किरात समुदायमा मार्चा

बिचार, समाज


भिम राई

किरात सभ्यता हो । इतिहाँस हो । सृष्टीको आदीमकाल हो । यसमा कसैले दुईमत पालिरहनु पर्ने कुनै जरुरी छैन । यी कुराहरुको बारेमा किराती संस्कार र संस्कृतिकले पुष्टी पार्छ । इतिहाँसको तथ्यहरु लेख्यरुपमा उति सारो नपाइए पनि प्रयोग र प्रचलनमा रहेका संस्कारहरुलाई हेर्दा विस्वास गर्न लायक छ । किरातीहरुमा विभिन्न थरगत विविधता छ । यद्यपी यी सबै किरातहरुले मान्दै आएका प्रचलनहरु समान छन् ।

मृत्युमा होस या जन्ममा यानेकी सुखमा होस या दुखमा । कुनै शास्त्रमा अनुबन्धित नियम तथा कानुन नभएपनि पहिलेदेखी चलिआएका रिति संस्कारमा अन्य समुदाय जस्तै किरात समुदाय पनि सम्पन्न शाली रहेको छ । परम्परालाई रुढीवाद देख्ने नजरका कारण केही त्यस्ता गम्भिर गलतहरु भने अवश्य भईरहेका छन् । प्रयोगलाई दुरुपयोग गरेकै कारण यसलाई रुढीवाद हो । समाजलाई अनावश्यक हो भन्ने तर्क अगाडि सार्ने गरिएको छ । मर्चाको उत्पादन लाई एकापक्ष यो खत्तम हो भनिरहनु र अर्कोपक्षले यो सबैभन्दा उत्तम हो भनिरहनु भन्दा पनि यो संँग जोडिएका केही वैज्ञानीक कारणहरु सहित तर्क गर्दा सान्दर्भिक हुन जान्छ ।

जस्तो की किरात समुदायले प्रयोग गर्ने मर्चा (जाँड पकाउने औषधी) का विषयमा कुरा गरौँ । खाद्यन्न अर्थात अन्नलाई उसिनेर मर्चा मोलेर राख्दा जाँड बन्छ । जाँडलाई उमालेर बनेको वाफ चिस्याउँदा रक्सि बन्छ । रक्सि खाँदा मान्छेलाई मात लाग्छ । मात लागेपछि अस्वस्था के हुन्छ ? त्यसैले यो खराब हो । साधरणतः आममान्छेले बुझ्ने बुझाउने कुरा यहि हो । तर यी सबै प्रकृयाको शुरुवात गर्ने औषधी मर्चा के हो ? प्रश्न उठाइएको पाइदैन । मर्चा किराती अनुसन्धानको औषधी हो । मुन्दुममा समावेश गरिएको पवित्र जल हो । जसरी हिन्दु धर्ममा सुनपानी तथा गहुँत पानीलाई पवित्र तथा शुद्ध बनाउने जलका रुपमा लिईन्छ । त्यस्तै मुन्दुम धर्ममा मर्चा प्रयोग गरेर बनाइएको रक्सिलाई पवित्र जलका रुपमा लिईन्छ । जन्मपछिको न्वरानमा बच्चालाई यहि पवित्र जल खुवाएर शुद्ध पारिन्छ । मृत्युपछि आत्म शान्तिकालागि पितृपुर्खाको साथमा जानलागि यहि रक्सी र जाँड मुखमा राखिन्छ । समाधीस्त गरिएको ठाउँमा पु¥याइन्छ । यो मौलिक संस्कार हो आदिम संस्कृति हो । मानिसका स्वास्थ्यकालागि औषधी हुने कि विष हुने यो प्रयोगका आधारमा हुने गर्छ । वैज्ञानिक अनुसन्धानले समेत सबै औषधीहरु प्रयोग गर्ने मात्राका आधारमा मात्र औषधी हुन् । मर्चा अर्थात जाँडरक्सि सामाजिक हिसाबले यो आत्मीयता जगाउने एउता पदार्थ हो । मौलिक संस्कृतिको एउटा तत्व हो । किराती सनातन संस्कृतिको नमुना र अभ्यासबाट निर्मित महत्वपूर्ण उपलब्धी हो ।

सामन्यतय मर्चा बनाउन केही जडीबुटीको प्रयोग हुन्छ । भिर पाखामा पाइने जडिबुटीको धुलो र कोदो या चामलको पिठोमा मोलेर आवश्यक विधि र प्रकृया पुरा गरेपछि मर्चा बन्दछ । तर एउटा रमाईलो पक्ष त के छ भने मर्चा बनाउनका लागि माउ मर्चा अनिवार्य रहन्छ । अर्थात वंश चाहिन्छ । जस्तो अहिले हामी जन्मनुमा बुवा आमा, बुवा आमा जन्मनु बाजे बजु, बाजे बजु जन्मनु उहाँको वुवा आमा जस्ता लामो प्रकृया रहेका छन् । यस्तै मर्चा बनाउने कुरामा समेत यहि प्रकृया रहन्छ । अरु सामग्री बनाए जस्तो तत्काल शुरुवात भएको छैन यसको सिप । यो सिप किरात कालिन सभ्यताबाट विकास हुँदै आएको छ । मर्चा बनाउने खोटाङ माक्पाका वृद्धा जितालक्षी राईले भने जस्तै यो बाजेको बाजे, बाजेको बाजे, बाजेको बाजे र बाजेहरुको पनि बाजेको पालामा बनेको हो । हाल जसले मर्चा बनाउँछन् उनीहरुले सबै कच्चा पदार्थ तयार पारेपछि त्यसमा थोरै माउ मर्चा हाल्नै पर्छ । किन भने नत्र कुहुन्छ । त्यो खान लायक बन्दैन ।

सामाजिक हिसाबले भने मर्चाको प्रयोगबाट बनेको उत्पादनलाई राम्रो मानिदैन अहिले । तर यसको प्रयोग व्यापक रहेको छ । मादक पदार्थको उपमा दिएर यसलाई प्रतिवन्ध गर्ने प्रयासहरु भईरहेका छन् । तर यी सब प्रयोगकर्तामा भर पर्ने कुरा न हुन् । किरात समुदायले मर्चाको प्रयोग बेगर कसरी आफ्नो संस्कृति धान्न सक्छ । शुद्धहुन सुनपानीको सट्टा नुनपानी प्रयोग गर्न मिल्छ । पञ्चामृत भनेर पानीमा चिनि घोलेर होला ? त्यस्तै शास्त्रीय हिसावमा किरात समुदायमा मर्चाको छुट्टै किसिमको महत्व रहेको छ । प्रयोगकर्ताले यसलाई दुरपयोग गर्ने भन्दा बढी संस्कारमा सदुपयोग गर्नु पर्दछ ।

मान्छे जन्मदा औलामा चुसाएर होस या मृत्युपछि मुखमा चुहाएर होस । यसको प्रयोग किराती जीवनमा परम्परागत मौलिक संस्कारको रुपमा रहेको छ । यतिमात्र होइन बाहिर प्रकृतिको पुजा गर्दा होस या घरभित्र पितृपुजा गर्दा होस यो अत्यन्त आवश्यक छ । कन्यादान दिँदा होस या लिँदा होस यो नभई हुँदैन । चुलामा पुजा गर्दा होस या बारीमा पुजा गर्दा होस यसको आवश्यकता पर्दछ । अझ रमाइलो त सामाजिक हिसाबमा केही तलमाथी विखुचो कसैले गरेछ भने शिर उभ्याने कुरा या माफी मिनाहा माग्ने कुरामा समेत मर्चा अर्थात यसबाट निर्मित रक्सीको प्रयोग हुने गर्दछ ।
तर यसको अधिक सेवनका कारण केही तलमाथी नभएका पनि होइनन् । पहिले पहिले किरात तथा आदीवासी मतुवाली समुदायले बाहेक अरुले यसको प्रयोग गर्दैन थिए । बाहुन क्षेत्री समुदायकालागि यो बर्जित नै थियो । विस्तारै यसको प्रयोग मतुवालीमा भन्दा तागाधारीमा बढेको छ । रक्सी खाएर अल्कोहिलक भएर बिरामी भएकाहरुपनि प्राय मतुवाली इतरकै मानीसहरु भेटिएका छन् । यो किन हुन्छ । यसको वैज्ञानिक आधार त नहोला तर तर्क गर्न सकिन्छ । तागाधारीहरुको जिनमा मर्चाको कुनै प्रवेशनै छैन । उनीहरुको शरिरले यसलाई पचाउने क्षमता नै राम्रो विकास गरेको छैन । कारण हुनसक्छ ।

राज्यले अहिले यसलाई निरुत्साहीत गराउने योजना ल्याएको छ । गाउँगाउँमा उत्पादन हुने घरेलु मदिराको नाम दिएर यसलाई नष्ट गर्ने, पोखाउने काममा राज्य लागेको छ । यो एकदमै निन्दनीय छ । हामी समृद्धीको कुरा गछौंँ । समृद्धीको कुरामा स्वदेशी उत्पादनलाई निरुत्साहीत गर्ने विदेशी उत्पादनलाई प्रोत्साहित गरिरहेका छौँ । यसले कसरी समृद्धी आउँछ । घरेलु मदिरा उत्पादन गरेर यसलाई विक्रिवितरण गरेर जिविको पार्जन गर्नेहरु नेपालमा निकै छन् । प्रत्येक गाउँमा मदिरा बन्छन । स्थानीय मर्चाको प्रयोबाट बनेको मदिरा प्रत्येक गाउँदेखि शहरहरुमा खपत हुन्छ । तर राज्य यसलाई नियन्त्रण गर्छ । गरिब गाँस खोस्न उद्धत हुन्छ । यसको विकल्पमा यसलाई नियमन गरे हुँदैन । यसलाई आंशिक करको दायरामा ल्याएर उत्पादन गर्न लगाउने । गुणस्तर मापन गर्ने र विक्रि वितरणका नियमहरु बनाएर व्यवस्थित बनाउँदा राज्यलाई के घाटा हुन्छ र ? सबैलाई जानकारी नै छ । हाम्रो मुलुकमा मात्र होइन जुनसुकै मुलुकमा समेत मदिराको प्रयोग भएकै हुन्छन् । जति ठुला मान्छे भन्नेहरुले समेत यसको उपभोग गरेकै छन् । सभ्रान्त परिवारको किचन या बैठक कोठामा विभिन्न नामधारी रक्सि र जाँड खाने र खुवाउने काम भएकै छन् । ठुला तारे होटल देखी छाप्रे होटल सम्म आयातित र केमिकल युक्त रक्सि बिक्रि वितरण भईरहेको छ । त्यो पनि कानुनीरुपमा वैधता दिइएर नै । मदिरा हानीकारक र बन्द गर्ने हो भने विदेशी ब्राण्डका रक्सि र वाइनहरु किन भित्र्याउन दिने । विक्रि गर्ने लाईसेन्स लिएकै आधारमा विष बेच्न पाइन्छ र ? हुस्की, ब्राण्डी, भोडका, वाइन, वियर आदी जे जस्तो नामका भएपनि त्यसको काम मात्ने नै हो नी हैन र ? हामीले आफ्नै घरमा बनाएको कोदो, मकैको जाँड खाँदा गैरकानुनी हुने विदेशबाट आएको वियर खाँदा कानुनी हुने हुन्छ र ? हामीले हाम्रै आमाले आफ्नै हातबाट बनाएको रक्सि खाँदा अवैध हुने तर विदेशबाट आएको रेडलेवल ब्ल्याक लेबल खाँदा बैध हुने । अझै शान बढ्ने भन्ने पनि कहिँ हुन्छ । आख्यानकार तथा साहित्यकार मदन पुरस्कार विजेता राजन मुकारुङले भने जस्तै ः रेला गर्नु हुन्छ !

Facebook Comments

Leave a Reply