तान्त्रिक डकर्मीले मात्र बनाउन सक्छन् स्वयम्भूको शान्तिपुर

समाचार

स्वयम्भू, संस्कृतमा यसको अर्थ हो आफैं उत्पत्ति भएको भूमि।

विश्व सम्पदा सूचिकृत स्वयम्भू वरिपरि हामी विभिन्न मन्दिर देख्छौं। उत्तरतर्फको ओरालो लाग्ने हो भने बाटैमा एकतले छानो लगाएको मन्दिर छ। त्योमन्दिरको नाम ‘शान्तिपुर’ हो।

यो मन्दिर एउटा गोप्य मन्दिर हो। यहाँ जोकोहीलाई प्रवेश अनुमति छैन। तान्त्रिक दिक्षा पाएका व्यक्ति मात्रै जान सक्छन्।

यस्तो विशेष मन्दिर ०७२ सालको भुइँचालोमा जिर्ण भयो। स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति दुई वर्षदेखि मन्दिर जिर्णोद्धारमा जुटेको छ। तै सकेको छैन। जिर्णोद्धारमा मुख्य समस्या नै मन्दिरको विशेषता बनेको छ। अर्थात् यहाँ जोकोही प्रवेश गर्न पाउँदैन। आवश्यक जनशक्ति फेला पार्न सजिलो नभएकाले काम ढिलो भएको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धचार्य बताउँछन्।

‘यो मन्दिरमा दिक्षा पाएका व्यक्ति मात्रै प्रवेश गर्न पाउँछन्। जो पायो उही प्रवेश गराउनै मिल्दैन। दिक्षा पाएका डकर्मी खोज्नै एक वर्ष लाग्यो,’ महेन्द्ररत्नले भने, ‘पाटनमा दिक्षा लिएका पाँच डकर्मी फेला पार्यौं। उनीहरूले गुह्य पूजा गर्ने तलाका काम गर्छन्। बाँकी काम गर्ने अरू १३ कामदार छन्।’

इँटा र माटोबाट बनेको यो मन्दिर हेर्दा एकतले देखिन्छ। तर तीन तला छ। दुई भूमिगत तला छन्। यी तला भुँइचालोमा पुरै भत्किएका छन्।

यो मन्दिरको तन्त्र शक्तिबारे किम्बदन्ती छ। जसअनुसार शान्तिकराचार्य नाम गरेका तान्त्रिक मन्दिरको तल्लो तलामा ध्यान गर्न गएछन् ।

शान्तिपुरमा भएको भित्तेचित्र

‘केही समस्या भए मलाई भेट्नू। सबै समस्याको सामाधान मसँग छ,’ यति भनेर उनी ध्यानमग्न भए। तर उनलाई भेट्न कोही आएनछन्। कसैलाई आफ्नो आवश्यकता नभएको ठानेर उनले पनि ढोका बन्द गरेर ध्यान गर्न थालेछन्। यसपछि उनी त्यहीँ रहेको जनविश्वास छ।

मान्छेहरू तान्त्रिक शान्तिकराचार्य अझै पनि तल्लो तलामा ध्यान गरिरहेका छन् भन्ने विश्वास राख्छन्। त्यही विश्वासका साथ केही समस्या आएमा सामाधान हुने मान्यताका साथ शान्तिपुरमा पूजा गर्छन्।

समस्या समाधानबारे पनि उदाहरण छ। मल्लराजा प्रतापको समयमा काठमाडौंमा खडेरी परेछ। पानी नपरेपछि राजा प्रताप समाधान खोज्दै स्वयम्भू आइपुगेछन्। त्यहाँका गुरुहरुले शान्तिपुरमा एउटा पवित्र पुस्तक छ। त्यसलाई आकाशतर्फ देखाए पानी पर्ने सुझाएछन्। राजाले त्यसै गरे। पानी पर्यो।

शान्तिपुरमा दिक्षा लिएका व्यक्ति मात्रै प्रवेश गर्न पाउने भएकाले राजाले पनि दिक्षा लिनुपर्ने थियो। यसैले स्वयम्भूको दायाँ र बायाँ ‘प्रतापपुर’ र ‘अनन्तपुर’ नाम गरेका दुई स्मारक बनाए।

‘प्रतापपुरमा बसेर प्रताप मल्लले दिक्षा लिएका थिए। अनि मात्रै मन्दिर भित्र प्रवेश गरे,’ महासमितिका उपाध्यक्ष ज्ञानु लामाले भने, ‘अनन्तपुर भने उनले आफ्नी श्रीमती अनन्तप्रियाको नाममा बनाएका हुन्।’

उपाध्यक्ष लामाका अनुसार प्रत्यक महिनाको दुई पटक स्वयम्भूको थकाली र काठमाडौं मखनको बुद्धचार्य पुरोहितले मन्दिर पूजा गर्छन्। त्योबाहेक वर्षको दुईपटक अश्विन पूर्णिमा र माघ पूर्णिमामा मन्दिरमा ठूलो पूजा हुन्छ।

मन्दिरमा पहिले टिनको छानो रहेछ। मन्दिर कुनै भण्डार घर जस्तै देखियो भनेर भुइँचालोको दुई वर्षअघि मात्रै तामाको पाता हालिएको थियो। पुरातत्व विभागले जिर्णोद्धारका लागि ३ करोड ४० लाख रुपैयाँ दिएको छ।

‘मन्दिरभित्र प्रवेश गर्न नमिल्ने भएकाले बाहिरी क्षति मात्र हेरेर बजेट दिइएको थियो,’ लामाले भने, ‘दुई करोड जति सकिइसक्यो। धन्न स्थानीय स्रोतसाधन प्रयोग गरेकाले बजेट जेनतेन पुग्ला जस्तो देखिन्छ। मन्दिर निर्माणमा पनि हामीले परम्परागत सामग्रीलाई नै प्राथमिकता दिएका छौं।’

सबै काम सक्न अझै केही समय लाग्ने उनी बताउँछन्।

यो मन्दिरका भित्तामा चारैतिर चित्र थिए। भुइँचालोले उत्तरी भागका चित्र पूर्ण क्षति पारेको थियो। युनेस्कोले पुरातत्व र स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमितिको साझेदारीमा अन्य भित्तेचित्र संरक्षण गरेको छ। मन्दिरमा पुनः प्रयोग गर्न नमिल्ने भएपछि यसलाई निकालेर छाउनी संग्रहालयमा संरक्षणनिम्ति राखिएको छ।

यहाँका भित्तेचित्रले स्वयम्भू पुराण, महायानाका कथा र काठमाडौं उपत्यकाको जनजीवन र सभ्यताको कथा झल्काउँछन्। त्यसको तल अक्षर कुँदेर चित्रको वर्णन पनि गरिएको छ। त्यही चित्रमध्ये एकले स्वयम्भू उत्पत्तिको कथा भन्छ।

स्वयम्भू पुराणअनुसार काठमाडौं पहिले ठूलो ताल थियो। बोधिसत्व मञ्जुश्रीले यहाँ राम्रो बसोबास हुन सक्ने देखेर चोभार डाँडो काटेर पानी बाहिर पठाए। त्यसपछि, काठमाडौं उपत्यका निर्माण भएको मानिन्छ। त्यहीमध्येको एक भागमा कमलको फूल उत्पत्ति भएको थियो। त्यो फूल भएको स्थानमा पछि पहाड बन्यो। यही पहाडलाई स्वयम्भू भनेर चिनिन्छ।

स्वयम्भूलाई कपिलवस्तुमा भेटिएको स्तुपपछिको सबैभन्दा पुरानो स्तुप मानिन्छ। महासमितिका उपाध्यक्ष ज्ञानु लामाका अनुसार गोकर्ण र हाँडिगाउमा भेटिएको शिलालेखमा यसको वर्णन छ।

(सेतोपााटी)

Facebook Comments

Leave a Reply