चितुवाले दर्जनौं बाख्राखशी खायो 

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा चितुवाले दर्जनौँ बाख्राखशी खाएको छ । चराउन जङ्गल लगिएको तथा खोरमै राखिएको बाख्राखसी चितुवाले खान थालेपछि त्यहाँ चितुवाको आतंक बढेको हो ।

जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालय–४ का केदार रोईलाका पाँच वटा बाख्राखसी चितुवाले एकै दिन खाएको स्थानीयले बताएका छन् । जङ्गलमा चराउन लगिएको अवस्थामा एकै दिन पालैपालो गरेर पाँच वटा बाख्राखसी चितुवाले मारेको राईलाको भनाइ छ ।

रोईलासँगै स्थानीय रत्नबहादुर राई र मानबहादुर रोईलाको पनि बाख्राखसी मारेको स्थानीयले बताएका छन् । बाख्राको खोर भत्काएर राईको सात वटा खसीबाख्रा एकै दिन मारेको हो ।

चितुवा जङ्गलबाट गाउँघरमा आएर साँझ परेपछि ठूलो आवाज गरेर कराउने तथा खोर भत्काएर दैनिक बाख्राखसी मार्ने थालेपछि स्थानीय त्रसित बनेका छन् । एक्लै हिडेका मानिससँग चितुवाले भेटे आक्रमणको प्रयास गर्ने तथा लखेट्ने गरेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार टाटेपाटे रङ्गको ठूलो चितुवा गाउँ परेको बताइएको छ । दुई वटा चितुवा रहेको र सँगै हिड्ने तथा बिहान घाम झुल्किनसाथ जङ्गलको बीचमा पर्ने डाँडामा सँगै जुद्दै घाम ताप्न निस्कने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

चितुवाले त्यस क्षेत्रका मृगसमेत सखाप बनाएको स्थानीय बताउँछन् । यसअघि खोटेहाङ गाउँपालिकाको वडा नम्बर १ लिकुवापोखरीमा पनि चितुवा आतंक भएको थियो ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment