रेशम चौधरीलाई सपथ ग्रहण गराउन प्रधानमन्त्रीलाई पत्र

राजनीति

१७ फागुन, कैलाली । रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गराउन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाइएको छ ।
थरुहट आन्दोलनमा सक्रिय रुपमा भाग लिदै आएका विभिन्न थारुजन्य संस्थाहरुले कैलालीको प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालमार्फत ओलीलाई ज्ञापनपत्र बुझाउदै निर्वाचित सांसाद चौधरीलाई प्रमाणपत्र प्रदान गर्न र सांसदको रुपमा सपथ खुवाउने व्यवस्था मिलाउन माग गरेका छन् ।

कैलाली–१ बाट अत्यधिक बहुमत ल्याएर जितेका चौधरीलाई निर्वाचन आयोगले विजयी भएपछि भने प्रमाणपत्र नै दिएको थिएन । तर उनको उम्मेदवारी मनोनयन दर्तालगायतका प्रक्रिया आयोगले अगाडि बढाएको थियो । मतगणना भइरहँदासमेत आयोग बोलेको थिएन ।

तर विजयी भइसकेपछि भने टीकापुर घटनाको दोषी रहेको भन्दै आयोगले निर्वाचित भएको प्रमाणपत्र नै दिएन चौधरीलाई । चौधरीले केही दिनअघि मात्रै कैलाली जिल्ला अदालतमा आत्मसर्पण गरेका थिए । उनलाई सोही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो र हाल उनी थुनामा छन् ।

Facebook Comments

Leave a Reply