१० वर्षपछि पक्राउ परे ‘मोस्ट वान्टेड’ ठगुन्ना

असोज २० ।

आधा दर्जन गम्भीर अपराधमा संलग्न एक ‘मोस्ट वान्टेड’ व्यक्ति प्रहरी हिरासतबाट भागेको १० वर्षपछि पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त घर भएका ३६ वर्षीय प्रकाशसिंह ठगुन्नालाई प्रहरीले बुधबार घरबाटै पक्राउ गरेको हो । उनी बम विस्फोट, हत्या, बलात्कार तथा गोली प्रहारजस्ता अपराधमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

उनी २०६४ सालमा पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका वेला सुरक्षामा खटिएका प्रहरी जवान कृष्ण श्रेष्ठलाई आर्थिक प्रभावमा पारी भागेका थिए । लामो समय विदेशमा लुकेर केही समयअघि मात्र घरमै बस्दै आएका थिए । महानगरीय अपराध महाशाखाबाट इन्सपेक्टर रोशन खड्काको कमान्डमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध हत्या तथा हत्या प्रयासको मुद्दा रहेको अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए ।

छुटेको एक महिनामै गोली प्रहार
१३ वैशाख ०६४ मा छुटेको एक महिनापछि उनले एक व्यक्तिलाई गोली हानेका थिए । २१ जेठ ०६४ मा एयरपोर्टको गल्फ कोर्समा शंकर अधिकारीलाई गोली हानेको घटनामा उनको समूहको संलग्नता रहेको प्रहरी अधिकारीहरूको भनाइ छ । त्यसको २० दिनपछि अजिमा फेसन होम लाजिम्पाटका सञ्चालक शूरवीर श्रेष्ठलाई पनि उनकै समूहले सिफलमा गोली हानेको थियो ।

जेलबाट छुटेको दुई महिनापछि २१ असारमा उनले एक वृद्धाको हत्या गरेका थिए । बत्तीसपुतलीस्थित हेमन्तशमशेर राणाको घरको रेखदेख गर्ने ७८ वर्षीया मेरी रोज भन्ने मिश्रीमाया श्रेष्ठको हत्या गरिएको थियो । झ्यालको ग्रिल फुटाई घरभित्र प्रवेश गरी साडीले दुवै हात बाँँधी घाँटी थिचेर ठगुन्नालगायत व्यक्तिले हत्या गरेका थिए । हत्यापछि घरमा भएको सुन, नगद तथा धनमाल डकैती गरेका थिए ।

घटनाको सात दिनपछि प्रहरीले ठगुन्नालाई पक्राउ गर्यो । तत्कालीन महानगरीय प्रहरी वृत्त बौद्धले उनलाई हिरासतमा राखी अनुसन्धान अघि बढाएकोमा १७ साउनमा उनी हिरासतबाटै भाग्न सफल भए । प्रहरी जवान कृष्ण श्रेष्ठले उनलाई भाग्न सहयोग गरेका थिए । ठगुन्नालाई भगाएपछि फरार भएका श्रेष्ठ दुई दिनपछि नै पक्राउ परे । तर, ठगुन्ना भने भागेको भाग्यै भए ।

डिफेन्स आर्मीको आवरणमा अपराध
डिफेन्स आर्मीको नाममा चन्दा असुल्ने तथा आपराधिक गतिविधिमा संलग्न रहेका कैलाश सिंहको समूहसँग ठगुन्नाको संलग्नता रहेको प्रहरीले जनाएको छ । सो समूहले ३० पुस ०६४ मा भोटाहिटीमा बम विस्फोट गराएको थियो, जसमा तीनजनाको मृत्यु भएको थियो । सो समूहका नाइके कैलाश सिंह गत जेठमा जेलबाट छुटेका थिए । गणतन्त्र दिवसमा कैद माफी पाई उनी छुटेका हुन् । जेलबाट छुटेपछि सिंहले भीमदत्तस्थित घरमै गएर ठगुन्नालाई भेटेका थिए । सिंह पनि पूर्वसैनिक हुन् । मिश्रीमाया श्रेष्ठको हत्यामा खुन डाकामा उनी पनि संलग्न थिए । जेलबाट छुटेपछि फेरि उनीहरूले अर्को आपराधिक योजना बनाइरहेको हुन सक्ने प्रहरीको आशंका छ ।

सेनामा रहँदै अपराध यात्रा
ठगुन्ना पूर्वसैनिक हुन् । सैनिक सेवामै रहेका वेला उनको अपराध यात्रा सुरु भएको हो । उनले ०५७ सालमा नेपाली सेनामा जागिर खाएका थिए । १४ असार ०६१ मा ललितपुरको भैँसेपाटीमा होटल सञ्चालन गरी बस्ने एकजना महिलालाई उनले बलात्कार गरेका थिए । बलात्कार मुद्दामा उनी दुई वर्ष मात्र जेल बसे । ०६४ वैशाखमा जेलबाट छुटेपछि उनी पेसेवर रूपमै आपराधिक गतिविधिमा संलग्न भए ।

(नयाँपत्रिकाबाट साभार)

Facebook Comments

सम्बन्धित

Leave a Comment