हाम्राे जित व्यक्तिगत हाेइन, जनताकाे जित हुनेछः अशाेक रार्इ

धरान । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले निर्वाचनमा उम्मेदवार विजयी हुँदा जनताले आफूले जितेको महसुश गर्न सक्ने पार्टी र उम्मेदवारलाई मात्रै भोट दिएर जिताउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस र संघीय समाजवादी फोरमको संयुक्त लोकतान्त्रिक गठबन्धनका तर्फबाट धरान उपमहानगरपालिका १२ चतरालाइनस्थित चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘हामी यस्तो पार्टीलाई जिताऔ, यस्तो उम्मेदवारलाई जिताऔ, जहाँ उम्मेदवार मात्रै होइन जनता पनि जित्दछन् । जनताले जितेको महसुश गर्न सक्दछन् ।’
विगत छब्बीस बर्षमा यो क्षेत्रमा पाँच सातजना उम्मेदवार जिते पनि जनताको जीतमा रुपान्तरित हुन नसक्दा धरानको विकास र समृद्धि रोकिएको राईले बताए ।

जनताको जीत आफ्नो लागि सर्वोपरि रहेको भन्दै उनल भने, ‘हामी जागरुक छौं, हामी प्रतिबद्ध छौं । हामी हाम्रो जीतलाई व्यक्तिगत जीत होइन यस क्षेत्रको जनताको जीतमा रुपान्तरित गर्नेछौ ।’

सुनसरी १ बाट पूर्व निर्वाचितहरुको भूमिकाको चर्चा गर्दै राईले भने, ‘नेकपा एमालेले भन्छ, लौरो उठाए पनि जित्छु । लौरो उठाउने क्रममा एमालेले धेरै मान्छेलाई लौरो बनाएर उठायो । निर्वाचनमा उठाउन एमालेलाई लौरो नै चाहिने रैछ ।’

दोस्रो संविधानसभाको निर्वाचनमा सुनसरी १ बाट निर्वाचित भएका सभासद कृष्णकुमार राईको प्रसंग झिक्दै नेता राईले कृष्णकुमारजस्ता विद्वान भलाद्मी मान्छेले लौरो उम्मेदवारलेजस्तो भूमिका नगर्ने र आफ्नै विवेकले काम गर्ने भएकाले उनलाई सबै ऐरेगैरे मन्त्री हुँदा पनि उनलाई केही नबनाइएको बताए ।

एमाले नेता रेवतीरमण भण्डारी इमान्दार र बौद्धिक नेता भएकैले पाखा पारिएको भन्दै नेता राईले एमालेलाई आफूले भनेजस्तो काम गर्ने लौरो उम्मेदवार चाहिएको बताए ।

असन्तुष्ट पक्षका आवाज सम्बोधन गर्दै सबैलाई अपनत्व महसुश गराउने सक्ने गरी संविधान संशोधन गर्दै जानुपर्ने भन्दै उनले संविधानलाई कार्यान्वयन गर्नका लागि तीन सय भन्दा बढी कानुन निर्माण गर्नुपर्ने बताए ।

राईले त्यसका लागि भुमिका निर्बाह गर्न सक्ने सक्षम मान्छे निर्वाचित हुनुपर्ने बताए । हरेक पाँच वर्षमा नयाँ मान्छे छान्दै पठाउँदा त्यो मान्छेले काम सिक्दै समय बित्ने भएकाले जनताले निर्वाचित प्रतिनिधिबाट जहिल्यै निराश हुनुपरेको उनले बताए । उनले भने, ‘जनताको ध्यान त्यहाँ जानुपर्यो कि यस्तो मान्छे छानियोस् जसले आफ्नो अनुभव प्रयोग गरोस् । राष्ट्रिय क्षेत्रमा योगदान दिन सकोस ।’

सुनसरी १ (क) बाट प्रदेशसभातर्फका प्रत्यक्ष उम्मेदवार किशोर राईले धराने जनताले पानीको हाहाकारले काकाकुल हुनु परेको बताउदै लोकतान्त्रिक गठबन्धनले जिते खानेपानीको समस्या हल गरिने बताए ।
उनले भने, ‘खानेपानी आयोजनाको विरोध हुँदा कांग्रेसको सभापतिको हैसियतमा मैले नै अगाडि सरेर आयोजना सञ्चालनको लागि वातावरण बनाएको हुँ । आयोजना सफल पार्न धेरै कसरत गरेको छु । यो आयोजना जसरी पनि सफल हुन्छ । म बाचा गर्छु ।’

कार्यक्रममा नेपाली कांग्रेस निर्वाचन परिचालन मूल समितिका संयोजकहरु कांग्रेसका विनोद राई र संघीय समाजवादी फोरमका ध्यानबहादुर राईले सम्बोधन गरेका थिए । जसमा कांग्रेसका धरान नगर सभापति तिलाक राई, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, मदन ढकाल, राजु श्रेष्ठलगायत उपस्थित थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment