किरातीम्मा गायन समुहले किरात संग्राहलय लागि दुई लाख हस्तान्तरण

समाचार, समाज

काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौंमा आएर संगीतक्षेत्रमा निरन्तर लागिरहेका किराती गायीकाहरुको समुह किरातीम्मा गायन समुहले किरात संग्राहलय निर्माणका लागि दुई लाख रुपैया नगद हस्तान्तरण गरेको छ । खोटाङ जिल्लाको उत्तरी क्षेत्र ऐसेलुखर्क गाउँ पालिका ५ रिब्जुङमा निर्माण भईरहेको किरात संग्राहलयका लागि उनीहरुले रकम प्रदान गरेका हुन् ।
किरात राईहरुको एतिहासिक संग्राहलय निर्माण गर्ने अभियानमा लागेका निर्माण संयोजक खुक्सङ खम्बुलाई सो रकम हस्तान्तरण गर्दै किरातीम्मा समुहका गायीका पार्वती राईले पवित्रकार्य हुन गईरहेको जानकारी प्राप्त भएपछि सो रकम हस्तान्तरण गरिएको बताए । केही समय अगाडि किरातीम्मा गायीकाहरुको सानो जमघटबाट समुह निर्माण गरेर विभिन्न समयमा आर्थिक सहयोगहरु जुटाउँदै आएको समुहले सामाजिक अभियानमा सामेल हुँदै आएको हो ।
आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा संग्राहलय निर्माण समितिका संयोजक खुक्सङ खम्बुले किराती चेलीहरुको सहयोगको प्रशंसा गर्दै आफुलाई तायामा खियामाले आफ्नो माईति रेछाकुले –खक्चिलिक्पा) लाई टुहुरा अवस्था सहयोग गरेर हुर्काएको बढाएको कथा जस्तै अनुभुत भएको सुनाएका छन् । उनले भने ‘म भावुकपनि भएको छु ।’ संग्राहलय निर्माणको प्रगतीको कुरा सुनाउँदै उनले यसैवर्ष एकतला अनिवार्य निर्माण भईसक्ने बताएका छन् ।
हस्तान्तरण कार्यक्रममा किरात राई यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राईले किरातीम्मा समुहले राम्रोकामको शुरुवात गर्दै एतिहासिक कामका लागि रकम प्रदान गरेकोमा बधाई दिएका छन् । यस्तै वरिष्ठ कवि तथा गीतकार भुपाल राईले किरात राईहरुको संग्राहलय निर्माण हुनलागेकोमा खुशी व्यक्त गर्दै रकम प्रदान गर्ने किरातीम्मा समुहका सबै टोलीलाई बधाई तथा धन्यवाद दिएका छन् । उनले किरातीम्मा समुह एक चलयामान कलाकारहरुको समुह भएकोमा खुशी ब्यक्त गर्दै यसलाई कलाकारहरुमा विशेष शक्ती समेत रहेको चर्चा गरेका छन् । उनले कला र संगीत भावानामात्र होइन शक्तीपनि हो भन्ने कुराको प्रमाणीत छोटो समयमा किरातीम्मा समुहले गरेको विचार राखेका छन् ।
समुहमा किराती गायीका पार्वती राई, सत्यकलाई राई, सरला राई, कला राई, राधा राई, बेनुका राई, ममता राई, तायाहङमा राई, मेनुका राई, निलम रोजु थुलुङ र जानुका राई रहेका छन् । यस अघि समेत उक्त समहले खोटाङ जिल्लाको हलेसीमा आगोलागी पीडितहरुलाई नौ लाख रुपैया बराबरको सहयोग गरिसकेको छ ।

Facebook Comments

Leave a Reply