कविता : रातो घाम

अरुणिमा, कविता


– भिम राई ‘सर्वहारा’

ए साथी !
पश्चिम रुकुम र रोल्पाबाट
उदायएको त्यो रातो घाम
अलमलियो की कतै पसेर
रोकियो निकै अग्लो पहाडले छेकेर
लुकायो की कसैले घरमा
समातेर राखिन जलजलाले
छाडेनन् कि के धौलागीरीले
किन आएन होला किरण बनेर
सबै न्यानो, तातो आनन्दमय
जीवन दिनलाई

ए साथी !
भालुवाङ र थवाङहरुमा
रहेका ति निष्पट्ट कालो अँध्यारो चिर्दै
समाजवाद र साम्यवादको लामो यात्रामा
निस्केको त्यो सुन्दर घाम
डोल्पा, दुनै हुँदै सोलुसल्लेरी
र भोजपुरको घोरेटार
सिराहाको लाहान सम्म
आइपुग्न लागेकै बेला
त्यतै कतै रोकियो
त्यसै कहिँ हरायो

ए साथी !
साँच्चै भनन के तिमिलाई थाहा छ
त्यो रातो घाम
कता आईपुग्यो ?
कहाँ रोकिएको छ
कसले अलमलाई रहेको छ
हामीलाई पनि चाहिएको छ
अलिकती न्यानो
अलिकति तातो
हामीले पर्खेका छौँ
ताजा किरणको मुलायम स्पर्श

घाम न हो
कसलाई इच्छा हुन्न
कालोरातमा विहानीको स्वादिलो तापको
उज्यालो सँगै साँचिएका हुन्छन
सुन्दर सपनाहरु
अझै रातोघाम सँग साटिएका सपना
त्यही सपनाका खातिर
सयौँ समसाँझ मसाल बालीयो
कँयौ अन्धकारमा
जुनकिरीको प्रकाश पछ्याइयो
पूर्वको गाउँ वस्ती वस्तीमा
राँको सल्काउन आव्हान गरियो
पूर्वमापनि उदाउँदै छ रातोघाम भनेर
खै आएन त ती
रातो घाम
न्यानो र पारिलो घाम

कि साथी !
रोकेर राख्यो तिमिले नै
कि निभ्यो घामको राप
कि अस्तायो विच बाटो मै
कि छेक्यौ तिमिले बादल बनेर
कि सहनै नसक्ने प्रचण्ड गर्मिले डढायो
रातो घाम ताप्ने हाम्रा कलिला सपनाहरु

Facebook Comments

Leave a Reply