होमस्टेले कायापलट

Slider, अर्थ, पर्यटन

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ वडामा ५ वर्षदेखि सञ्चालनमा आएको अमलटारी मध्यवर्ती होमस्टे देशभरकै समाज रूपान्तरण गर्ने समुदायका लागि उदाहरणीय बनेको छ । होमस्टेबाट स्थानीयको जीवनयापनमा नचिताएको आर्थिक समृद्धि भइरहेको छ ।

५ वर्षअघिसम्म हातमुख जोर्न धौधौ पर्ने यहाँका थारु र बोटे समुदायले होमस्टे सुरु गरेपछि जीवनमा कायापलट भएको छ । दैनिकी फेरिएको छ । बेफुर्सदिला छन् । आर्थिक रूपले समृद्ध बनेका छन्, त्यो पनि घरमै बसेर । महेन्द्र राजमार्गको नारायणगढबाट ३२ किलोमिटर पश्चिममा पर्छ कावासोती । डन्डा बजारबाट ७ किलोमिटर दक्षिणमा थारु र बोटे समुदायले सञ्चालन गरेको अमलटारी मध्यवर्ती होमस्टे छ । “वनजंगल र वन्यजन्तुको संरक्षण हामीले गर्ने र करोडौँ लगानी गर्नेले व्यवसाय गरेर नाफा कमाउने भन्ने सोच्थ्यौँ,” होमस्टे सञ्चालकमध्येका नरबहादुर महतो भन्छन्, “यहाँका ठूला होटलका हात्ती चराउने, कपडा धुने, सागसब्जी किन्न जाने र होटल सफाइमा काम गर्दैमा एउटा पुस्ता बित्यो । हामीले केही गर्नैपर्छ भन्ने लाग्यो । समुदाय मिलेर ०७० मा होमस्टे थाल्यौँ ।”

सुरुमा होमस्टे सञ्चालनको अनुभव नहुँदा बर्दियाको डल्लामा सञ्चालित होमस्टे व्यवस्थापन हेरेर गाउँकै महिला र पुरुष मिलेर काम थालेको उनको भनाइ छ ।

“अहिले देशभरबाट हाम्रो होमस्टे सञ्चालनको अनुभव सिक्न आउँछन् । हरेक साता देशभरबाट नयाँनयाँ समूह विभिन्न तालिम, सेमिनार, गोष्ठीका कार्यक्रम लिएर आउँछन् र यहाँको आनन्द लिएर फर्किन्छन्,” महतो खुसी साट्छन् ।

पछिल्लो पटक सामुदायिक वन, आमा समूह, गाउँपालिका, नगरपालिका, स्कुल, कलेज समूहबाट महिनौँअगाडि होमस्टे बुकिङ भइसक्छ । यहाँ थारु समुदायका २१ र बोटे समुदायका ३ वटा होमस्टे छन् । होमस्टेका हरेक घरमा २–२ कोठा र ४ वटा बेड छन् । होमस्टेमा स्थानीय परिकार माछा, हास, कुखुरा, अर्गानिक स्थानीय उत्पादन तरकारी, घोगी, चिचर मकै प्रख्यात छ । यहाँ आउनेले डिलक्स होटलको बसाइ र खानपिनको अपेक्षा गर्दैनन् । खाना हरेक होमस्टे सञ्चालकको घरको भुइँमा गुन्द्रीमै बसेर खाने चलन छ । कोठाको ६ सय, सादा खानाको १ सय ३० र मांसाहारी खानाको २ सय ५० रुपैयाँ तोकिएको छ । होमस्टेमा स्थानीय थारु, बोटे, माझी तथा मुसहर समुदायमा प्रचलित नृत्य र बाजागाजा हेर्न पाइन्छ ।

यहाँको होमस्टेमा बास बस्न आउनेमध्ये छेवैमा रहेको मध्यवर्ती सामुदायिक वनजंगल र वन्यजन्तु अवलोकन गर्छन् । होमस्टेसँगै दक्षिणतर्फ जोडिएको मध्यवर्तीमा देखिने प्राकृतिक मनोरम र वन्यजन्तु अवलोकन आकर्षणले बर्सेनि विदेशी पर्यटकको चाप पनि बढ्दो छ । हात्ती सफारी, गाडामा जंगल हेर्न, पैदल मार्ग, जीप सफारी मुख्य आकर्षण हुने गर्छ । यहाँको गुन्द्री ढकाह मध्यवर्ती, नमुना मध्यवर्ती, कृष्णसार मध्यवर्ती सामुदायिक वन र शान्तिकुन्ज मध्यवर्ती सामुदायिक वनले धेरैलाई लोभ्याउने गरेको छ ।

समुदायबाट व्यवस्थापन गरिएका ४ वटा जंगलमा हरेक दिन गैँडा देख्न पाइन्छ । एउटौ थलोमा २३ वटासम्म गैँडा फेला परेको सम्झिन्छन्, होमस्टे व्यवस्थापक धनिराम महतो ।

सबै वन चितवन निकुन्जसँगै जोडिएका र नारायणी नदीकिनारमा रहेकाले धेरै आगन्तुकको मन मोहित हुने गर्छ । त्यसो त, यहाँ होमस्टे सञ्चालन भएपछि वैदेशिक रोजगारीमा जानेको संख्या पनि घट्दो छ । गएकाहरू पनि फर्किएर होमस्टे व्यवस्थापनमा रमाउन थालेका छन् । मासिक कम्तीमा २५ देखि ४५ हजारसम्म हरेक घरले आम्दानी गर्दै आएको धनिरामको भनाइ छ । होमस्टेमा पाहुना बन्न आउनेहरूलाई स्थानीय महिलाले फूलमाला र अबिर लगाएर स्वागत गर्छन् । होमस्टेले आम्दानी दिन थालेपछि दैनिक, मासिक बचतले हरेकको घरव्यवहार सहज भएको छ । ऋणका लागि ३ लाखसम्म बिनाधितो उनीहरूले नै सञ्चालन गरेको हमार दिगो विकास सहकारीबाट पाउने गरेका छन्, त्यो पनि वार्षिक ६ प्रतिशतको सहुलियत ब्याजमा ।

पाहुनाहरू आफूखुसी घर रोजेर बस्न भने पाउँदैनन् । घरघरै पालैपालो बस्नुपर्ने नियम बनाएका छन् । समूहमा जाने आम्दानी महिनाको अन्तमा दामासाहीले भाग लगाइन्छ । ५ वर्षे अवधिमा यहाँको होमस्टेमा ६० हजार ५ सय २१ पाहुना बसेका छन् । तीमध्ये विदेशीको संख्या ६ हजार रहेको सञ्चालक महतोले जानकारी दिए ।

“हरेक दिन देशभरबाट बुकिङ आएको आयै गर्दा रद्ध गर्नुपर्ने बाध्यता छ,” व्यवस्थापक धनीराम भन्छन्, “कतै प्रचार गरिएको छैन । आउनेहरूले नै सन्तुष्ट भएको जानकारी दिने गरेका छन् ।”

-नारायण शर्मा/नेपाल साप्ताहिक

Facebook Comments

Leave a Reply