कुरा चाउचाउ कविताको

– कोसी किनारे —

चाउचाउ कविता फेसबुकमा लेखी रहँदा फेसबुकमा एकजना सर्बसाधरण उपनामका मित्रले सोध्नु हुन्छ केहो यो चाउचाउ कविता? मैले कवि हाङयुग अज्ञातलाई एकचोटि पढिदिनु हुन ती मित्रलाई अनुरोध गरेँ । चाउचाउ कविताका अभियान्ता हुन कवि हाङयुग अज्ञात । हाङयुग हङकङमा ब्यस्त समयको बाबजुद चाउचाउ कविताको ह्याण्डिल घुमाई रहनु भएको थियो । यतिबेला भने चाउचाउ कविताको बिसर्जन भैइसकेको कुरा फेसबुक मार्फत अभियान्ता हाङयुग अज्ञातले बताईसक्नु भएको छ । चाउचाउ कविता कवि हाङयुग अज्ञातले लेख्न थाल्नु भएदेखि फाटफुट अन्य केही कविहरुले लेख्न खोजेको भेटिएको छ । चाउचाउ कविता कुनै मजाक, कुनै टाईमपास, कुनै बेकम्फुसे, कुनै निकम्मा लेखन हुँदैहैन । र फेरि चाउचाउ कविता कुनै नयाँ वाद, नयाँ प्रयोग, नयाँ बिधा पनि हुँदैहैन । यो त कविता लेखनको फरक र शसक्त एउटा आयाम हो । जहाँ समग्र नश्लिय चेतछ जहाँ पहिचानको प्रष्ट विम्ब छ । जहाँ उत्पीडन र बर्ग बिभेदको उन्मुक्तता छ । र सिर्जनशिल अराजकता सँगभने नजिक नजिक छ । हङकङको चिनिँया क्यान्टोनिज भाषा चाउचाउ नेपालीमा भने टापु भन्ने बुझिन्छ । नेपालीहरु संसारभरी विविध कारणले छरिने क्रममा हङकङको चाउचाउमा पनि नेपालीहरुको बसोबास रहेको छ । र त्यँहि हुनुहुन्छ नेपाली साहित्यका भुक्तभोगी र चेतनशील एक नश्लिया अनुहार हाङयुग अज्ञात । र उहाँले लेखिरहनुभो फेसबुकमा दैनिक ३/४ वटा चाउचाउ कविता । उसो त चाउचाउ कविताको पुस्तक (होङकोङ) कवि हाङयुग अज्ञात ज्युले आम पाठकहरुलाई थमाई सक्नु भएको छ । ड्युटीमा रहँदा रहँदै कुनै व्यस्त काममा हुँदाहुँदै या कुनै बस यात्रामा ट्रेनयात्रामा या पैदलयात्रामा फुरिहाल्ने अकस्मातको उत्कृष्ट काव्य सिर्जना नै चाउचाउ कविता हो भन्न सकिन्छ । सरल, सिधा, यथार्थ, बर्तमान बिम्ब, सटिक, उत्कृष्टता नै चाउचाउ कविताको एक बिशेषता पनि हो ।

अभियान्ता कवि हाङयुग अज्ञात ज्युले के पनि भन्नु भएको छ भने–“यंहा नेटिजन पाठकहरु क्यान्डिक्रस खेलेर मस्तिष्क र हृदयको सत्यनास गरिरहेका थिए । मैले क्यान्डिक्रस खेल्ने समयमा नेपाली कविता पढुन भनेर उनिहरुको लागि छिटोमिठो कविताको अबधारणा निर्माण गरेको हुँ ।” त्यसपछिको चाउचाउ कविता लेखन भने हङकङमा मात्र सिमित रहन सकेन । त्यसले क्रमश अन्य मुलुकमा रहेका नेपाली कविता मनहरुलाई पनि स्पर्शगर्दै गईरहेको अबस्था छ । संसार आफैमा एक चाउचाउ हो । र तपाईं हामी चाउचाउका अनिवार्य मरमसला हौं । र जुन मरमसलाहरुले स्वादिष्ट चाउचाउको निर्माण गर्दछ ।

कस्ता छन त चाउचाउ कविताहरु?

अभियान्ता तथा कवि हाङ्युग अज्ञात ज्युको चाउचाउ कविता संग्रह “होङकोङ” भित्रका केहि कविताहरुलाई यँहा राख्न चाहान्छु ।

किनभने हामी
यौटै समयमा
घरमा नहुन सक्छौ
अनि यो सहरमा
सँधै ढोकामा
चाबी लाएर
बाच्नुपर्छ ।
(चाबी )

केही कविताहरु हङकङबाट बाहिर उफ्रीन खोजे पनि समग्रमा कविताहरुले होङकोङकै हेरिफेरिमा हिँडडुल गरेका छन् । कुनै निश्चित समय र स्थानको बिना आवश्यक उपयोग गर्नमिल्ने खाध्यबस्तु चाउचाउ जस्तै जहाँ र जतासुकै पनि सिर्जना गर्न सकिने छोटो मीठो चोटिलो र गतिशील साहित्य लाई चाउचाउ साहित्य होकी भनेर झट्ट पाठकहरुले बुझ्न खोजेता पनि चाउचाउको अर्थ भिन्नरहेको कुरा कवि हाङयुग अज्ञात ज्युले माथिनै बताई सक्नुभएकोछ” सिर्जनशील अराजकता देखि चाउचाउ साहित्य सम्म आईपुग्दा कवि हाङयुग आज्ञात सुब्बा सापसम्म बनि सकेको चाउचाउ कविता किताब “होङकोङ”को भूमिका गफमा जेबि पुन मगरले घोषणा समेत गर्नुभएकोछ । होङकोङमा पाईला टेक्न पाउन लाई हाम्रो केही समाजले भाग्यको खुड्किला सम्झिरहेको यो बेलामा कवि हाङयुग लेख्नुहुन्छ –

हरेक साल आँधिले
उसको देशमा
उसको छाप्रो उडाउँदा
तिमिले यहाँ हरेक दिन
उसको खिल्ली उडायौ
हरेक दिन
तिमिले उसलाई मार्यौ
उसको स्वाभिमानलाई
अखबार जस्तै च्यात्छौ।
(प्रिय होङकोङ)

मेट्रो सहर आधुनिक सहर सायद अति आधुनिकताबाद तिर उन्मुख छ त्यसैले कहिलेकाहिँ यहाँ आधुनिकतामा राक्षसता पनि विकास भैदिन्छ रत हाङयुग कविहरु ती सहर लाई चेतावनी दिदै लेख्छन्

तर अस्ति भर्खरै
उसले जन्माएको छोरा
तिम्रो बलात्कारको नतिजा हो
एकदिन तिम्रो त्यो अबैधानिक छोराले
स्वयं तिमिलाई बलात्कार गर्नेछ ।
(प्रीय होङकोङ)

अभियान्ता कवि हाङयुग अज्ञात ज्युको प्रकाशित चाउचाउ कविता किताब “होङकोङ” कोबारेमा केही पृष्ठहरु पल्टाई रहँदा सरलतामा गहिरो कबिता निखन्ने कविमा हाङयुगलाई देख्न सकिन्छ । मानबिय आवश्यकताहरु असीमित हुन्छन् एक अर्थशास्त्रीले भनेजस्तै हाङयुग गतिलो कवित्व दर्शन दिँदै लेख्नुहुन्छ –

तर मान्छे अझै खुसी हुन सकेन
त्यसैले उ
आज पनी
भमरा माहुरी जस्तो भुँभुँ भुँभुँ
गुनगुनाइ रहेको छ
सल्लाघारी जस्तो
खोला जस्तो
बतास जस्तो
समुन्द्र जस्तो
ताराहरु जस्तो
मान्छे अझै पनि
जीबनमा मीठो धुन खोजीरहेको छ ।
(संगित)

उहिले उहिले त्यो फलामको ढोका खोलेर हाम्रा पुर्खाहरु आउनेजाने गर्थेरे । यतिबेला त्यो ढोकामा अर्कै अनुहारहरु आउने जाने गर्दछन । हामी त्यो ढोकालाई स्पर्शसम्म गर्नबाट बन्चितछौं । तिनै अनुहारहरु त्यहाँ बस्छन खान्छन उफ्रीन्छन अघाएपछी तिनकै आफन्त अनुहार हरुलाई त्याँहा वसाउछन् । यो अबस्थामा होङकोङबाट फालहान्दै त्यो ढोकानजिक पुगेर हाङयुग धावा बोल्नुहुन्छ–

तर हाम्रो शत्रु
त्यो फलामको ढोका हो
जँहाबाट हाम्रा अग्रजहरुको
बाटो सकियो
हामीसित चाबी छ प्रीय मान्यबरहरु
खै! खै! बाटो छोड्नुहोस त
त्यो फलामको ढोकासम्म पुग्न पाँउ ।
(शत्रु)

अचेल कसलाई छैन र हतार? बस्तिलाई जीवन जिउनुको हतार छ । गाउँलाई मेलापात जानू र आउनुको हतार छ । शहरलाई सुपर मार्केट जानू र बजार भाउ बढाउनुको हतार छ । सिंगो देशलाई विकाशको चरम फड्को मार्नुमा हतार छ । तर कविज्युलाई भने यो बेलामा रमिता हेर्नमा हतारो देखिन्छन–

कारलाई हतार छ
बसलाई हतार छ
रेललाई हतार छ
स्टारफेरी र ट्रामलाई पनि हतार छ
बिहान ९ बजेको समय
म भने जेब्राक्रसमा उभिएर
हेरिरहेको छु यो शहरको ब्यास्तता ।
(हतार)

हतारै हतारको यो शहरबाट केहि कोष उता गएर यो बिभेदरुपी प्रश्नहरुको भिडबाट फेरि कबि शक्तिशाली प्रश्न गर्नुहुन्छ–

प्रेम र स्नेहले बाँधेर
मैले जो सम्भोग गरें
उन्नत बिचार योनीमा
परिवर्तनको लिङ्गले
के म तपाँईको अपराधी भएं?
हाम्रो नश्ल यौटै हो
तर जात किन फरक?
किन म पुरुष ?
किन तपाईं नारी?
के हामी मान्छे हुन सक्दैनौ?
म तपाईसित
आफ्नो बजुद मागिरहेकोछु
कृपया भन्नुहोस
म तपाइँको को हुं?
(म तपाइंको को हुं?)

चाउचाउ कबिता किताब “होङकोङ” भित्र अभियान्ता कवि हाङयुगज्युले आफ्नै मौलिकतामा चाउचाउका गतिशील कविताहरु यसरि पस्कन सफल हुनुभएको छ । पहिचान, बर्तमान, भविष्य, क्रान्ति र प्रगतिशीलताका बिम्बहरुनै यस चाउचाउ कविता भित्रका सुन्दर काब्यबान्कीहरु हुन ।

बिसाउनीमाः–
चाउचाउ कविताको बिसर्जन हङकङबाट अभियान्ता हाङयुग अज्ञात ज्युले फेसबुक देखिनै गरि सक्नुभएको छ । अभियानले बिसर्जन लिए पनी अभियानले छाडेको डोबहरु भने अझैपनी ताजा बनेर पाठकहरुको मस्तिष्कहरुमा सल्बलाई रहेको छ । चाउचाउ कविताको यो पूर्ण बिसर्जन चैं भन्न मिल्दैन पाठकिय दृष्टिबाट । नेपालका केहि कवि लेखकहरुले चाउचाउ कवितालाई वाहियातको उपमा दिईरहंदा १६ वटा देशमा कार्यारत नेपाली पाठक र लेखकहरुले चाउचाउ कविताको समर्थन स्वरुप चाउचाउ कविता लेखेर अभियान्ता हाङयुग अज्ञातको ईनबक्समा पठाएका थिए । यो नतिजालाई हेर्दा खेरी अभियान्ताले चाउचाउ कविता लाई हत्तारोमै बिसर्जन गर्न खोजेको आभास हुन्छ ।

“सर चाउचाउ कविताको बारे केहि लेखिदिनु पर्यो” नेपालबाट कवि किरात नाकाराले यसरी मलाई भनेपछि म अक्क न बक्क भएको थिँए ं। जबकी चाउचाउ कविताकोबारे सम्पुर्ण बुझ्न र खोज्न नपाउंदै उता अभियान्ताबाटै अभियानको बिसर्जन भईसकेको थियो ।
यो बेला म बबुरोले चाउचाउ कविताकोबारे केहि लेख्नु चैँ एक अयोग्य चिकित्सकले कुनै सल्यक्रीया गर्नु सरह थियो ।

(अरुणिमा साहित्यिक पत्रिका, वर्ष १३, अंक १, २०७४ मा प्रकाशित)

Facebook Comments

सम्बन्धित

Leave a Comment