ठाकुर लेख्छन् : के न्याय निरपेक्ष हुन्छ?

के न्याय निरपेक्ष हुन्छ ?
डॉ. गोविन्द केसी र प्रधानन्यायाधीश सम्माननीय गोपाल पराजुलीको बीचको जुहारीले केही कुरातिर मेरो ध्यान मोड्न बाध्य भएको छु । यसका लागि केही कुरा राख्‍न सान्दर्भिक होला जस्तो छः
१. राज्य गठनको अवधारणा नै वर्गीय भएकोले यसको अस्तित्व कायम रहेसम्म यसले निश्चित राष्ट्रियता, निश्चित जाति र निश्चित वर्गको संवर्द्धनकै लक्ष्य अनुसार काम गर्छ । त्यसैले राष्ट्रिय, जातीय, वर्गीय सन्तुलनमा आउने फेरबदल अनुसार यसमा पनि परिवर्तन हुँदै जान्छ । त्यस अनुसार अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको बीचमा शक्ति सन्तुलनको सिद्धान्तलाई स्थापित गर्न खोजिएको पूँजीवादी राज्यव्यवस्थाको परिकल्पना गरिएको छ ।
२. बहुराष्ट्रिय नेपालमा राज्यको स्वरूप र चरित्र एकलराष्ट्रिय रहँदै आएको छ । त्यसैले यो जातीय-वर्गीय रूपमा पनि विभेदकारी हुनु आश्चर्यको कुरो होइन । रह्यो कुरो शक्ति पृथकीकरणको, त्यो पनि काल्पनिक कुरो मात्रै हो । को कुन अंगका प्रमुख हुन् तिनमा यो कुरो धेरै भर पर्छ ।
३. न्यायपालिकाकै कुरो गर्ने हो भने वर्गीय रूपमा सामन्त-पुँजीपतिहरूको पक्षमा नांगो नाच नाचेको पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले एउटै सन्दर्भमा गिरिजाबाबू र मनमोहन अधिकारीका लागि अलग अलग फैसला दिएर आफ्नो वर्गीय धरातल देखाएकै हुन् ।
४. कथित नेपाली भाषालाई जबर्जस्ती लाद्नको लागि कृष्णजंग रायमाझी र टोपबहादुर सिंह नामका सर्वोच्च अदालतले नेवार र मैथिली भाषा स्थानीय स्तरमै पनि प्रयोग गर्नबाट बंचित गर्दै खस-गोर्खाली राष्ट्रियता लाद्ने दुष्कर्म गरेकै हुन् ।
५. संघीयताको खाका सहित संविधान बनाऊ भनेर आदेश दिने पूर्व प्रधान न्यायाधीश रामकुमार साहका विरुद्ध खस-गोर्खाली मानसिकता अत्यन्तै तल्लो तहमा ओर्लेर मानमर्दन गरेकै थिए तर उनी कसैमाथि अदालतको अवहेलना मुद्दा लगाएनन् ।
६. अहिले डॉ. गोविन्द केसीले उठाएका प्रश्नहरूमाथि कसैको चित्त बुझ्नै, नबुझ्ने एउटा कुरा होला, तर उनले आफूलाई चित्त नबुझेको कुरा गर्न पाउने कि नपाउने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा ? के प्रधानन्यायाधीशको पदमा पुग्ने व्यक्तिको बारेमा केही बोल्ने बित्तिकै अदालतको अवहेलना हुन्छ ? यदि त्यसो हो भने हाम्रो गाउँघरमा मेरो मातृभाषामा रहेको एउटा उखान सम्झिनै पर्ने हुन्छ, ‘घर में डाक्टरी आ कचहरी न समाए उहे निमन !’ अर्थात घरमा चिकित्सक र अदालत नपसेकै राम्रो ! त्यस्तो उखान अहिले डॉ. गोविन्द केसीको अनाहक गिरफ्तारीले राम्रै चरितार्थ भएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment