आज महानवमी, नवदुर्गा भवानीको पूजा-आजा गरी मनाइँदै

काठमाडौं, असोज १३ ।

आज बडा दशैंको नवौ दिन । घरघरमा तथा मुलुकभरका देवी मन्दिरमा नवदुर्गा भवानीको पूजाआराधना गरिंदैछ ।
नेपाली समाजमा भव्यताका साथ मनाइंने महान्  पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना गरिन्छ । माता महागौरीलाई सत्य र साँस्कृतिक शुद्धिको प्रतीक मानिन्छ । उनी सबै दुर्र्गित नाश गरेर जगतमा शान्ति स्थापना गर्न प्रकट भएकी हुन् । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले वदनमा कुनै दाग नभएको शुद्ध सफा सेता वस्त्र धारण गरेकी छन् । माता महागौरीले सदाशिवलाई समेत अनन्त अक्षत आशिर्वाद दिइरहेकी हुन्छिन् । महागौरीलाई पार्वतीको सोह्रवर्षे षोडषी वा अविवाहिताको  रुपमा चित्रण गरिएको छ । नवमीका दिन घरघरमा कन्याहरुको समेत पूजा गरिन्छ ।
महानवमीका दिन घरघर स्थापना गरिएका दशैंघर, देशभरका देवीमन्दिर तथा कोटघरमा भव्यपूजाआजा हुन्छ । दुर्गति नाश गर्ने प्रतीकका रुपमा शक्तिपीठहरुमा विधिपूर्वक वलिपूजा तथा सात्विक पूजा गरिन्छ । यस्ता पीठहरुमा राँगा,बोका,भेंडा,कुखुरा,हाँसका भालेको पञ्चवलि पनि दिइन्छ । भने सात्विक पूजा गर्नेले कुभिण्डो केरा नरिबल लगाउतका फलफूलको भोग लगाउँने चलन छ । शक्ति आर्जनका लागि व्यक्ति वा राज्यशक्तिले समेत महाशक्तिको पूजा गर्ने चलन छ । राज्यशक्तिकी माता तलेजु भवानीको यस दिनमा बडो भक्तिपूर्व पूजा गरिन्छ ।
काठमाडौको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर महानवमीका दिन मात्र सर्वसाधारणलाई खुला गरिन्छ । तलेजु भवानीका साथै काठमाडौं उपत्यकामा रहेका शक्तिपीठ तथा देवीमन्दिरहरु गह्येश्वरी, मैतीदेवी, नक्सालभगवती, कालिकास्थान, भद्रकाली, संकटा, रक्तकाली, दक्षिणकाली र स्वधा वा शोभाभगवतीको विशेष पूजा गरिन्छ । यसै गरी नरदेवी, विजेश्वरी, इन्द्रायणी, वज्रवाराही, बगलामुखीमा पनि  विशेषपूजा गरिन्छ ।
यसरी नै मुलुकभर रहेका देवीमन्दिर तथा शक्तिपीठमा महानवमीका दिन देवीभवानीको भव्यपूजा हुन्छ । पूर्वकी पाथीभरादेखि रक्तकाली, कंकालिनी, सखडा भगवती छिन्नमस्ता, गडीमाई भगवती, दन्तकाली, सिद्धकाली,कालिञ्चोक भगवती, पाल्चोक भगवती, पलाञ्चोक भगवती, लिस्तीमाई, चण्डेश्वरी, चामुण्डा भगवती, सल्यानकोट भगवती, रिपुमर्दिनी भैरवी भगवती,देवीघाट भगवती,गोरखकाली,मनकामना भगवती, लमजुङ कालिका, छिम्केश्वरी, खड्गेश्वरी, मौलाकालिका,जितेश्वरी, भैरवी, भद्रकाली, विन्दवासिनी भगवती, सराङकोट, कास्कीकोटकी गुप्तकाली,पाङ्दुरकोट आलमदेवी,गह्रौंकालिका ,सतौंचण्डी,बागलुङ कालिका,दुर्लुङ कालिका, जलजलामाई, शैलेश्वरी, वागेश्वरी उग्रतारा लगायत देशका थुमथुम र गढीग्राम, दुर्गमा रहेका देवीमन्दिरमा बडो उत्साहका साथ भगवतीको पूजाअर्चना गरिन्छ । मुलुकभर मानिसहरु ठूलो संख्यामा देवीपूजनका लागि मन्दिरक्षेत्रमा भेला हुने र मार्ग, बाटाघाटामा हिड्ने हुँदा देश दुनिया नै जगमग र भव्य देखिन्छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment