कविता ः त्यो के हो आमा ?

कविता


– भिम राई सर्वहारा

मेरो शिरमाथी
माथीबाट उड्दै आएको
रातो रातो
स्याउको दाना जस्तो
भुर्रभुरिदै आएको
आगोको राप जस्तो
हुरिदै आएको त्यो
के हो आमा ?

जुन भने जुन जस्तो छैन
घाम भनुम घाम जस्तो लागेन
रापिलो छ तापिलो छ
ताराहरु खसेकी भनेर
नियाल्छु आकाशलाई
त्यो भन्दा माथी
ताराहरु
उसैगरी बसिरहेका छन्
पहिले जसरी बसेका थिए
आखिर
मेरो टाउको भन्दा माथी
घुम्दै आउने त्यो
के हो आमा ?

भोक च्यापेर मैले
मेरो बहिनीलाई जोगाउनु पर्ने
अभाव बोकेर मैलै
मेरो भाईको टाउको ओत्याउनु पर्ने
यस्तो बेला
त्यो जुन भईदिएको भए
कानै खाने आवाज आउने थिएन
उत कराउँछ कानै खानेगरी
त्यसले डढाउँछ मनै खानेगरी
ठुलो ठुलो डम्का पिट्दै
गड्याम गड्याम आउने
साँच्चै त्यो
के होआमा ?

हामीलाई खाने राक्षस जस्तो
कराएर आउँछ
लुटेर लान्छ
भरखरै मेरो काखको भाई
उछिटाएर लग्यो
हेर्दा हेर्दै
छिमेकी भाईको
हात खुट्टा

अनी
छिमेकी बहिनीको
एक पाटा शरिर  पनि लग्यो
मेरो शिरमा अझै
भुक्दै भुक्दै
निरन्तर आइनै रहेको छ ।
साँच्चै भनन
आखिर त्यो
के हो आमा ?

(सिरियाको नरसंहार विरुद्धको अभियान २०७४ फागुन १४ )

तस्विर साभार : ऐजेन्सी

Facebook Comments

Leave a Reply