आज हिन्दू नेपालीहरुको दशैं, टीकाको शुभसाइत ११ः५५ मा

असोज १४ ।

आज हिन्दू  नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । टीकाको शुभसाइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
नेपाली हिन्दू समाजमा भव्यताका साथ मनाइंने महान्  पर्व बडा दशैंको दशौं दिन आश्विनशुक्ल दशमी तिथिमा शक्ति स्वरुपा भवानी माता सिद्धिदात्रीको पूजाआजा गरिन्छ ।  सिद्धिदातृ मातालाई विजय र दानकी प्रतीक मानिएको छ । उनको वदन वर्ण खैरो रहेको छ । विद्या, ध्यानसाधना कलासाधकहरुले नित्य सिद्धिदातृ देवीको पूजा गरिरहेका हुन्छन् । देवता,सिद्ध, गन्धर्व,यक्ष,असुर लगायतले आफ्नो कार्यसिद्धिका  लागि सिद्धिदातृदेवीको आराधना गर्दछन् । भगवान शंकरले माता सिद्धिदातृको पूजाआराधना गरी आफ्नो शरीरको देब्रपट्टि देवीलाई उत्पन्न गराई अर्धनारीश्वर बन्न सफल भएको शास्त्रहरुमा उल्लेख छ । भगवान श्रीरामले  शारदीय नवरथामा यिनै देवीका स्वरुपको पूजाआराधना तथा शक्ति साधना गरी आसुरी वृत्तिका रावणमाथि विजय प्राप्त गरेको पनि उल्लेख छ ।
नवरात्रको अन्तिम दिन आदिशक्ति भगवतीमाता सिद्धिदातृ, विजया वा अपराजिताको भक्तिपूर्वक पूजा गरिन्छ । गुह्यरुपमा समेत पूजा आराधना गर्न आह्वान गरिएकी देवीलाई दशैंको दशौं दिन विधिपूर्वक बिदा गरिन्छ । देवी विसर्जन गर्दा नवरात्रभर देवीपूजनमा प्रयुक्त टीका वितरण गरी निधारमा लगाउने र नौ दिनदेखि जमाइराखिएको जमरालाई सिद्धिको प्रसाद मानेर शिरमा लगाउने गरी देवी मन्दिर वा कोटघरमा बाँडिन्छ । दशमीका दिन बिहानै देवीमन्दिरमा पुगेका बूढापाकालाई यो प्रसाद दिइन्छ । कोटबाट प्राप्त  देवी प्रसाद घरघरमा लगी दशैंघरका जमरा र टीकामा मिसाइन्छ । घटस्थापनाको घडाबाट जलअभिषेक गरी घरका ठूलाबडा वा जेठासदस्यबाट टीका लगाइदिने गरिन्छ ।
शुभसाइतमा देवी प्रसाद टीका लगाएपछि शिरमा पहेंला जमरा सिउरिदिने र शिरमा हात राखेर ठूलाबडाले आशीर्वाद दिने गरिन्छ । यसरी आशीर्वाद दिंदा पुरुषलाई आयु द्रोण सुते … भन्ने मन्त्र उच्चारण गरिन्छ भने नारीलाई आशीर्वाद दिंदा जयन्ती मंगला काली ..भनेर सुखसमृद्धि, सुसन्तान,ज्ञान,विद्या अटल सौभाग्य र दीर्घायुको आशिष दिइन्छ ।  टीकाका दिन अस्त्रशस्त्रको आधार वृक्ष शमी दर्शन गर्ने परम्परा छ । शमीवृक्षमा देवीदेवताले हतियार थन्क्याउने विश्वास गरिन्छ ।
राम्रा वस्त्र आभुषण सौभाग्यसूचक गरगहना लगाई मान्यजनबाट दहीमा मुछेका अक्षताको रातो वा सादा टीका  लगाई सिद्धि प्राप्ति र आसुरीवृत्तिमाथि जित हासिल गर्न देवीले शक्ति दिएको अर्थबोध गराउने विजयको  टीका निधारभरि लगाई पूरै गाउँघर र आफन्तर कुलकुटुम्बकहाँ गइने हुनाले यस दिनलाई विजया दशमी पनि भनिन्छ । चाडपर्व बडो पर्व मानिने र बडाजनबाट आषिश थापिने भएकाले दशैंलाई बडादशैं भनिएको हो । यति धेरै दिन लगाएर महत्व र उल्लासका साथ मनाइने पर्व नेपाली समाजमा अर्को छैन । जहाँ भए पनि दशैंको टीका लगाउन मानिस घर फर्कन्छन् । आफन्त पनि टीका लगाउन आउने सरसन्तानको बाटो हेरी पर्खिरहन्छन् ।।
दशैंको यो उल्लासमा टीका जमरा लगाई फलफूल तथा मीठो पकवान्न सेल रोटी, अनरसा, अर्सा अचार खल्पी लगाएतका परिकार खानुका साथै मासु पनि खाने खुवाउने गरिन्छ । छरछिमेकका घरघरमा गई बूढापाकालाई भेट्ने टीका लगाउने, आशिष  थाप्ने, परिकार खाने, पिङ खेल्ने, मामाघर, मान्यवर लगायतका नलनाताकहाँ जाने वर्ष दिनको पर्वमा भेटेर भलाकुसारी गर्ने सम्बन्ध सुमधुर तुल्याउने यो पर्व नेपाली समाजको सभ्यता बोल्ने पर्व हो । यस अघि कुनै विवाद परी झैझगडा भएर नबोलेका सदस्यलाई दशैंको टीका बार्नु हुँदैन भनेर मान्यजनबाट टीका थापेर विगत बिर्सने र सम्बन्ध सुधार्ने परम्परा छ । दशैंटीका जमरा लगाई आशिर्वाद लिने यो क्रम दशमीदेखी कोजाग्रत पूर्णिमा गरी पाँच दिनसम्म चलिरहन्छ ।
दशैंको टीका र नेपाली जनमन
हिन्दूमा, बडा दशैंको टीका कति महत्वपूर्ण, मुलुकभर लाखौंलाख मानिसले एकैसाथ शुभसाइतमा टीका लगाएका छन् । आफूप्रति सदा भलो चिताउने भलाद्मी बडाजन,मान्यवरका हातबाट टीका लगाएका छन् । ढोगदर्शन गरेका छन् । मान्यताको मूर्ति साक्षात छ ।
कोही बाआमाको हातबाट टीका लगाउन गाउँघर गएका छन् । कोही देशपरदेशबाट फर्केका छन् । कर्मथलोबाट आमाबा बस्ने घरमा आएका छन् ।  एक चिम्टी टीकाको कत्रो महत्व, चारगेडा अक्षताको कत्रो गरिमा, कस्तो महिमा ।
टीका लगाउँदा अधिकाधिक देशवासी एकैसाथ जागेका छन्,एकै मुहूर्तमा साइत छोपेका छन् । एकै दिनको एकै घडीमा मुलुकवासी जुरुक्क उठेका छन् । एउटै कर्ममा करोडौं हात जुटेका छन् । यो टीकाले राष्ट्र ब्युँझाइरहेको छ । राष्ट्रिय एकता बढाइरहेको छ । त्यस्तो कुन कार्य होला जसलाई मुलुकका सर्वाधिक मानिस एकैसाथ गरुन्, एकै दरले जुटून्, त्यो यही टीका हो । जब बडादशैं दशैंको टीका लगाउने शुभसाइतको तोप टुँडिखेलमा पड्कियो तब देशैभर निधारमा टीका लगाउने हात उठे । भाग्यभालमा अक्षयी आशीर्वादका अक्षता बसे । आशिषका मन्त्र गुञ्जिए…आयुद्रोण सुते श्रीयम् दशरथे…..भनेर नरका निधार भरिए । ओं जयन्ती मंगलाकाली भद्रकाली कपालिनी….भनेर नारीका माथमा सौभाग्य सजिए । जमरा धरिए ।
टीका लगाएपछि सबै रसिला,सबै उजेला,सबै हसिला । विगतका विवाद बिर्सेर झगडिया पनि आशीर्वादका लागि झुकेका छन् । दोषीकैदी पनि फुकेका छन् । मान्यजनकहाँ पुगेका छन् । निधारभरि टीका लगाएर छरमिेकका घरदैलामा डुलेका छन् । हर्षमिलनका बात गरेका छन् ।
मुलुकमा कोही यसरी टीका लगाई रमेका बेला कोही भने टीका लगाउन नपाएर रोएका छन् । विभिन्न कारणले टीका रोकिंदा रुनेको मन पनि टीकाले स्पर्श गरेको छ । अरुको निधार भरिपूर्ण भएका बेला आफ्नो निधार खाली रहँदा भित्रभित्र छोएको छ,मन खिन्न भएको छ । घुक्क होला जस्तो भएको छ । यो भक्कानो कसरी रोकूँ जस्तो भउको छ । बगिआउने आँशु कसरी लकाऊँ भएको छ । पुछेर नसकिने गरी अश्ररधारा बगिरहेछ ।
कर्मथलोमा बिदा नमिल्दा कसैको घरमा वर्ष दिनमा आउने दशैंको टीका छुट्यो । विददेशमै अलपत्र हुँदा कसैको लाउनेखाने बेलाको टीका छुट्यो । काम गरेको ठाममा खर्चपर्च नपाउँदा हाड घोटेर गरिखाने दशैंखर्च लिएर आउन नपाउँदा टीका छुट्यो । लडाईका बीचमा भिडिरहनुपर्दा कसैको टीका छुट्यो । कसैको घरमा मरघट हुँदा दशैंको टीका रोकियो । वर्षामा आएको बाढीले सरसन्तान बगाउँदाको वियोगले दशैं रित्तो भो । परिवारका सदस्य दुर्घटनामा परेर अस्पताल बसिरहनुपर्दा यसपालिको दशैं कसैका लागि यस्तै भो । अरुले टीका लाउँदा शहीद परिवारमा फोटो हेरेर रोइरहनुपर्ने ,उसकै फोटोलाई टीका लगाइदिँदा हात धरधराएर आशुका बलिन्द्र धारा बगाई वर्षेनि टीका लगाउने पर्ने पीडा भो । लगाउँदा पनि रुवाउने,नलगाउँदा पनि रुवाउने यो कस्तो टीका । कति मर्मस्पर्शी टीका ।
टीकाका दिन कोही टुप्लुक्क आइपुग्यो कस्तो खुशियाली । अनेक उपाय गर्दा पनि टीकाका दिन घर पुग्छु भन्दा पनि टीकाको भोलिपल्ट मात्र घर पुग्नुपर्दा कस्तो खल्लो कस्तो थक्क,कस्तो बिरसिलो लगनपछिको पोते जस्तो । दशैंको टीका जस्तो  यति आत्मीय नाताले टासिएको वस्तु शायद अरु केही होला । वस्तुवादीहरु इसलाई मात्र एक चिम्टी चामल भन्लान् पुरानो चलन भन्लान्, परम्पराप्रतिको लगाव भन्लान्, अभ्यस्त व्यवहार भन्लान् । तर टीकाको महत्व यत्ति हो भने यो यति सारो टल्कने थिएन । यसको टलक त तारा समान छ । जाज्ज्वल्यमान ज्योति समान छ । एकै टकिाले जीवन जोडिन्छ । नाता गाँसिन्छ । अर्थ फेरिन्छ । विजयको घोषणा गरिन्छ । टीका लगाउँदा एउटा अर्थ छ ,टीका पुछिदा अर्कै अर्थ छ । टीकासँग यहाँ गहिरो सम्बन्ध छ । टीका निधार वा भालको भृकुटीमा लगाइन्छ । योग अनुसार तेस्रो नेत्र खुल्ने आज्ञाचक्रको बिन्दुमा लगाइन्छ । ईडा पिङगला र शुशुम्णाको संगममा लगाइन्छ । गंगा यमुना र सरस्वतीको त्रिवेणीमा लगाइन्छ । शरीरको अत्यन्तै संवेदनशील भागमा लगाइन्छ । शरीर र अध्यात्मको अन्तर्सम्पर्क हुने नाडीयोगमा लगाइन्छ । चिकित्सा विज्ञानले पनि चिन्न नसकेको चिन्मय स्थानको मध्यमा लगाइन्छ ।  जन्मेको छैटो दिन विधाताले भाग्य लेख्ने भालमा लगाइन्छ । भगवानले त्रिपुण्ड लगाउने स्थानमा लगाइन्छ । शोभा सौन्दर्यको परिधान नभई निर्वाणको नेटामा पुर्याउने निधारमा लगाइन्छ । आफूप्रति सदा सद्भावना राख्ने अग्रजको आज्ञा मान्ने र अनुजलाई अचुक आज्ञा दिने आज्ञाचक्रको ऊर्जास्थलमा लगाइन्छ । आज्ञा असफल नहुने उचाइमा लगाइन्छ । टीकासँग अध्यात्मको नाता छ । कुण्डलिनी जागेर आज्ञाचक्र खुली शाश्वतको संकेत देख्ने चक्षुमा आधारित छ । योगमाया प्रकृतिदेवी दुर्गाले साधकलाई यो शिखरमा पुर्याई विजयी बनाएकोमा विजयउत्सवको अर्थ छ । आज्ञाचक्र खुलेपछि अपराजित भएको उचाइपूर्ण अर्थ छ । यही आन्तिरिक उचाइमा पुगेर मुक्तिको मुहान भेटेको अर्थबोध गर्न ललाटमा विजयको लाल रंगी टीका लगाएको अर्थ छ । देवीदीक्षान्तको अर्थ छ । जीवन ऊर्जाको पद्मपुष्प पल्वित भएको प्रसाद छ । अध्यात्मको पद्म नयन प्रकट भएको अर्थ छ । मूलको ऊर्जाधार उन्नत भई निधारमा आएर अक्षत रक्तकमलको आभा प्रकाशित भएको छ । दशैंको टीकाले यो टलक दिइरहेको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment