किरात प्रदेश नामाकरण गर्न सांसदलाई सम्मान

समाचार

काठमाडौं । ‘सम्पुर्ण देशभक्त लोकतान्त्रिक पहिचान पक्षधर शक्तिहरु एक होऔँ । एक नम्बर प्रदेशलाई किरात प्रदेश नामाकारण गरौँ ।’ भन्ने नाराका साथ किराती राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघले सांसदहरुलाई अभिनन्दन गर्ने भएको छ । प्रदेश नम्बर १ को नामाकरण गर्दा किरात प्रदेश नाम राख्न आग्रह गर्दै विजयी सांसदहरुलाई सम्मान गर्ने भएको हो ।

प्रदेश नम्बर १ बाट प्रदेश सभामा विजयी बनेका बाम गठबन्धनका सांसदहरु र प्रतिनिधी सभामा विजयी किराती सांसदहरुलाई सम्मान गर्न लागिएको आयोजक संस्थाहरुले जनाएका छन् । काठमाडौंको भृकुटीमण्डप स्थित पर्यटनबोर्डको सभाहलमा सबै सांसदहरुलाई बोलाएर एक साथ किराती संस्कार अनुरुप शिरमा फेटा बाँधेर सम्मान गर्न लागिएको आयोजक समितिका सदस्य राकेश किरातीले जानकारी दिएका छन् ।

कार्यक्रममा प्रस्तावित किरात प्रदेशमा बाम गठबन्धनका तर्फबाट विजयी ६७ जना सांसदहरुलाई एक साथ सम्मान गरिने छ । यस्तै प्रतिनिधी सभामा विजयी किराती राई समुदायका सांसदहरु १३ जना र राष्ट्रिय सभामा निर्वाचित १ जना अगम बान्तावा राईलाई सम्मान गर्न लागिएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा बाम गठबन्धनका नेता प्रचण्डको प्रमुख आथित्यमा हुने कार्यक्रममा डाक्टर युवराज संग्रौला, डाक्टर धनप्रसाद सुवेदी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा किरात प्रदेशका अभियान्ताहरुको बृहत उपस्थितीको अपेक्षा गरेको आयोजक समितीले जनाएको छ ।

राष्ट्रपति निर्वाचनको अवसर पारेर काठमाडौं आउँदै गरेका सांसदहरुलाई समयको सदुपयोग गर्दै सम्मान कार्यक्रम गर्न लागिएको हो । किराती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षता राजन किराती (वासु) र नेपाल लोकतान्त्रिक किरात राई संघको नेतृत्व दिवस राईले गर्दै आएका छन् ।

Facebook Comments

Leave a Reply