लेख/विचार – एबोर्सनको टेबलमा गोर्खाल्याण्ड

एबोर्सनको टेबलमा गोर्खाल्याण्ड

–बी . पी. बजगाइँ

[लेख शुरु गरिन अघि सानो नोट: धेरैले म्यासेन्जर र वाट्सएपमा सोधे, ‘तपाईं आजकल किन मौन?’ यो लेख मैले अप्ठ्यारो परिस्थितिमा लेखेको हो| मेरो लेख्ने हातहरू बाँध्ने कुचक्र चल्दैछ| यसैले मैले अप्ठयारो परिस्थितिमा समयको अभाव र सुरक्षालाई ध्यानमा राखेर घटनाको अधिक व्याख्या नगरि लेखिएको यस यस लेखलाई जातीय हीतमा गम्भीरतापूर्वक पढ़िदिनुहोस्| समयको हुरी चल्दैछ| कसैलाई होच्याउन, सानो पार्न यो लेख लेखिएको होइन| यहाँ कसैको नाम आएको छ भने त्यसलाई नकारात्मक रूपले होइन तर सकारात्मक रूपले सुधारको दृष्टिले हेरौं| देखिएका एघार यथार्थलाई बताएर अन्तमा सबैलाई एकताको आग्रह गरको छु| यसैले यस लेखमा कसैले राजनैतिक रोटी नसेकिदिने आग्रह गर्दछु|]

गोर्खाल्याण्डको नाममा आन्दोलन, वैठक, केन्द्रिय नेताहरूसँग आफु-खुशी भेटघाट अनि फेसबुक र युट्युबका लाइभ भाषणबाजीहरूभित्रको हल्लामा चुरोभित्र चकमन्नता देख्दैछु| ए गोर्खा! कतिपल्ट गोर्खाल्याण्ड गर्भाधान गराउने अनि कतिपल्ट गर्भ तुहाउने? धेरैपल्ट गर्भ तुहियो भने गोर्खाल्याण्ड गर्भाधान गर्ने पेट संधैको निम्ति बाँझो बन्नसक्छ| यसैले केहि सत्यलाई बुझेर अघि बढ्ने प्रयास गरौँ|

यथार्थ एक:
गोर्खाल्याण्ड आन्दोलनका ग्राउण्ड जिरोका नेताहरु भटाभट पक्रा पर्दैछन| पक्राउ पर्ने सबै नेता गोजमुमोका छन्| तर मोर्चाभित्रै पुरानो केस समेत भएका नेताहरू भने पक्रा परेका छैनन्| एयरपोर्टबाट खुलेआम यता-उता गर्दैछन| Chose and pick मा नेताहरू बङ्गाल पुलिसले पक्राउ गर्दैछन्| किन होला?

यथार्थ दुइ:
जीएमसीसीमा भएका दलहरूका मुख्य नेताहरूमा अहिलेसम्म वार्ता नहुनु खतरनाक संकेत हो| जीएमसीसीमा आफ्नो प्रतिनिधि चाहीं पठाउने अनि मुख्य नेता आफै भने दिल्ली गएर केन्द्रिय नेताहरू एक्ला-एक्लै भेट्ने काम गर्ने अन्य दलका केही नेताहरूको क्रियाकलाप झनै खतरनाक कुरा हो| ग्राउण्ड जिरोमा जनताले सर्वदलीय एकतामा गरेको विश्वास तोड्नु हो| नेताहरू एकतामा नबसेर, मुख्य नेताहरूले एकार्कामाझ वार्ता नगरेर एक्ला-एक्लै किन हिँडेका होलान? के स्वार्थ होला?

यथार्थ तीन:
पार्टीको नाम र झण्डामा राजनीति गर्न नदिने जीएसएसएसको दावी थियो| त्यसै दावीलाई आधार बनाउँदा केहिदिन अघि त्यहाँ दुइवटा मंच समेत बनेको हामीले देख्यौं, विभिन्न वक्तव्यको फेसबुके भिडियो सुन्यौं| तर जापको पक्षबाट डा० हर्क बहादुर छेत्री ज्यूको आव्हानमा जीएसएसएसका केही उही अनुहारहरू लामो तिरंगा बोकेर संसद घेराउ गर्नु जानु यस आन्दोलनको नबुझिने गणित हो| त्यहाँ जापको झण्डा प्रयोग भएको थियो। यसको अर्थ मैले डा. छेत्रीको संसद घेराउ कार्यक्रमलाई गलत भनेको चैं होईन। गणितको यस समस्याको समाधान खोजिनुपर्छ| यस नबुझिने गणितको उत्तर के होला?

यथार्थ चार:
‘गोर्खाल्याण्ड’ शब्द बोकेको विगतको तीन दशक लामो आन्दोलनमा भारत सरकारले गोर्खाल्याण्ड दिन कहिल्यै चाहेन| चाहेको भए पहिल्यै भईसक्ने थियो| यसैले गर्दा ग्राउण्ड जीरोका जनताले निरन्तर बन्दमा सहभागी भएर, आमरण अनशन बसेर नेताहरूलाई केन्द्रलाई कुरा बुझाउन वातावरण मलिलो बनाइदिएका हुन्| जनताले आन्दोलन गरेर नेताहरूलाई केन्द्रसँग संवाद गर्ने आधार बनाइदिएका हुन्| यस्तो बेलामा अभागोलीका नेता प्रताप खाती ज्यूले एकपटक दिल्ली पुगेर केही केन्द्रिय नेता भेट्ने बित्तिकै गोर्खाल्याण्ड प्रति केन्द्र सरकार उदासिन भएको बताउनु भनेको ग्राउण्ड जिरोको जनतालाई हरेश खुवाउने सोझो प्रयास हो| केन्द्र सरकारको हामीप्रतिको नीति उदासिन छ र त आन्दोलन, नत्र किन आन्दोलनको खाँचो पर्थ्यो? उदासिन रवैया भएको केन्द्रलाई कुरा बुझाउन नसक्ने नेताहरू किन दिल कुदनु? अनि किन अरूलाई दोषारोपण गर्नु? कसैले गएर गृहमन्त्रीलाई एकपटक भेट्दैमा गोर्खाल्याण्ड पाइन्थ्यो भने यहाँ आन्दोलनको खाँचो नै किन पर्थ्यो?

यथार्थ पाँच:
एक जना गोर्खाल्याण्डका स्वघोषित इमान्दार नेतृत्वको फेसबुक प्रोफाइल अनुसार आरएसएसका उच्च कदका चर्चित नेता इन्द्रेश कुमार उनका मेन्टर रहेछन्| हो, म मान्छु, इन्द्रेश कुमार आरएसएसका ठूला नेता हुन्| हामीले जान्दा आरएसएस आज भारत कै शक्तिशाली संगठन हो| बीजेपी पार्टीले समेत यसको कुरा काट्न सक्दैन| आन्दोलनका ती इमान्दार नेतृत्वले अब झट्टै इन्द्रेश कुमार मार्फत बीजेपीलाई सदनमा गोर्खाल्याण्डको बील प्रस्तुत गर्नु लगाउनुसक्नु पर्छ| नत्र इमान्दारिताको कसम तोडिने सम्भावना हुन्छ, एपिसेन्टरका जनतालाई धोका हुन्छ| हो कि होइन?

यथार्थ छ:
यस पटकको आन्दोलनमा सुकुनामा पुलिससंग झडप भएको आरोपमा बङ्गाल पुलिसले अन्धाधुन्द पक्राउ गर्दैछ| त्यस झडपमा हुने नहुने सबैलाई पक्रेर एउटै प्रकारका पहिल्यैबाट निश्चित गरिएका धाराहरू अन्तर्गत मुद्दा हाल्दैछ| यसै अन्धाधुन्द पक्राउमा तराई क्षेत्रका नेता तथा गोजमुमो केन्द्रिय उपाध्यक्ष विशाल छेत्री पनि पक्रा परे| उनि एक यस्ता नेता हुन् जसले यसपालीको आन्दोलनमा तराई-डुवर्स छोडिनु हुँदैन भन्थे| उनले अन्य समुदायसँग भित्री कोठे सभाहरू निरन्तर गरिरहेको जानकारी मैले विश्वस्त सूत्रहरू मार्फत निरन्तर पाउँदैथिएँ| सुकुनाकाण्डमा उनि उपस्थित नभएको प्रत्यक्षदर्शीहरूको भनाई छ भने सुकुना झडपको नाममा उनको गिरफ्तारीले के संकेत दिन्छ? तराई र डुवर्सले के बुझ्नुपर्ने हो?

यथार्थ सात:
एकातिर बङ्गाल पुलिसले गोजमुमो नेताहरूलाई निरन्तर निशाना बनाएको बेला अर्कोतिर अन्य दलका नेताहरूले जीएमसीसीमा आफ्नो प्रतिनिधि पठाएर आफु चाहीं एक्ला एक्लै कार्यक्रम गर्नुले एपिसेन्टर बाहिर गोजमुमो स्वतः कर्नर हुँदै जाँदैछ| के आजको परिस्थितिमा गोजमुमोलाई कर्नर गरेर राजनीति गर्दा त्यसले बङ्गाल सरकारलाई फाइदा दिंदैन? हाम्रै नेताहरूले राज्यलाई यस्ता फाइदा दिने काम किन गर्नु?

यथार्थ आठ:
एकातिर गोजमुमो प्रमुख विमल गुरुङ गणतान्त्रिक आन्दोलनको कुरा गर्छन भने अर्कोतिर यसै दलका अर्का नेताले सरकारलाई ८ अगस्तको अल्टिमेटम समेत दिएका थिए अनि अब गान्धी होइन सुवास चन्द्र बोसको बाटो अप्नाउने कुरा गरेका थिए| त्यसै अल्टिमेटमको कारणले बङ्गाल सरकारले गोजमुमोका नेताहरूलाई पक्राउ गर्ने निहुँ पाउँछ| यसरी आन्दोलन चर्किनुको साटो विस्तारै धरापमा पर्दै जान्छ| गोजमुमोको यस कमजोरीको फाइदा उठाएर पहाडमा सबैभन्दा शक्तिशाली मानिएको गोजमुमोको दार्जीलिंग टाउन कमिटीको कार्यालयमा अवसरवादीहरूले आगो लगाएर पहाडमा गोजमुमो कम्जोर भएको संकेत दिने प्रयास गर्छन| गोजमुमोको कमजोरीको फाइदा उठाउने आन्तरिक अथवा बाह्य शक्ति को होला?

यथार्थ नौ:
म विमल गुरुङको प्रशंसक होइन अनि म उनको पार्टीको कार्यकर्ता पनि होइन| तर बितेको तीन दशकको दार्जीलिंगको राजनीतिमा गोर्खाल्याण्ड आन्दोलनको निम्ति कता-कता विश्वास गर्ने आंशिक ठाउँ विमल गुरुङभित्र देख्दछु| जीटीए थाप्दा आफैले हस्ताक्षर नगर्नु, सर्वदलीय आव्हान आफैले गर्नु, केन्द्रले बोलाउँदा आफै नकुदेर अन्य दललाई सामेल गर्नु आदि झिनो आशाको त्यान्द्रोहरू हो| हो, उनलाई केही मिसगाइड आफ्नै दलले गरयो भने केहि बाध्यता पश्चिम बंगालको राजनैतिक षडयन्त्रले जन्मायो| मैले मात्र होइन, विमल गुरुङको साँचो कुरामा उनकै अन्य नेताहरूले छक्का-पन्जा गर्ने गरेको कुरा त स्व० मदन तामांगले पहिल्यै स्वीकारेको कुरा हो| मदन तामांगले छैठौं अनुसूची विरुद्धको वयानमा कालेबुंगको पत्रकारहरूलाई दिएको वयानमा यसो भनेका छन्:
“हिजो अस्ति फेरी विमल गुरुङले भन्यो, सिक्स्थ सेड्युलको बील जबसम्म वापस हुँदैन तबसम्म वार्ता गर्दिनँ; भन्यो हैन त हिजो अस्ति? त्यहाँबाट त बुझिगो| त्यहाँबाट अरुले भन्दै थियो अरे, ‘हाम्रो प्रेसिडेन्टले के के भन्छ भन्छ!’| विमल गुरुङले साँच्चै कुरा भनेको होला अरू trick गर्नेहरूले चैं उसलाई त्यसो भन्यो|” (भिडियो अन्तर्वार्ताबाट जस्ताको त्यस्तै)
यस अनुसार पनि उनको सही कार्यमा बाधक तत्व वरिपरी हुनसक्ने आशंका गर्न सकिन्छ| गोजमुमो पछी गोर्खाल्याण्ड सन्दर्भमा इमान्दार राजनीति गर्ने दलको रूपमा मैले क्रामाकपालाई देखेको छु| तर क्रामाकपा गोर्खाल्याण्ड आन्दोलनको कारक अनि धारक दल नबनेर संवाहक दलको रूपमा उभिएको छ| क्रामाकपामा समर्पण भने छ तर आन्दोलनको नेतृत्वमा यसले पनि विमल गुरुङलाई नै विश्वास गरेको देखिएको छ| यसका विभिन्न वातावरणीय कारणहरू हुनसक्छन्| अन्य सबै कुरा मैले लेखिरहन उचित ठानिन किनभने जनता आफैले पनि सबै कुरा अध्ययन गर्दै नै छन्| यसैले निम्न तथ्यहरूलाई केलाएर हेरौं:
i) अन्य केही दलहरू (सबै होइनन्) उनलाई एक्लै कर्नर गर्ने दिशामा छन्|
ii) पार्टीभित्रै पनि विमल गुरुङको विपरित वयानबाजी भयो, त्यो हामी सबैको अघि छ|
iii) राज्य प्रशासनले विमल गुरुङलाई दुर्बल बनाउने प्रयास गर्दैछ|
iv) एक महिनामा नेता हुने र एकदिनमा समेत नेता हुने सपना बोकेका प्याराशुट नेताहरू आन्दोलनमा देखापरे|
v) जीएमसीसीको सिङ्गो स्वरूप टुक्राउने प्रयास समेत देखापरयो|
vi) केन्द्रको निम्तोलाई अघिल्लो दिन शंका गर्नेहरुले भोलिपल्ट गनगन गरेको देखियो|
vii) अनशनकारीको त्यागमाथि राजनैतिक रोटी सेक्न नपाउने देखेर उनीहरूको प्राणको माया विपरित टिका टिप्पणी गर्नेहरू समेत देखियो|
viii) केन्द्र समक्ष राजनैतिक चर्चामा जाँदा बुद्धिजीवी, अराजनैतिक व्यक्तित्व एवं संघ संस्थाहरू सामेल गरिएन|केही राजनैतिक दल समेत छुट्यो।
उपरोक्त सबै कुराहरूले के कुरा इंगित गर्दैछ?

यथार्थ दश:
यी सबै कुराबाट एउटा कुरा स्पष्ट छ, त्यो के हो भने वर्तमान परिस्थितिमा आन्तरिक अनि बाह्य लगायत कुटिल अनि कुटनैतिक कारणहरूले विमल गुरुङको राजनीति खतरा क्षेत्रमा उभ्याउने दुष्प्रयास चल्नुसक्छ, जुन कुरा एकदमै राम्रो होइन| बाह्य अनि आन्तरिक रूपमा यस्तो स्थिति सिर्जना गरियो कि उनलाई पटक्कै बाहिर निस्कन दिईएन| वर्तमानको राज्य पुलिस प्रेशरले उनलाई झनै मैदानमा आउन दिएको छैन| यस्तो स्थितिमा ‘सम्झौता टेबल’ निर्माण हुने प्रबल सम्भावना छ| आन्दोलन अनि मुद्दा बाँच्नु हो भने विमल गुरुङ खतरामा पर्नु हुँदैन| यस्तो स्थितिको सिर्जना किन हुँदैछ? केन्द्रिकृत रुपमा यो खेल कसले खेल्दैछ?

यथार्थ एघार:
फेसबुकका विभिन्न लेख, कार्टुन आदि अध्ययन गर्दा के देखिन्छ भने अन्य केहि दलले गोजमुमोलाई कर्नर गर्दैछ| गोजमुमो आफैले पनि अन्य दललाई कर्नर गर्ने खेल खेलेकै हो| राज्य षडयन्त्र अनि गोजमुमो कै आन्तरिक घटनाले पार्टीभित्र समेत विमल गुरुङको निष्ठा कर्नर हुँदैछ| एकले अर्कोलाई, अर्कोले अर्कोलाई कर्नर गर्ने राजनीतिले गोर्खालाई गोर्खाल्याण्ड दिन्छ?

मेरो गन्थन:
i) गोजमुमोले आन्दोलन आफुमा मात्र केन्द्रिकृत गरेकोले आज राज्य सरकारको प्रसाशनिक प्रहारको भार पनि गोजमुमो आफुले मात्र बोक्नु पर्दैछ| जीएमसीसी बनिएदेखि नै यदि आन्दोलनको भार बाँडिएको भए आज राज्य प्रहार छरपष्टिएको हुने थियो|
ii) मैले शुरूमा नै आमरण अनशन अन्तिम हतियार हो, यो जतासुकै चलाउनु हुँदैन भनेको थिएँ| यो सुझाव धेरै पटक लेखेको थिएँ| त्यो सुनेको भए आज गोर्खाल्याण्ड आन्दोलन आमरण अनशनको कारणले लज्जित बन्नुपर्ने थिएन|
iii) मैले पहिला पनि भने, अहिले पनि भन्दैछु, गोर्खाल्याण्ड गोर्खाहरूको निम्ति राजनैतिक माग हो भने भारत सरकारको निम्ति यो कुटनैतिक मुद्दा हो| यसैले केन्द्र समक्ष यसलाई हामीले तीन दशकसम्म राजनैतिक टेबलमा लग्यौं, अब हामी यसलाई कुटनैतिक टेबलमा पनि लैजाउँ|
iv) हामीलाई अब राजनैतिक नौटंकी र स्टन्टको खाँचो छैन, अब हामीले यसलाई उच्च राजनैतिक अनि कुटनैतिक स्वरुपमा दीर्घमियादी योजना बनाएर लडौं|
v) गोर्खाल्याण्डको माग संवैधानिक लडाईं हो, देशको संविधानलाई सम्मान गरेर आफ्नो कुरा राख्नु सक्नुपर्दछ| मान्छे-मान्छेको मौलिक संवैधानिक अधिकारलाई चोट नपुर्याइकन हामी अघि बढ्नुपर्दछ| यसैले हामी कसैले पनि एउटा जातिले अर्को जातिलाई हेप्ने, कसैले कसैलाई असंवैधानिक कार्यमा उक्साउने जस्ता कार्यहरू पटक्कै गर्नु हुँदैन| यसले आन्दोलनलाई फाइदा होइन नोक्सान नै धेर गर्दछ|
vi) हामीले यदि पक्कै आन्दोलन गरेको हो भने जति वर्ष लाग्छ लागोस्, बङ्गालको विधानसभाले नै नियन्त्रण गर्ने कुनै वैकल्पिक व्यवस्था नथापौं| विधानसभा अनि लोकसभा चुनाव आउँछ, त्यसलाई आरामले पन्साउन सकिने वैचारिक औजार पनि तयार गर्न सकिने कुरा हो| अब लक्ष्यमा नपुगिन्जेल वैकल्पिक चुनावमा सहभागी नबनौं|
vii) अहिलेको चरणमा भने अनुभवको आधारमा विमल गुरुङज्यूले क्रामाकपाका अनुभवी नेता आर बी राईज्यूलाई जीएमसीसीको स्टियरिंग थाम्ने आग्रह गरे राम्रो हो| मलाई लाग्छ, सबै राजनैतिक दललाई उनले सजिलै समन्वय गराउन सक्ने आधार छ| उनले समाजमा भएका राजनैतिक बुद्धिजीवीहरूलाई पनि सही मंच दिनसक्ने धेरै ठुलो आधार उभिनसक्छ|
viii) गोर्खाल्याण्डको निम्ति गाउन जान्नेलाई गाउन दिउँ, लेख्न जान्नेलाई लेख्न दिउँ, टेबलमा बोल्न जान्नेलाई ठाउँमा बोल्न दिउँ, भाषण गर्न जान्नेलाई मन्चमा भाषण गर्न दिउँ, कसैले कसैको विरोध नगरौं| अनुभवमा जानेको काममा हात हालौं, नजानेको काममा हात हाले काम गर्नेलाई अप्ठ्यारो पर्छ| फेसबुकमा जताभावी नलेखौं|
ix) टिका भाईहरूले चलाएको आन्दोलन ‘पहल’ –लाई गोर्खाल्याण्ड आन्दोलनको पहिलो सांस्कृतिक आन्दोलन’ को रुपमा सम्मान गरौँ अनि उनीहरूलाई पहाड, तराई अनि डुवर्समा राजनैतिक अनि सामाजिक चेतनाको खेति गर्ने काम आधिकारिक रूपमा जिम्मा दिउँ| यसलाई बडाउन अनि फुलाउन आर्थिक रुपमा सक्षम दलहरूले मलजल गरौँ|

निष्कर्ष:
हे धृतराष्ट्रहरू, अब त संजयको आँखा खोज, देख्ने कोशिष गर| हे गान्धारीहरू, अब त् आँखाको पट्टी हटाउ| सबै नेताहरूलाई एउटै छातामुनि आउन बाध्य पार| केही चट्टू र छट्टुहरूलाई जनमतको खबरदारी देखाउ| कुरुक्षेत्रको षडयन्त्र कुनै पनि परिस्थितिमा कसैको निम्ति पनि लाभदायक पटक्कै छैन| नेता, पार्टी कार्यकर्ता सबैले स्वार्थ त्याग्नुपर्छ| आजको स्वार्थ भोलि आफ्नै घाँटीमा पासो बन्नेछ| राम्रो काम गरौँ| भविष्यले सबैको राजनैतिक पापहरू पखाल्न सकोस| भोलि आफ्नै घरमा जन्मने दुधमुखे शिशुको ठाडो प्रश्न अघि आफै झुक्न नपरोस| कसैले कसैलाई कर्नर नगरी राजनीति गरौँ| ‘मिले सुर मेरा तुम्हारा तो सुर बने हमारा’| – बी. पी. बजगाईं, १५ अगस्त २०१७.

Facebook Comments

Related posts

Leave a Comment