अाज रातिबाट माैन अवधि: चुनाव प्रचार र मत माग्न नपाइने

 मंसिर १८, काठमाडाैं । प्रतिनिधि तथा प्रदेशसभा दोस्रो चरण निर्वाचनअन्तर्गत सोमबार (आज) राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नभइन्जेल (२१ मंसिर साँझ ५ बजे) सम्म उम्मेदवारहरूले चुनावी प्रचारप्रसार र मत माग्ने कार्य बन्द गर्नुपर्नेछ ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दल, दलका उम्मेदवार, दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आममतदाता तथा सञ्चारमाध्यम कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाइँदैन ।

मतदान हुनुभन्दा अघिल्लो ४८ घण्टादेखि मौन अवधि सुरु हुने निर्वाचन आचारसंहिता (तेस्रो संशोधन २०७४) २०७२ मा उल्लेख छ । आयोगले मौन अवधिभर निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सञ्चारमाध्यमहरूसँग आग्रह गरेको छ ।

यही २१ मंसिरमा दोस्रो चरण निर्वाचनअन्तर्गत ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुँदै छ । प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै छ । पहिलो चरणको निर्वाचन भने गत १० मंसिरमा ३२ जिल्लामा भइसकेको छ ।

दोस्रो चरण निर्वाचनमा कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदातामध्ये १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाताले भाग लिने आयोगले जनाएको छ । २१ मंसिरमा ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट मतदान गरिँदै छ ।

मौन अवधिमा फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालबाट समेत चुनावी प्रचार गर्न पाइनेछैन । अायाेगका प्रवक्ता नवराज ढकालले एसएमएस, फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालबाट मत माग्न नपाइने प्रस्ट पारे ।

उनका अनुसार आयोगले निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि सबै जिल्लामा सूक्ष्म अनुगमनकर्ताहरू खटाइएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment