हलेसी गुफालाई यसरी गरियाे हिन्दुकरण

मानबहादुर रार्इ —  

खोटाङ जिल्लाको पश्चिमी भेगमा हलेसी गुफा छ । यस गुफाबारे धेरैलाई जानकारी छ । यसका बाबजुद यसको ऐतिहासिक, साँस्कृतिक, धार्मिक पक्षबारे धेरैलाई थाहा नहुन सक्छ ।

हलेसी किराती पुर्खाको पातेसुङ र डाकिहँमाको बस्ने ठाऊँ घर हो । हलेसीमा एउटा मात्रै गुफा छैन । धेरै गुफा छन् । ती गुफाहरु किराती पुर्खा पातेसुङ र डाकिहँमाको घर थियो । त्यतिबेला घर बनाउने चलन थिएन । सिकारी युग थियो । जंगलमा कन्दमुल र फलफूल खोजेर खाने चलन थियो । यसैले घरभन्दा पनि बासस्थान थियोभन्दा उपयुक्त हुन्छ ।

यसपछि यिनीहरुको छोरा रैछाकुले र छोरीहरु तयामा–खियामा पनि यहीँ गुफामा जन्मी-हुर्केको जनश्रुति पाइन्छ । पछि रैछाकुलेले वाइलुङमा भन्ने सँग बिहे गर्यो । बिहे यहीँ हलेसी परिसरमा भएको थियो । किरातीहरुमा बिहेको चलन यहीँबाट सुरु भएको मानिन्छ ।

यसअघि बिहे भनिए पनि जोडी बाँध्ने र यौन संसर्ग गर्नेमात्र प्रचलन थियो । औपचारिक विधिपूर्वक बिहे गर्ने प्रचलनचाहिँ यहीँ समयबाट सुरु भएको हो । बिहेमा विधिपूर्वक आफ्नो दिदीहरुलाई बोलाएर शिर उभ्याउने काम भयो । सिली नाच्ने काम भयो । र, सबै विधिविधानहरु वाछिमाला बुझाउने कार्य वा वैवाहिक कर्मकाण्ड मुन्धुमअनुसार भयो । यसरी रैछाकुलेको बिहे भव्य भयो । र, यहीँ उनीहरु बस्न थाले । यसैले किराती नक्छुङहरु धामी बस्दा उनीहरु हिँड्ने बाटोको बिसौनीमा हलेसी पनि एउटा पर्छ ।

विवाह भइसकेपछि रैछाकुलेले घर बनायो । किनभने उनको श्रीमती राजकुमारी थियो । वाइलुङ्मा नागराजाका छोरी थिइन् । दरबारमा बस्थिन् । दरबार भन्नाले अलिकति अग्लो र ठूलो घर हुनुपर्छ । यसो हुनाले रैछाकुलेलाई पनि घर बनाउनु पर्छ भन्ने लाग्यो र घर बनाउन थाले । घर बनाएर बसे । गुफा छाडे । यसपछि किरातीहरुले पनि घर बनाएर बस्न थालेको हो । कपडा लगाउन थाले । किनभने यसै समयबाट खेतिपाती सुरु भएको थियो । किराती समाजलाई कृषि युगमा प्रवेश गराउनमा रैछाकुले र उनका दिदीहरु तयामा–खियामाको योगदान रहेको पाइन्छ ।

यसरी धेरै समय बित्दै जाँदा हलेसी गुफा गुमनाम हुँदै गयो । यसरी गुमनाम हुँदै जाँदा धेरै वर्षपछि लगभग एक हजार वर्षअघिको कहानी हुनुपर्छ । हलेसीस्थित गैह्रीगोठका बागमारा राईले हलेसी गुफा फेरि पत्ता लगाए । बाग मार्ने भएकाले उनलाई बागमारा राई भनिन्थ्यो । ऊ सिकारी थियो । खेतिपाती गरेपनि सिकारी गर्ने प्रचलन किरातीमा धेरैपछिसम्म थियो ।

यसरी उनी सिकार खोज्दै जाँदा उसको कुकुर एउटा ठूलो खाल्डोभित्र खस्यो । खसेर कुकुर तल कराउन थाल्यो । बँदेल लखेट्दालखेट्दै कुकुर खसेपछि यस्तो घनघोर जंगलमा कुकुर खस्ने ठाउँ के रहेछ ? भनी हेर्दा एउटा ठूलो गुफा देख्यो । तर, तल झर्न गाह्रो थियो । उनले अनेक प्रयत्न गर्यो तर कुकर झिक्न सकेन । दिनभरि प्रयास गर्दा पनि नसकेपछि घर फिर्यो ।

भोलिपल्ट आउँदा पनि कुकुर कराइरहेको थियो । दुई तीन दिनसम्म आएर हेर्यो, कुकुर कराइरहेकै थियो । तर, झर्न सक्ने अवस्था थिएन । उसलाई कुकुरको साह्रै मायो लाग्यो र साथीभाइसँग सल्लाह गरेर डोरोको लट्टा बाँधेर गुफाभित्र भित्र झरे । तर, कुकुर देखिएन । कुकुर हराइसकेको थियो । राँको बालेर खोजे तर देखेनन् । उनीहरुले केचाहिँ देखे भने झलल सबैतिर ढुंगा बलिरहेको र टल्किरहेको देख्यो । राँकोको रिफ्लेक्सनले हुनुपर्छ भित्र झलझलाकार देख्यो । यसरी हलेसी गुफा पत्ता लागेको थियो ।

यसपछि यो कुरा सेन राजाकहाँ पुग्यो । यो घटना सेनकालीनमै भएको हुनुपर्छ । यसबेला किरातीहरु सेन अधिनस्थ थियो । किरातीहरुको साना –साना राज्य थियो । ती सबै सेनअन्तर्गतै स्वायत्त थिए । हलेसीनै पनि होलेसुङ राजाको नामबाट रहन गएको हो । होलेसुङ

दुर्छिमका राजा थिए । उनको दरबारका भग्नावशेष अझै दुर्छिमस्थित छापडाँडामा छन् । उनैको नाति–पनाति भुवारामलाई पृथ्वीनारायण शाहले मारेको हो । भुवाराम पनि सेनअन्तर्गतकै राजा थिए ।

यसरी सेनहरुले गुफा पत्ता लगाएको चाल पाएपछि भारतबाट शंकराचार्य बोलाए । किनभने सेनहरु हिन्दुका रक्षक थिए । हिन्दु अधिपति थिए । यसैले भारतबाट शंकराचार्य बोलाएर विधिवत् रुपमा हलेसी गुफालाई महादेव भनी प्रचारप्रसार गरियो । गुफाभित्रका ढुंगालाई शिवलिंग भनियो । यसरी हलेसी गुफालाई हिन्दुकरण गरियो ।

अझ यसपछि तिब्बतबाट पद्मसम्भवले यहीँ स्थानमा आएर ध्यान गरे । यसपछि मातारिका भनेर बुद्धहरुको पनि पवित्रस्थल बन्यो । यसरी किरातीहरु विस्थापित भए । किरातीहरु विस्थापित भएपनि अझै बिजुवाहरु त्यहाँ गएर सिली नाच्ने, अदुवा र चोखो जाँडले हान्ने गर्छन् । यहीँ हलेसी गुफाबाट किराती सभ्यता सुरु भएकाले सिली नाच्ने गर्छन् । तर, अहिले आएर यस ठाउँमा सिली नाच्ने, अदुवा र चोखो जाँडले हान्ने कार्यलाई रोक लगाउन खोजिएको छ । (याे लेख किरातसंसार डटकमबाट लिइएकाे हाे)

Facebook Comments

सम्बन्धित

Leave a Comment