किरात राई यायोक्खामा फेरीपनि राजनीतिक चलखेल

समाचार, समाज

फागुन २०, धरान । किराती राई समुदायको साझा संगठन किरात राई यायोक्खाको धरानमा जारी ‘१० औँ महाधिवेशन’ मा को अध्यक्ष भन्नेबारेमा चलखेल शुरु भएको छ । हिजोदेखि शुरु भएको बन्दसत्रमा यायोक्खाको भावि नीति र कार्यक्रमको भन्दा बढी कुनदलको कसलाई अध्यक्ष बनाउने भन्ने बहस चलिरहेको छ । नेतृत्व चयनको प्रक्रिया शुरुहुनै लाग्दा यायोक्खाका अगुवाहरु कोठेभेलामा व्यस्त हुन थालेका हुन् ।

स्रोतका अनुसार अहिले अध्यक्षमा तीन जनाको दाबी देखिएको छ । वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय दिवस राई, गेन राई तथा महासचिव जीवन हाताछो अध्यक्षका दाबेदारका रुपमा अगाडि देखिएका छन् । यायोक्खाको कार्यबाहक अध्यक्ष समेत भएर काम गरेका दिवसलाई नेकपाको समर्थन रहेको बुभिएको छ । उनी तत्कालिन एमालेका किरात राई लोकतान्त्रिक संघको अध्यक्ष समेत रहेका व्यक्ति हुन् । आदीवासी जनजाती प्रतिष्ठानको सरकारी जागिरे समेत रहेका उनको मक्सद एकपटक अध्यक्ष हुने रहेको बुभिएको छ । तर उनका बारेमा सरकारी कर्मचारी भएर साझा संस्थाको नेतृत्व गर्न नसक्ने प्रतिनीधिरुको बुझाई रहेको महाधिवेशनमा सम्मलित एक पदाधिकारीले बताए । ‘यायोक्खाले उठाएको पहिचानको मुद्धालाई दिवस नेतृत्वले हाँक्न सक्तैन ’ उनले भने, ‘ सरकारको नुन खाएर सरकारको विरुद्धको आन्दोलन कसरी उठ्ला र?’

उता वर्तमान महासचिव जीवनलाई भने वर्तमान अध्यक्ष तिलक राईको दह्रो समर्थन रहेको छ । उनी कांग्रेस निकट मानिन्छ । उनलाई अध्यक्ष बनाउने लाईनमा लागेका अध्यक्ष तिलकको भुमिकाको कारण उनको सम्भाव्यता समेत न्युन रहेको प्रतिनीधिहरुको गुनासो रहेको छ । अध्यक्षले मौजुदा समितिमा रहँदा प्रभावकारी काम गर्न नसकेकाले उनले विस्वास गरेको मान्छेको कुनै भर नहुने उनीहरुले बताए । वर्तमान अध्यक्ष तिलक कांग्रेसको नेता हुन् । उनले यायोक्खाको अध्यक्षकै हैसियतले गत स्थानीय निर्वाचनमा धरान उपमहानगर पालिकाको मेयर पदमा उमेदवार बन्न सफल भएका थिए । धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधन पछि हुन लागेको उप निर्वाचनमा आफुलाई बलियो उम्मेदवार बनाउन उनले जीवनलाई अध्यक्ष बनाउन मरिहत्ते गरेको प्रतिनिधीहरुको आरोप छ ।

यायोक्खाको महाधिवेशनका अर्का दावेदार देखिएको गेन राई लामो समय देखि समाज सेवामा रहेका व्यक्ति हुन् । उनी संघीय समाजवादी फोरम निकट छन् । गत स्थानीय निर्वाचनमा लिम्चिमबुङ गाउँपालिकाको अध्यक्षका उमेद्वार रहेका गेन राईलाई समर्थन गर्नेहरु रहेपनि उनी आफै भने दोधारमै रहेको बुझिएको छ । महाधिवेशनमा आएका उनी निकट एक प्रतिनिधिले भने– ‘खै हामीले त अघि बढ्नोस् जे पर्ला लडौँ भनेको हो । तर उहाँ आफैँ अघि बढ्ने नबढ्ने दोधारमा हुनुहुन्छ ।’

गेनलाई दिवसले काठमाडौमै भेटेर आफ्नो पक्षमा पारिसकेको चर्चा पनि सम्मेलन स्थलमा सुनिन्छ । जीवन पनि वर्तमान अध्यक्षको पेलानको कारण मात्र अघि बढेको बुझिएको छ । वर्तमान अध्यक्ष तिलक कांग्रेस निकट र जीवन पनि कांग्रेस निकट भएकोले जसरी पनि अध्यक्षमा दाबी नछोड्न उनलाई दबाब परेको सम्मेलन स्थलामा चर्चा छ ।

Facebook Comments

Leave a Reply