मधेशी दलहरुले भारतसँग गुहार माग्नु पनि गलत, काठमाडौंका शासकहरुले दूत पठाउनु पनि गलत !

रोशन जनकपुरी

जारी मधेश आन्दोलनको प्रारम्भिक चरणमा अलिकति उकुसमुकुस थियो । तर आन्दोलन विस्तारै परिपक्व र स्थिर हुँदै गयो । स्थानीय प्रशासन र प्रहरीको व्यापक दमनले जनतामा आक्रोश जन्मायो । यसले आन्दोलनमा जनसहभागिता ह्वात्तै बढ्न गयो । मधेशका जनता अहिले वार कि पारको मनस्थितिमा छन् ।

एउटै मागको लागि कति पटक आन्दोलन गर्नु भन्ने बोध मधेशी जनताले गरेका छन् । उनीहरुले दुःख र कष्ट झेलिरहेका छन् तर थाकेका छैनन् । कुनै पनि आन्दोलनमा जनता मनैदेखि उत्रियो भने त्यो आन्दोलन निर्णायक हुन्छ । अहिलेको आन्दोलन पनि त्यस्तै निर्णायक देखिन्छmadhesi-pahadi-leader-890x395_c

यो आन्दोलनमा मधेशी पार्टीहरु मात्र छैनन् । हाम्रो पार्टीका साथै अन्य असंख्य राजनीतिक तथा सामाजिक संघसंगठनहरु पनि यसमा छन् । यो आन्दोलनमा जनताको आकांक्षा धेरै उच्च छ । तर मधेशी नेताहरुका स्वार्थ धेरै तुच्छ छन् । त्यसैले ती नेताहरुको ध्यान आन्दोलनभन्दा बढी वार्तामा केन्द्रित देखिन्छ । त्यसैले उनीहरुले वार्ता र नाकाबन्दीबीचको तालमेल मिलाउनमा बढी केन्द्रित देखिन्छ ।

वार्ता र सहमति हुनुपर्दछ तर त्यो आन्दोलनको बलमा हुनुपर्दछ न कि कृत्रिम वा बाहिरी शक्तिको बलमा । नेताहरुले ऊर्जा आफ्नै आन्दोलनबाट प्राप्त गर्नुपर्दछ । मित्रशक्तिको सद्भाव मात्रै लिने हो । मित्रशक्तिको बलमा वार्ताबाट परिणाम निस्कियो भने त्यो परिणाम बढी गर्व गर्न लायक हुँदैन । भारतले मधेशलाई विगतमा पटक पटक गोटी बनाएको छ । यो पटक पनि मधेश गोटी बन्ने हो कि भन्ने व्यापक आशंका छ ।

समग्र नेपालकै भारतमाथिको निर्भरता आजसम्म त्यति धेरै सकारात्मक रहेन । मधेशी नेताको पनि भारतमाथि निर्भर हुने प्रयत्न पनि खतरनाक नै साबित हुन्छ । मधेशी नेता र आन्दोलनकर्मी सम्पूर्ण रुपमा भारतमाथि नै निर्भर भए भने आन्दोलनको सबभन्दा बढी र पहिलो लाभ उसैले लिन्छ ।

जनयुद्ध कालमा स्वायत्तता, स्वशासन र आत्मनिर्णयको अधिकारजस्ता संघीयतासँग जोडिएका मुद्दा माओवादीले उठाएका थियो । पछि मधेशवादी दलहरुले ती मुद्दा ग्रहण गरे र जोडतोडका साथ उठाउन थाले । तर अहिले वार्ताको क्रममा उनीहरुले ती सबै मुद्दा छोडेका छन् । संघीयताको सीमाङ्कनमा मात्रै असहमति जनाइरहेका छन् । यो मुद्दा सम्बोधन गर्न राज्यलाई कुनै गाह्रो हुनै छैन । तर स्वायत्तता र स्वशासनजस्ता अधिकार संघीय प्रदेशहरुलाई दिइएन भने संघीय प्रदेशहरुको हैसियत पुरानो विकास क्षेत्रहरुभन्दा बढी हुने छैनन् ।

भारतकै गुजरात राज्यले चाह्यो भने अमेरिकाको कुनै राज्य वा सहरसँग आर्थिक र सांस्कृतिक सम्बन्ध स्थापित गर्न सक्छ । नेपालमा अब बन्ने प्रदेशहरुलाई पनि केही मामिलाबाहेक आफ्नो भाग्य र भविष्य निर्धारण गर्नका लागि सम्पूर्ण स्वायत्तता र स्वशासनसम्बन्धी अधिकार दिनुपर्छ ।

तर राष्ट्रिय तथा भारतसहितका अन्तर्राष्ट्रिय शक्तिहरुले जसरी नेपालमा औपचारिक लोकतन्त्र वा भनौ नक्कली लोकतन्त्र स्थापना गर्न चाहन्छन् । त्यही डिजाइनअन्तर्गत संघीय प्रदेशहरुलाई पंगु तथा केन्द्रआश्रित बनाउन चाहेको देखिन्छ । स्वायत्तता, स्वशासन र आत्मनिर्णयको अधिकारजस्ता एजेण्डाबाट मधेशी पार्टीहरु पछि हटेकाले उनीहरु पनि त्यही डिजाइनको शिकार भएको हो कि भन्ने शंका गर्ने प्रशस्तै ठाउँ छ ।

नयाँ संविधानप्रति असन्तुष्ट रहेका मधेशी, जनजाति, थारु र माओवादीहरुलगायत सम्पूर्ण आन्दोलनरत पक्षबीच सहकार्य र मोर्चाबन्दीको खाँचो छ । आन्दोलनरत शक्तिहरुले राज्यपक्षसँग वार्ता र सहमति पनि एकजुट भएर नै गर्नु बेश हुन्छ । किनभने राज्य र प्रमुख तीन पार्टीले अहिले अत्यन्तै कठोर, असहिष्णु र प्रतिगामी चरित्र प्रर्दशन गरिरहेका छन् । आन्तरिक रुपमा उत्पीडितहरुबीच आन्दोलन र वार्ताको क्रममा एकता र सहकार्य भएन भने अहिलेको राज्यसत्ता र राज्यकै प्रमुख अंगको रुपमा देखिएका प्रमुख तीन पार्टीले रत्तिभर पनि टेर्ने सम्भावना छैनन् ।

तराई मधेशमा जारी आन्दोलनमा मधेशी मोर्चा मात्र छैन । थारुका विभिन्न पार्टी र संगठन, मधेशसम्बद्ध विभिन्न राजनीतिक पार्टी र संघसंस्थाका साथै हाम्रो पार्टी पनि भौतिक रुपमै छन् । तर जसरी मधेशी मोर्चाले एक्लै सरकारसँग वार्ता गरिरहेको छ । यो एकदमै खतरनाक छ । आन्दोलनरत पक्षहरु वार्तामा एकजुट र एकसाथ जानुपर्दछ । सामूहिक रुपमा नभई एक्लाएक्लै वार्तामा गए आन्दोलनरत पक्षहरु ठगिन सक्छ । उनीहरुले सम्पूर्ण अधिकार नपाउन सक्छ ।

पछिल्लो चरणमा राज्यले पनि मधेश र मधेशीको आन्दोलनलाई एक्लाउन खोजिरहेको छ । राज्यले संघीयतालाई मात्र मधेशसँग र मधेशलाई भारतसँग जोडेर नेपालकै अन्य वर्ग तथा समुदायलाई देखाउन चाहन्छ । यसरी सम्पूर्ण मुलुकको लागि भइरहेको संघीय आन्दोलनलाई मधेशसँग जोडेर तथा मधेश तथा भारतबीच नकारात्मक सम्बन्ध देखाएर राज्य संयन्त्र, मिडिया र प्रमुख तीन पार्टीले वर्तमान आन्दोलनलाई राष्ट्रविरोधी र राष्ट्रिय अखण्डताविरोधी प्रमाणित गर्न चाहेका छन् ।

प्रस्तुति : कुमार अमरेन्द्र

(इसमता) www.esamata.com

Facebook Comments

Related posts

Leave a Comment