, त्यसैले हरेक सेवा प्रवाह र गतिविधि नियाल्ने गरौं’
यी सबै प्रश्नका लागि प्रश्न मात्र होईन जनताको आशा र भरोसाका विषयपनि हुन् ? नगर नेतृत्वलाई सुझावपनि हो । ध्यान दिन नसेकेमा मेयर साबलाई जनताले थप धेरै प्रश्न सोध्न सक्ने छन् । संभावित प्रश्न यो पनि हुन सक्छ ‘मेयरसाब फोहोर बोक्ने ट्याक्टरमा कहिले नाम राख्ने ?’

Facebook Comments

Leave a Reply