पहाडमा समाजशास्त्र पढ्नेको संख्या बढ्दो

शिक्षा, समाचार

एविसि खबर

खोटाङ । पूर्वि पहाडी जिल्ला खोटाङमा मानविकि संकाय अन्तर्गत समाजशास्त्र विषयको स्नातकोत्तर तह पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । जिल्लाको दिक्तेल बहुमुखी क्याम्पसले यसै शैक्षिक सत्रबाट शुरु गरेको समाज शास्त्र विषयको स्नातकोत्तर (एम ए) को सेमेस्टर प्रणाली अन्तर्गतको कार्यक्रममा विद्यार्थीहरुको उपस्थिती राम्रो देखिएको हो ।

क्याम्पसमा समाजशास्त्र विषयको अध्यायपन हुने भएपछि क्याम्पसका पूर्व स्ववियु सभापति देखि पत्रकार महासंघका नेताहरु समेतले अध्ययन गर्न थालेका छन् । सोही क्याम्पसमा स्ववियु सभापति जितेका र प्राध्यापन समेत गरिसकेका टंक थापा अहिले समाज शास्त्रका विद्यार्थी हुन् । पेशाले राजनीतिकर्मीका रुपमा रहेका उनी गएको प्रदेश सभा सदस्यको निर्वाचनमा खोटाङ जिल्लाको प्रदेश ‘ख’ बाट पराजीत संघीय समाजवादी फोरमका उम्मेदवार समेत हुन् । उनले नेपाली विषयमा यस अघीनै एमए पास गरिसकेका छन् । यस्तै सोही क्याम्पसमा पढाउँदै आएका रविन सुनुवार पनि समाजशास्त्रका विद्यार्थी हुन् । उनले समेत अंग्रेजी विषयबाट (एमए) गरेका छन् । जिल्लाका चर्चित पत्रकारहरु दमन राई, रामधन राई, सुर्य तामाङ अहिले समाजशास्त्रका विद्यार्थीका रुपमा नियमित क्याम्पसमा भेटिन गरेका छन् । आफ्नै ठाउँमा आफुले रोजेको विषयमा अध्ययन गर्न पाइने भएपछि जिल्लाको शिक्षक तथा कर्मचारीहरुले समेत क्याम्पस जाने उत्सुकता देखाएका हुन् ।

जिल्लाकै क्याम्पसमा समाज शास्त्र जस्तो विषयको पढाई हुने भएपछि शुरुमा ७३ जना प्रवेश परिक्षामा सामेल भएका थिए । जसमध्ये ५७ जना विद्यार्थीले भर्ना गरेकामा ४३ जना विद्यार्थीले पहिलो सेमेष्टारको परिक्षा दिने भएका छन् । पहाडी जिल्लामा संचालन गरिएको सेमेष्टार प्रणालीमा यति विद्यार्थी हुनु निकै राम्रो मानिने क्याम्पस प्रमुख हिराकुमार राईले बताए । पहाडी क्षेत्रमा विद्यार्थीको यो उपस्थितीकै कारण परिक्षा केन्द्र खोटाङमै ल्याउन सफल भएको उनको भनाइ थियो ।

विद्यार्थी र प्राध्यापक विच छलफलमा आधारित शिक्षण विधिबाट कक्षा संचालन हुँदै आएका क्याम्पस प्राध्यापक देवकुमार राईले बताए । ‘उहाँहरुले नै विषय लिनु हुन्छ तयारी गर्नु हुन्छ र आएर कक्षामा प्रस्तुत गर्नु हुन्छ’ राईले भने प्राध्यापकको काम त सहजीकरण गर्नेमात्र हो ।
मानविकि संकाय अन्तर्गतको समाजशास्त्र विषयको पहिलो सेमेष्टारको परिक्षा आगामि भदौ १७ गतेबाट हुने क्याम्पसले जनाएको छ ।

Facebook Comments

Leave a Reply