रावासावाले दियो पुरस्कार सम्मान

समाचार

एविसी खबर
काठमाडौं ११ चैत्र । खोटाङ जिल्लामा विगतमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै रावासावा प्राज्ञिक समाजले चारजना अग्रज तथा दुइजना प्रतिभालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । आईतबार राजधानी काठमाण्डौं शंखमुलस्थित पब्लिक फुड गार्डेनको सभाहलमा आयोजित एक समारोहबिच उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मान हुनेहरुमा वर्ष साहित्यकार सम्मानद्धारा कवि मदन राई ‘लामाखुले’, तत्कालिन त्रिभुवन माविका प्रधानध्यापक तथा शिक्षासेवी लक्ष्मीदास राजभण्डारी ‘सुमन’ लाई रावासावा शिक्षा सम्मान प्रदान गरेको छ । यस्तै कलाकार लक्ष्मी गिरीलाई रावासावा कला सम्मान र समाजसेवी मनीकुमार राईलाई रावासावा समाजसेवा सम्मानद्धारा सम्मानीत गरिएको हो ।

कार्यक्रममा गायीका सत्यकला राई र कबि तथा गीतकार ईश्वर चामलीङ पुरस्कृत भएका छन् । रावासावा प्राज्ञिक समाज नेपाल काठ्माडौंले हरेक दुई वर्षमा प्रदान गर्दै आएको रावासावा कमलाभक्त कला प्रतिभा पुरस्कारबाट गायीका सत्यकला राई पुरस्कृत भएकी छन् । त्यसैगरी रावासावा कमलाभक्त साहित्य प्रतिभा पुरस्कारबाट कबि तथा गीतकार ईश्वर चामलीङ पुरस्कृत भए । जनही १० हजार राशीको पुरस्कार र ताम्रपत्र सहित उनीहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका अग्रज साहित्यकार कवि जसराज किरातीले पुरस्कार तथा सम्मान पत्र हस्तान्तरण गर्दै आफुलाई रावासावा प्राज्ञिक समाजले सम्झेर प्रमुख अतिथि जस्तो गरिमामय स्थान दिएकोमा धन्यवाद दिएका छन् । उनले कला र साहित्यको उर्वरभुमी खोटाङमा जन्मिएका अग्रणी युवाहरुले संचालन गरेको यो अभियान चुनौतीपूर्ण रहेपनि पुरस्कारको राशी उपलब्ध गराउने कमलाभक्त प्रतिष्ठान जस्तो संस्थाको सहकार्यले थप हौसला मिलेको बताएका छन् । उनले कमलाभक्त प्रतिष्ठानका संस्थापक भक्त राजभण्डारीले अध्ययन गरेको चम्पावती उमावि बुइपामा भक्तका दाई गोविन्द राजभण्डारीलाई समेत कार्यक्रममा स्मरण गरेका छन् । भक्त र गोविन्द राजभण्डारीको मावली बुईपा हो ।

यस्तै कार्यक्रममा सम्मानित बरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरिले कार्यक्रमलाई संक्षिप्त संवोधन गर्दै उनले आफु खोटाङको बुहारी भएको भन्दा पनि छोरी भएर किन जन्मिन रहेछु भन्ने लागेको अभिव्यक्ति दिएकी छन् । उनले म आफु जन्मेको काठमाडौंले कहिल्यै चिनेन तर मेरो कर्मघर रहेको खोटाङले सँधै सम्झीरहेको भनेकी छन् । उनले बोल्ने क्रममा थेप्चो नाकहरुले जहिल्यै आफुलाई सम्मान गरेको भन्दै नाक र वादको पछि कम लाग्नु पर्ने बताएकी छन् । 

कार्यक्रममा समाजका वरिष्ठ उपाध्याक्ष धनप्रसाद सुवेदीले सम्मानीत तथा पुरस्कृत व्यक्तीत्वहरुका बारेमा टिप्पणी गरेका थिए । समाजका संस्थापक अध्यक्ष डा. विष्णु राई र पूर्वअध्यक्ष टंक भट्टराईले आफ्नो कविता सहित संक्षिप्त भनाई राखेका थिए । कार्यक्रममा उहाँहरुको ३÷३ वटा कविता प्रस्तुत भएको थियो । यस्तै गायक सन्तोष दुमी, सचिन राई र रेवत राईले सांगीतिक प्रस्तुती दिएका थिए । कार्यक्रमको सभापतित्व सकमाजका अध्यक्ष वरिष्ठ संगीतकार प्राज्ञ शान्तिराम राई, संचालन महासचिव कवि बम बानिया र स्वागत मनतव्य सचिव कवि चन्द्र रानोहँछाले गरेका थिए ।

 

Facebook Comments

Leave a Reply