साझा नाम किरात प्रदेश : भिम आचार्य

राजनीति, समाचार

एबिसी खबर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा १ नम्बर प्रदेशका प्रदेशसभा सदस्य भिम आचार्यले प्रदेश १ को नामाकरण गर्दा किरात प्रदेश सबैको साझा नाम हुन सक्ने बताएका छन् । उनले किरात एउटा जाति नभएर भूगोल, इतिहास, सभ्यता र संस्कृति भएको भन्दै किरात प्रदेश नाम राख्दा कुनै आपती नहुने प्रष्ट पारेका छन् ।

किरात राई विद्यार्थी संघले काठमाडौंमा शनिबार आयोजना गरेको केन्द्रिय समितिको दोस्रो बैठकको उद्घाटन गर्दै उनले भने ‘‘मिथिला प्रदेश, किरात प्रदेश भन्ने चिज चाहिँ गर्न सकिन्छ, यो राम्रै हुन्छ,।’ सबैलाई मिलाउने राम्रो नाम हुन सक्ने बताउँदै उनले यो मुद्धा निकै पेचिलो भएको स्विकार गरेका छन् । सिंगो किराती समुदायले नामको विषयमा जुनकुरा उठाएका छन् यो निकै सान्दर्भीक रहेका भन्दै नाम भन्दा पनि अझ काममा ध्यान दिन समेत सुुझाएका छन् । किरातीहरुको मौलिकता, साँस्कृतिक तथा धार्मिक अवस्थाको बारेमा भइरहेको क्षयीकरणको बारेमा चिन्ता व्यक्त गर्दै उनले यसको संरक्षण र प्रर्वद्धनमा लाग्न समेत आग्रह गरेका छन् ।

बैठकमा उपस्थित अगुवा राई विद्यार्थीहरुलाई ‘किरात प्रदेशको औचित्य’ विषयक अन्तरक्रियात्मक प्रशिक्षण समेत रहेको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका आचार्यले किरात भनेको जातिगत हैन, इतिहासको कुरा हो, सभ्यताको कुरा हो, प्रदेश १ कोे नामाकरण किरात भन्न नसक्नु संकिर्णता मात्र रहेका बताए । उनले प्रदेश १ को नाम किरात राख्नका लागि आफूले अघिल्लो संविधानसभामै पहल गरेको स्मरण समेत गरे ।

उनले किरात प्रदेश निर्माणका लागि तत्कालीन एमाले सांसद तथा हाल ससफो नेता राजकुमार राईलाई बोलाएर सोको तयारी गर्न निर्देशन दिएको र राईले किरात प्रदेशबारे पार्टीको बैठकमा प्रस्तुत गरेको सुनाए । उनले भने ‘तर लिम्बू साथीहरुले त्यसलाई नमान्ने भए, कहाँ यो त राईहरुको मात्रै भयो हाम्रो भएन, हामीलाई त पृथ्वीनारायण शाहले लेखेरै दिएका थिए भन्ने भयो । कसैले मानेनन् अनि संविधानसभा पनि विघटन भयो ।’ किरात भनेको जाति होइन, किरात एउटा ऐतिहासिक भूमि हो, यो सबैको साझा हुन सक्छ भन्दै उनले भने, ‘किरात भनेको राईहरुको मात्रै हो भन्नु गलत हो ।’

कार्यक्रममा अर्का वक्ता विस्वभक्त दुलाल‘आहुति’ ले किरात प्रदेश सजिलै प्राप्त हुन सक्ने वातावरण नभएको भन्दै यदी किरात प्रदेश नभएका कडा आन्दोलनको तयारी गर्नु पर्ने सल्लाहा दिएका छन् । उनले जनजाती आन्दोलन पहिचान भन्दा माथी उठेर आन्तरिक राष्ट्रियता प्राप्तीको तहसम्म पुग्नु पर्ने बताए । उनले नेपालको संविधानले प्रद्धत्त गरेको अधिकारलाई व्यवस्थित गर्दै नेपाल बहुभाषिक, बहुसांस्कृतिक राष्ट्र भनिए जस्तै बहुराष्ट्रि राज्यको रुपमा रहनु पर्ने तर्क सारेका थिए । यस्तै कार्यक्रममा किराती लेखक तथा साहित्यकार मदन पुरस्कार विजेता राजन मुकारूङले आन्दोलनमा ठिक कि बेठिकको पोजिसनमा लाग्नु पर्ने बताएका छन् । ‘अब घुमाउरो बाटोबाट मागेर होईन हुन्छ की हुदैन सिधा जवाफ मागेर जानु पर्छ’ उनले भने ‘मलाई किरात प्रदेश प्राप्तीको लागि कहाँ के भुमिका दिनु पर्छ दिनोस म तुरुन्त लाग्छु । तर सबैले म गर्छु भनेर लागौँ ।’ उनले शाषकले त्यति सजिलै केहीपनि नदिने भन्दै चर्को दवाब सिर्जना गर्नु पर्नेमा जोड दिएका छन् ।

किरात राई यायोक्खाका कार्यबाहक अध्यक्ष दिवस राई, राष्ट निर्माण अभियान्ता तथा अधिवक्ता किवाङ हाङ राईले समेत किरात प्रदेशबारे धारणा राखेका थिए । किरात राई विद्यार्थीका केन्द्रिय अध्यक्ष बिर्सिका राईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Facebook Comments

Leave a Reply