जोखना र हराएको सत्य

आख्यान, कला

– भिम राई

हतपतको जोडले म काठमाडौंको रंगमञ्चहरु छिरेको छैन । गाउँमा जनसांस्कृतीक परिवारको सदस्य देखि अध्यक्ष हुँदै ताका रंगमञ्चको स्थानीय स्तरको ममा रहेका छन् । पछिल्लो समयमा बालप्रतिभा मञ्च बनाएर क्षेत्रिय स्तरको नाटकहरु मञ्चन गर्दै आएको कुरापनि ताजा नै छ । त्यसबेलाको क्रान्तिको उभारले क्रान्तिकारी नाटकहरु मञ्चन गर्नु निकै राम्रो लाग्ने गथ्र्यो नै । गाउँमा देखाइएको भुपमणी राईको नाटक ‘विधुवा’काट अभिनयको शुरुवात गरेको बबुरालाई एक ताका नाटक निकै रंग चढी सकेको थियो । बदला, वर्गयुद्ध, सायपत्री, जस्ता आधा दर्जन नाटक त आफैले लेखेर मञ्चन गर्ने दुस्साहस नै गरियो । पछि राजनीति र पत्रकारिताले झ्याप्प बाटो फेरियो । नाटक पढ्नमात्र थालिएको थियो । एक्कासी युवा कथाकार वियस राईको कथा संग्रह ‘हिउँमाझी’ बजारमा आयो । नेपाली कथाहरुको महासागरमा निकै ठुलो सुनामी बनेर । जताततै हिउँमाझीको खोजि भयो र खोजि भईरहेको छ । नेपाली साहित्यको भिडमा अनुहार नौलो वियस राई हिउँमाझीसँग बजारमा निस्केपछि उनी एकाएक स्थापित हुँदै गएका छन् । उनै वियस राईको कथासंग्रह भित्र रहेको एउटा कथा ‘जोखना’ को आधारभुमीमा नाटकको मञ्चन हुने कुरा समाचारमा सुखद भएर आएको थियो । कथाकार राईले मेरो कथाको नाटक बनाउन कलाकार तथा अभिनेत दयाहाङ राईले आग्रह गर्नु भएको छ भन्ने खबर सम्म दिएका थिए ।

मदन पुरस्कार विजेता लेखक तथा उपन्यासकार राजन मुकारुङले हिउँमाझीलाई मिहिन हिसावले बुझेका छन् । उनैले उक्त कथाको नाटकीय रुपमा ढाल्ने काम गरे । सामाजिक सञ्जालमा जोखनाको प्रचार शुरु भयो । शुरुमा नाटक फेस्टिभलमा नाटकलाई सहभागी गराईयो र चैत्र ८ गतेबाट थियटरमा नियमित मञ्चन शुरु भएको पनि समाचारहरु आउन थाले । हिउँमाझीले छोएको मनलाई जोखना हेराउनै पर्छ भन्ने लागेर अनामनगरमा रहेको मण्डला थिएटरमा पुगियो । जहाँ किरण चाम्लिङद्धारा निर्देशित नाटक ‘जोखना’ चलिरहेको थियो ।

किरातीहरु मृत्यु संस्कारलाई प्राकृतिक मान्छन् । उनहिरुको संस्कार संस्कृति र परम्पराहरुमा अत्यन्तै प्राकृतिक विस्वासहरु रहेका छन् । ‘मान्छे मरेपछि स्वर्ग’ भन्ने परिकल्पना निकै टाढा छ किरात राईहरुमा । मृत्युपछि जाने ठाउँको बारेमा यात्रा तय गर्ने मध्यस्तकर्ताको रुपमा नोक्छुङको प्रयोग हुन्छ । धामी सेलेमी र कुविमी दुई प्रकारको हुने भएपनि बाटो लगाउने मृत्यु अनुसार सेलेमी या कुविमीले लगाउनु पर्दछ । यसै मेसोमा जोखनामा सेलेमीको प्रयोग भएको छ । नाटकको केन्द्रीय पात्र हुन् जसे । राजनीतिक द्धन्द्धको बेला साकेला नाच्न गएको जसे एकाएक गाउँबाट बेपत्ता हुन्छ । घरबाट साकेला नाच्न जाँदा ढोल काँधमा हालेर रातोभाले बोकेर भुमे पुज्न गएको जसे बेपत्ता हुँदा निकै ठुलो देशमा चरम द्धन्द्ध रहेको छ । र त्यही द्धन्द्धकै क्रममा जसेलाई कसैले कतै वेपत्ता बनाउँछ ।

यता परिवारमा जसेको सानो छोरा निछा र श्रीमती धनुसुवाले जेनतेन जविन धान्दै सम्झीने बाहेक के गर्न सक्छन् र ? अरुले जे गर्छन त्यही गर्नु उनहिरुको बाध्यता हो । पछि एक्कासी जसे मरेको हल्ला चलाईन्छ । बेलाबखत भाउजुकोमा आएर जिस्काउने जसेको भाईले नै यो हल्ला शुरु गर्छ । हल्ला सुनेपछि धनसुवाले सेलेमीलाई जोखना हेराउँछि धागोमा हेरिएको जोखनाले जसे नभएको कुरा सेलेमीले भन्छ । त्यही कुरालाई आधार मानेर गाउँका वात्वुङहरुको सल्लाहा हुन्छ । र जसेको अन्तिम काजक्रिया स्वरुप जसेलाई सेलेमीले ढोल ढ्याङग्राका साथ चिन्ता बसेर बाटो लगाउँछ ।

राजनीतिक हिसाबले द्धन्द्धको व्यवस्थापन हुन्छ । धनसुवाको छोरा निछा दुःखलाई सुःखमा बदल्न लाहुरको सपना बोकेर घर छोड्छ । विस्तारै गाउँमा विकासका कामहरुले प्राथामिकता पाउँछन् । गाउँमा सडक खन्ने यातायातको साधन भित्र्याउने सपनाहरुको विजारोपण हुन्छ । जसो तसो गाउँमा हाँसो खुशी र ठट्टा मसला चलिरहेकै हुन्छ । यसैबेला बेपत्ता जसे गाउँमा आईपुग्छ । संस्कार अनुसार काजक्रिया गरिसको मान्छे फर्केर आएपछि सबै मुखामुख हुन्छन् । आफुलाई निछाम्पा हुँ भन्ने परिचय दिदै आएका जसेले जब आफु मरिसकेको र आफ्नो क्रिया कर्म समेत सकिसकेको कुरा थाहा पाउँछ । उ गाउँबाट फेरी जुनबाटो आयो त्यही बाटा फर्किन्छ । खास कथा यहि हो । र हेरिएको पनि यती हो ।

जोखना हेरिसकेपछि नेपालमा राजनीतिक द्धन्द्धले आदीवासी जनजातीहरुको संस्कृतिमाथी कति प्रहार गरेको रहेछ भन्ने प्रश्न उठाएको छ । जसेले नाचेको किरात राई समुदायले नाचेको साकेलाबाट कति जसेहरु यसरी बेपत्ता पारिएका होलान ? प्रश्न उठ्छ । ती बेपत्ताहरु के कस्तो अवस्थामा होलान ? संस्कार अनुसार उनीहरुलाई मृत या जीवित के भन्ने ? गम्भिर कुराको उठान नाटकले गरेको छ । यतिबेला राजनीतिक हिसाबले बेपत्ता भनिएको भोजपुरका नविन राईहरुको याद आउने रहेछ ।

नाटकमा गाउँमा चलेको हल्ला र सेलेमीको जोखनाको आधारमा जसेलाई बाटो लगाइयो तर जसे मरेकै थिएन । सेलेमीको जोखना झुट देखियो । यसले किरात राईहरुले विस्वास गर्ने संस्कारमाथी शंकाको बीउ रोपेको छ । सेलेमीले हेरेको जोखाना र उसले लगाएको बाटो कीन सत्य रहेन । यसको जवाफपनि नाटकको संवादमै आएको छ । जुन मुल विषयका रुपमा नाटकमा चित्रण गरिन्छ । किरात राईहरुले पुज्ने तीनढुँगा गाडेर बनाइएको चुला (सुप्तुलुङ)ले अदृष्य वचन दिन्छ । सत्यता हरायो । प्रकृतिलाई पुज्न छाडेपछि आफ्नो संस्कारहरु त्याग्न थालेपछि मानिसमा सत्यता डग्दै जान्छ । सेलेमीपनि अन्तिम सत्य थिएन । तर सबैले मान्दै आएका भए सत्य कुनै हालतमा डग्दैन थियो ।

नाटकमा किराती परम्परा जो छ । सजिव लाग्नेगरि उठाइएको छ । खोलाबाट बग्दै बग्दै गएको माछापनी समुन्द्रमा पुगेपछि फर्किन्छ । हिमाललाई चटक्कै नाघीजाने क¥याङ कुरङपनि फर्कि आउँछ । भने त्यो समय कसो नआउला आशावादी बनाउँछ । यस भित्र प्रयोग भएको प्रत्यक्ष संगीत, लोरीको भाका, पात्रहरुको जीवन्त प्रस्तुती, काम गर्दा गरिने हाँसी मजाक सबै उतिकै मिठासमा छन् ।

कथाकार वियस राईले सोलु सल्यानको पृष्ठभुमीमा बसेर कथा लेखे । मुलकथामा प्रयोग भएका शब्दहरु कथाकार राईको मातृभाषा प्रभावित छन् । उनी थुलुङ राई बाहिङ समुदायमा हुर्किएका । उनको कथाले ती केही कुरा बोक्नु पर्छ नै । कथामा आएको भुगोल नै नाटककलागी भर्जिन भुगोल हुने थियो । यद्धपी कथाको नाटकीय रुप लेखक तथा उपन्यासकार राजन मुकारुङको हातमा परेको प्रत्यक्ष भान हुन्छ । त्यहाँको परिवेश र बान्तावा भाषाको प्रयोगले फरकभाषी दर्शकहरुलाई बुझन अलिक गारो बनाउँछ नै । किराती थिममा नाटकको निर्देशन किरण चाम्लिङ गरेका छन् । यो पनि कम चानचुने कुरा रहँदै रहेन । नाटकमा रहेका संगीता थापा, रूपेश लामा, सञ्जीव राई, मनहाङ लावती, अनील सुब्बा, पवित्रा राई, निशा पाख्रिन, कवि राई, सुदर्शन क्षेत्री, दिवान रसाइली र मनीकुमार राईको अभिनयले कथाको मर्मलाई टपक्क टिपेर शिरमा पु¥याई दिएको छ ।

नाटक बैसाख ८ गते सम्म प्रदर्शन हुने मण्डला थियटरले जनाएको छ ।

Facebook Comments

Leave a Reply