नेपाल आदिकालदेखि गाईखाने देश होः डोरबहादुर विष्ट

बिचार, समाज

बाहुन युवाहरु बुझ्दैछन् ‘बाहुनवाद’

 

समाजशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो चर्चित पत्रकार/सम्पादक गुणराज लुइटेलले विष्टकै घर ललितपुरमा यो अन्तर्वार्ता लिएका थिए । त्यसबेला राजतन्त्र ढलिसकेको थिएन । मुलुकमा भर्खर प्रजातन्त्र पुनःस्थापना भएयता जातीय चिनारी (पहिचान)को राजनीतिले विस्तारै गति लिन थालेको थियो । प्रजातन्त्रको खुलापनमा विस्तारै खुल्न थालेको नेपाली समाजमा रहेको ‘बाहुनवाद’सम्बन्धी धारणा सार्वजनिक गरेर विष्टले यसलाई छलफलमा ल्याइदिएका थिए । मुलुकमा प्रजातन्त्र आइसकेको भए पनि अझै धेरै विषयमा हाम्रो राजनीति र समाज खुलिसकेको थिएन ।अन्तर्वार्ताका क्रममा विष्टले सामाजिक विशिष्टताको चर्चा गर्ने क्रममा ‘अहिलेका राजाका पुर्खा मगर हुन्’ भनेका थिए । जनआस्था साप्ताहिकले सोही भनाइलाई शीर्षक बनाएर यो अन्तर्वार्ता प्रकाशित गरेको थियो । चर्चा झन् चुलियो । प्रजातन्त्र आए पनि राजदरबार अझै एउटा टापुजस्तै थियो । अहिलेको परिस्थितिबाट हेर्दा त्यसबेला विष्टले व्यक्त गरेका यी बिचार, तर्क र उनको यो अन्तर्वार्तामा व्यक्त धारणा विस्फोटक लाग्छन् । विष्टका ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’, ‘पिपुल्स अफ नेपाल’, ‘सोताला’लगायत पुस्तक प्रकाशित छन् । 

दुई दशकअघि यो अन्तर्वार्ता दिएको केही दिनमै विष्ट बेपत्ता भए वा पारिए । त्यसयता उनको खोजी भइरहेको छ । लुईटेल र फोटो पत्रकार सन्तोष पोखरेलले विस्टसँग गरेको यो अन्तर्वार्ता अहिलेको सन्दर्भमा पनि सान्दर्भिक हुने ठानेर (दुईवर्षअघि अन्नपूर्णमा शिर्षक परिवर्तन गरी प्रकाशित) साभार गरी यहाँ प्रस्तुत गरिएको छ । यहाँ यस अन्तर्वार्तालाई प्रस्तुत गर्दा शिर्षक परिवर्तन गरिएको छ ।

नेपालमा अहिले ‘नाक चुच्चे’ र ‘नाक थेप्चे’ अर्थात् ‘आर्य’ र ‘अनार्य’ भन्नेजस्ता साम्प्रदायिक चिन्तन हावी हुन थालेको छ । यसको कारण के होला ?
अहिले मानिसहरूले जातीय कुरा गर्नु अति स्वाभाविक हो। नेपालका दुई जाति खस र किराँतमध्ये खस बढी बसाई सरेको जाति हो। खस-आर्यहरू पशुपालन गर्ने घुमन्ते हुन्। उनीहरूले छिटो हिँड्ने जनावरहरू गाई, घोडा, भेडाबाख्रा, कुकुरजस्ता जनावरहरू लिएर हिँड्दा घाँसेमैदानमा धेरै चाँडो हिँडे। किराँत जातिहरू चाहिँ हाम्रो हिमालको पुछार, दक्षिण चीन, बर्मा, थाइल्यान्डजस्तो बढी पानी पर्ने, घनाजंगल भएको ठाउँमा बस्ने भएकाले उनीहरूको जीवनशैली छिटो नहिँडेर ढिलो भयो। त्यही भएर उनीहरूले भैंसी, सुंगुरजस्ता छिटो नहिँड्ने जनावर पाले। किरात वर्गको पश्चिमतिर बढ्ने प्रवृत्ति ढिलो हुँदै गएको देखिन्छ। खस पूर्वतिर लाग्दा छिटो हिँड्ने हुनाले बाटामा भेटिएका सानातिना समूहलाई पेल्दै मिच्दै आफ्नो आधिपत्य कायम गर्दै अगाडि बढ्ने वर्ग पर्‍यो ।
किरात भनेको ढिलो जाने भएकोले काठमाडौं आएर केही पश्चिमतिर गएको देखिन्छ । त्यसले गर्दा खस-आर्यहरूको दबदबा बढ्दै गएको हो। इतिहासमा को, कसरी अगाडि बढ्यो भन्ने कुरा नसिकाइएपछि, हाम्रा विद्यालयहरूमा यो कुरा नपढाइएपछि नाक चुच्चे-सेतो धोती लाउनेले पेलेर खायो भन्ने कुरा देखा परेको हो ।

तपाईंले भन्ने गरेको ‘बाहुनवाद’ कतिजनाले बुझे त ?
धेरै नै युवा बाहुनहरूले यो कुरा बुझ्न थालेकाले म अहिले असाध्यै खुसी छु । मैले ‘बाहुनवाद’ भनेपछि बाहुनलाई गाली गर्‍यो  भन्ने अर्थ लगाए । अनि बाहुनलाई गाली गरेपछि हिन्दू धर्म पनि बच्दैन, हिन्दूहरू नबाँचे हामी बाँच्दैनौं भन्ने सोचाइ पुरानो वर्गमा रह्यो । तर त्यसो होइन, नेपाली भएर बाँच्नुपर्‍यो । नेपाली मान्छे भएपछि मन लागेको धर्म पछ्याउनोस्, मन लागेको दाल, तरकारी खानोस्, मन लागेका ठाँटको घर बनाउनोस्, मन लागेको पार्टनर छानेर विवाह गर्नोस् र मन लागेका कम्पनीको मोटरसाइकल चढ्नोस्, कसले के भनेको छ र ?

यथार्थमा ‘बाहुनवाद’ भनेको के हो ?
ब्राम्हणवाद भनेको यस्तो कुरा हो जसले निरन्तर भाग्यवादको प्रचार गरिरहन्छ । अहिले जे जति भएको छ अघिल्लो जन्मको कमाइले भएको हो, अहिले तिम्रो पौरखले केही गर्दैन । सबै कुरा ईश्वरले गरिसकेको छ भनेर जबसम्म भाग्यवादी सिद्धान्तलाई विश्वासमा लिन्छौं, हामी पौरखहीन हुन्छौं । पौरख नगर्ने हामी कहिले खुसी हौंला त ? अर्काले कहिले दिन्छ र खाउँला भनेर सहायताको ठूलो थैलो लिएर संसारभरि घुम्ने चलन जुनसुकै सरकार आए पनि त्यो गरिरहेको छ, त्यो लाजमर्दो कुरो हो, पौरखशून्य नेपाली भएकाले त्यसो भएको हो । हामीलाई बाहुनहरूको भाग्यवादले पौरखशून्य बनायो । त्यसैले त्यसको नाम मैले ‘बाहुनवाद’ भनेको हुँ । ‘बाहुनवाद’ नफालेसम्म देशले पौरख गर्दैन । पौरख गर्ने जनता नहुन्जेल देशले उन्नति गर्दैन ।

तपाईं त संस्कृत राम्रोसँग बुझ्ने र पढ्ने मान्छे हुनुहुन्छ । एमाले सरकारको पालामा रेडियोबाट संस्कृतमा समाचार आउँदा त निकै राम्रो लाग्यो होला ?
संस्कृतमा समाचार दिनुपर्ने बिल्कुलै आवश्यकता थिएन । गलत परम्परा तोड्ने मार्क्सवादी सरकार आएको बेलामा पनि संस्कृतको प्रतिरक्षा गर्ने काम भयो । केही अदूरदर्शी पण्डितहरूले संस्कृतलाई कतै न कतै झुन्ड्याइदिए बाहुन वर्गको कल्याण र हिन्दू धर्मको रक्षा हुन्छ कि भन्ने सोचाइ राखे र त्यो गलत सोचाइको कारण संस्कृतमा समाचार दिन थाले । संस्कृत भाषा आज विकास गर्न बाँकी भाषा होइन ।
कसैकसैले त्यसलाई ‘मृतःभाषा’ पनि भन्छन् किनभने संस्कृत भाषामा बोल्ने चलन कहीँ पनि छैन । यसभित्र अनन्त ग्रन्थ छन्, आवश्यकता ती ग्रन्थहरू पढ्नु र त्यसबाट शिक्षा लिनुमात्र हो । संस्कृत भाषाकै विकास गर्नु होइन । चेपाङ भाषामा खबर दिएको भए दुइटा चेपाङले त देशको कार्यक्रम बुझ्थे । अब यो संस्कृत समाचार दिएर कसलाई शिक्षित बनाउन खोजिएको हो ?

तपाईं ‘खस’ हरूलाई पनि जनजातिको दर्जा दिन थाल्नुभएको छ । यसको कारण चाहिँ के हो ?
खस जाति शोषित, गरिब र उपेक्षित कुनै पनि वर्ग नेपालमा छैन । खस सबैभन्दा ठूलो समूह भएको जनजाति हो । आजको नेपाली भाषा (खस कुरा) धेरै भाषाको सम्मिश्रणले आदिकालको ‘खस’ कुरासँग मिल्दैन । त्यसकारण आफ्नै भाषा भएको, आफ्नै भौगोलिक क्षेत्र भएको, आफ्नै चालचलन भएको, देवीदेवता कुनै पनि पूजा नगर्ने, बाहुन पुरोहित हुँदै नभएको ‘खस’ लाई जनजाति नभने कसलाई भन्ने ? अहिले मैले जुम्लामा बसेर गरिरहेको काममध्ये एउटा खसहरूलाई जनजाति हौ भनेर चिनाउनु पनि हो । अहिले पूर्वतिर धमाधम जनै लगाएर किरातीलाई बाहुन बनाउने काम डा. प्रपन्नाचार्य र पं. छविलाल पोख्रेलजस्ता विद्वानहरूले गरिरहनुभएको छ । जनजातिलाई कसरी भविष्यमुखी बनाउने भन्ने आजको समस्या हो । तर, मान्छेहरू दुई सयको जनै लगाउन हुरुरु कुदेका छन् । आज त यो स्थिति छ भने आजभन्दा ६ सय वर्षअघिका बाहुनहरूलाई कस्तो भयो होला ?
पहिले विशाल साम्राज्यका शक्तिशाली खसहरूलाई तिमी ठकुरी हौ भन्दै जनै लगाइदिदा तिनै खस बडा सम्मानित भए । पछि बाँकी खसलाई शुद्र हौ भनिरहे । जनै लाउनेले आफ्नै खस दाजुभाइलाई तल्लो जातको ठान्न थाल्यो । पुर्खाले ठगेको त्यही कुरालाई सच्याउन नै म त्यहाँ गएको हुँ ।

तपाईं आफ्नो पुस्तक ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ को प्रयोग गर्ने भनेर जुम्लाको चौधबीसमा काम गरिरहनुभएको छ । अहिले प्रयोग कति सार्थक हुँदैछ ?
बाहुनहरूले कहिल्यै परिस्कृत कुरा गरेनन् । सधैं मलाई दान देऊ, तिमी बैकुण्ठ जान्छौ भन्ने मिथ्या प्रचार गरिरहे । बैकुण्ठ छ भन्ने विश्वास भएको भए ती बाहुनहरू आफैं जान्थें । भाग्यवादले गर्दा हामी पौरखशून्य भयौं । बाहुनवादले मानिसको प्रतिभालाई कुण्ठित बनाइदियो । त्यो कुण्ठित पारिएको वर्गमा खसभन्दा बढी कसैलाई नोक्सान भएन । त्यसकारण खसहरूलाई उठ्न असाध्यै गाह्रो प¥यो । ‘फेटलिज्म एन्ड डेभलपमेन्ट’ लेखिसकेपछि पूर्वतिर जाउँ कि भन्ने सोचें । तर, पूर्वतिर एउटा सकसकी आइसकेको छ, किरात वर्गमा । त्यसैले म खसान क्षेत्रतिर गएँ । योगी नरहरिनाथ पनि खस हुन् । उनी आफू बाहुन भएर हिँड्छन् । तर, मैले खसको जुन कुरा गरेको छु उनले त्यो कुरा गरेका छैनन् । योगी नरहरिनाथमा पनि हिन्दू धर्मको वर्णाश्रम व्यवस्थालाई हेर्ने कमजोरी छ ।
खसमा किन अवन्नति आयो भन्ने कुरालाई योगीले राजनीतिक ढंगले मात्र हेरेका छन्, ऐतिहासिक ढंगले हेरेका छैनन् । तर, मैले सामाजिक, आर्थिक, सांस्कृतिक ढंगले किन खसलाई लात्ती हानियो भनेर हेरेको छु । जबसम्म खसभित्र हामी पनि उठ्नुपर्छ भन्ने चेतना हुन्न, त्यतिन्जेल नेपाल ज्यान गए पनि बन्ने छैन । बरु नेपाललाई जनजातिको राजनीतिले जर्जर बनाइरहनेछ । मेरो उद्देश्य साम्प्रदायिक होइन । खसहरूलाई जनजाति बनाउनु हो ।

अहिले नेपालमा ‘गाईखाने’ कुराको विवाद निकै चर्केको छ । यो विवाद तपाईंलाई कस्तो लाग्यो ? 
यो कुनै मुद्दा होइन । पद्मरत्न तुलाधरले पहिले बोल्दा र पछि माफी माग्दा दुवैपटक राजनीतिक बोली बोलेका हुन् । यथार्थ कुरा के हो भने नेपाल आदिकालदेखि गाईखाने देश पनि हो । अहिलेसम्म पनि हामीले गाई खाइरहेको देखिरहेका छौं, खान्छन् । नेपालभित्र गाई काटेर खाने परम्परा नभएको होइन । नेपाल हिन्दू—अधिराज्य बन्यो र कानुनका हिसाबले गाई काट्नु हुन्न, काटे सजाय हुने भन्ने कानुन बनेपछि त्यो कामले अन्डरग्राउन्ड हुनुपर्‍यो ।
राणाशासनमा राजनीतिले अन्डरग्राउन्ड जानुपर्थ्यो, पञ्चायती व्यवस्थामा दलीय कुरामा विश्वास गर्नेले अन्डरग्राउन्ड जानुपरेजस्तो गाई काटेर खानेकुरा अन्डरग्राउन्ड भएको थियो । यथार्थमा मूल कारण गाई होइन, गाईखाने कुरा पनि अहिले यही मौकामा भन्यो भनेर साम्प्रदायिक हिसाबले पद्मरत्नलाई लेखट्ने एउटा वर्ग निस्कियो । यही मौकामा हामीले पनि कति लुकेर खानु भनेर उनीहरू पनि बढ्ता उपद्रो गर्न थालेका छन् । स्याङ्जा, दोलखामा गाई खाएका कुरा आएका छन्, त्यो पद्मरत्नको भाषण सुनेर होइन, गाई खाइरहेकै मानिसले खाएका हुन् । यो झगडा गर्ने एउटा निहुँ मात्र हो, यो नभए अर्को निहुँ निस्कन्छ ।

योगी नरहरिनाथले गाई काट्ने कुरालाई बहुतै उचाल्नुभएको छ । तपाईं योगीजीको गतिविधिलाई कुन रूपमा हेर्नुहुन्छ ?
म भए त्यसरी उचाल्ने थिइनँ । जेसुकै कुरालाई पनि बढी उचाल्नुको अर्थ हो- बढी दंगा मच्चाउनु । दंगा भोलि हिंस्रक पनि हुन सक्छ । व्यक्तिले दीर्घकालीन कुरा गर्नुपर्छ । एकै छिनलाई पनि नहुने कुरा गर्न हुँदैन ।

तपाईं बाहुन युवाहरूलाई के सल्लाह दिनुहुन्छ ?
पुरोहितका छोराहरूलाई भन्ने गरेको छु- तिमीहरूको पुरानो पुस्ता बदलिन सक्दैन । त्यसैले सिदा बटुलेर खानुभन्दा पौरख गरेर खान सिक । पुराण भनेर र फटाहा कुरा गरेर ‘दान देऊ, तिमी भुर्र उडेर स्वर्ग जान्छौ’ भन्नुभन्दा उत्पादनशील काममा लाग्नुपर्छ ।

नेपालका शाह राजाहरूलाई मगरका सन्तान भन्दै आउनुभएको छ । यसलाई प्रमाणित गर्ने कुरा के हुन् ?
नेपालका एकीकरण गर्ने राजा क्षेत्रीय नै हुनुपर्छ भन्ने व्याख्या पढाइ नभएका बाहुनहरूले गरे । राजालाई राज्य जोगाउनुछ, जे नाउँ राखे पनि पुगिहाल्यो । म विकासको इतिहास हेर्छु राजसत्ता र सत्ता परिवर्तनको इतिहाससँग मलाई चासो छैन । हाम्रो राजाका पुर्खामा मिचा, खान्चा भन्ने थिए । नाम देख्नेबित्तिकै यहाँ मुस्लिम भने । तर, मगर भाषामा ‘मिचा’ ‘खान्चा’ को अर्थ ‘जेठा’, ‘कान्छा’ हो । पछि मुस्लिम प्रभाव परेपछि सिंह, खाँ, आदि राखे । चितौनगढबाट भागेर आएका हुन् भनेर हिन्दुस्थानका राजपुतले किन आफ्नो छोरालाई जेठा (मिन्चा), कान्छा (खन्चा) भन्नुपर्थ्यो  ? पृथ्वीनारायण शाहका मावली दिग्वन्धन सेन मगर हुन् । उनकी आमा पनि मगर हुन् ।
नेपालमा तीन देवीका मन्दिर छन्- पाल्पाको लसर्गादेवी, गोरखाको गोरखकाली र मनकामना । त्यहाँका पुजारी मगरमात्र छन्, अरूले प्रवेश गर्न पाउँदैनन् । त्यहाँ अझ पाल्पाको लसगीदेवीमा सुँगुर काट्नुपर्छ र जाँडरक्सी पनि जान्छ । अहिले सुँगुरको साटो बनेल जान्छ । यहाँ आएर राजा भएको भनेर लंगडो तर्क दिइएका छन् । राजपाठ छोडेर भागेर आएको कुनै व्यक्तिलाई आउनासाथ यहाँ कसले ‘ओ हो ! तँ आइछस्, राजा हो’ भन्छ ? न त यहाँ आएर नेपालको राजालाई परास्त गरेको छ । यसकारण नै मैले अहिलेका राजाका पुर्खा मगर हुन् भनेको हुँ । मैले कुनै नयाँ कुरा गरेको होइन ।

प्रस्तुत् सामग्री गीलु रातोस ब्लगस्पोटबाट साभार गरिएको हो ।
Facebook Comments

Leave a Reply