एमाले र माओवादीको असन्तुष्ट मत तान्ने रणनीतिमा कांग्रेस

मंसिर ५ ।

कांग्रेस नेताहरु एमाले र माओवादीलाई जाने लोकतान्त्रिक मत आफूतिर तान्ने अभ्यासमा देखिन्छन् । वाम गठबन्धनबाट एमाले या माओवादीका उम्मेदवार उठेका क्षेत्रमा दुवै दलको सोलोडोलो मत नखस्ने सम्भावनामा खेल्न खोजेको देखिन्छ, कांग्रेसले ।

एमाले भएका कारण माओवादी र माओवादी भएका कारण एमालेका उम्मेदवारलाई मत दिन नचाहने मतदातालाई आफूतिर तान्ने कांग्रेसको रणनीति देखिन्छ । तथापि, त्यस्तो मत ग्रामीण इलाकामा नभई शहर/बजारमा मात्र तान्न सकिने विश्वास कांग्रेसमा देखिन्छ ।

ग्रामीण भेगमा असाध्यै प्रतिबद्ध कार्यकर्ता भएकाले एमाले र माओवादीको मत कांग्रेसले प्राप्त गर्ने सम्भावना कमजोर देखिन्छ । शहरी इलाकामा भने आफ्नो पार्टीले भनेकै आधारमा अर्को पार्टीलाई भोट हाल्ने सम्भावना कमजोर देखिएको कुरालाई आफ्नो अवसरका रुपमा देखेका छन्, कांग्रेस उम्मेदवारहरुले ।

मत पनि त्यस्तै ठाउँमा बढी छ, जुन कांग्रेसका लागि लाभदायक सिद्ध हुन सक्छ । त्यही मत निर्णायक बन्ने सम्भावना पनि उत्तिकै छ ।

नयाँशक्ति पार्टी र मधेशी दलहरुसँगको चुनावी गठबन्धनबाट खासै फाइदा बटुल्न नसकिने विश्लेषण कांग्रेसभित्र देखिएको छ । नयाँशक्तिले गोरखाका दुईबाहेकका अधिकांश निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ ।

राप्रपासँगको तालमेलबाट भने राम्रै लाभ उठाउन सकिने बुझेका छन्, कांग्रेसजनले । जस्तो- काठमाडौं-४ मा मात्र राप्रपाको करिब ३५ सय मत छ । उक्त मत आफ्ना पक्षमा खस्ने कुराले कांग्रेस उम्मेदवार गगन थापामा उत्साह देखिन्छ ।

‘कतिपय ठाउँमा राप्रपाको राम्रो मत प्राप्त गर्न सकिने वातावरण बनेको छ, जुन कम्युनिस्टलाई नजाने मत हो,’ थापा भन्छन्, ‘र, त्यो अन्डर स्टिमेट गर्ने मत पनि होइन ।’ उनको बुझाइमा कतिपय निर्वाचन क्षेत्रमा राप्रपाको मत निर्णायक बन्न सक्छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment