संघीय समाजवादी फोरमले खोटाङबाट अशोक राईलाई उठाउने

खोटाङ, १९ असोज । संघीय समाजबादी फोरम खोटाङले आसन्न संघ र प्रदेशसभा निर्वाचनका लागि बरिष्ठ नेता अशोक राईलगायतका व्यक्तिलाई उम्मेद्ववारको नाम सिफारिस गरेको छ । आगामी मंसिर १० गते र २१ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेद्वार छान्न मंगलबार दिक्तेलमा बसेको संघीय समाजवादी फोरमको बिस्तारित बैठकले बरिष्ठ नेता राईलगायतलाई प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट प्रत्यक्ष उम्मेद्वारकारुपमा उठाउने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि बरिष्ठ नेता राईसहित रमेश राई शरणकुमारको नाम पनि उम्मेद्वारकारुपमा सिफारिस गरिएको सो पार्टीका नेता देवकुमार राईले बताए । संघीय समाजवादी फोरमले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ भने ६ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि भगवान चामलीङ, माधवराज राई, बयानसिं राई, नैनबहादुर कट्वाल, अञ्जना राई र लालबहादुर बिश्वकर्माको नाम समानुपातिकतर्फ सिफारिस भएका छन् ।

प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा नविन राई, विवेक राई, राकेश राई र कर्णबहादुर खत्रीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ भने डिबी सरोज, सिद्धिकुमार राई, नयनकुमार राई, कमानसिं राई, तेजमायाँ दुमी र दिपक तामाङको नाम पठाइएको संघीय समाजबादी फोरमले जनाएको छ । प्रदेशसभाका लागि क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा देवराज राई, टंकबहादुर थापा र विजेन्द्र राई तथा समानुपातिकतर्फ प्रेम राई, मदन राई, दलबहादुर मगर, मधुकर राई, टंकमायाँ मुग्राती र आशा राईको नाम सिफारिस भएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment