कविता – आजको लालबहादुर

Balaram Timilsina

आजको लालबहादुर

– बलराम तिमिल्सिना “विप्लव”

आजको लालबहादुर
लालबहादुर जस्तो छैन
फेर्न मिल्ने भए आफ्नो नाम
उसले उहिल्यै फेरिसक्ने थियो
आज ऊ जस्तो छ
त्यस्तै नाम राख्ने थियो
खै किन हो कुन्नि
ऊ नाम फेरिरहेको छैन ।
आजको लालबहादुर
लालबहादुर जस्तो छैन ।

जतिबेला उसले सपना बदलेको थियो
जुन दिनदेखि ऊ डान्सवार धाएको थियो
जुन दिन पुरस्कार भनेर घुस खाएको थियो
गिफ्ट भनेर कमिशन खाएको थियो
बिना लगानीको नाफा कमाएको थियो
त्यति बेलै नाम बदल्ने थियो उसले
( त्यसो त अचेल अरुले उसलाई हरिवहादुर भन्न थालेका छन । )

आजको लालवहादुर
पटक्कै लालवहादुरजस्तो छैन ।
यो गह्रुङ्गो नामको भारीले
किचिएको छ “लालवहादुर ”
नामकै भारीले किचिएको मानिसले
सपनाको भारी कसरी बोकोस
नामकै कारणले लजाएको विचराले
अरुलाई के अह्राइसिकाई गरोस
आजको लालवहादुर
नामले थिचिएर थला परेको छ ।

उसका पुराना साथीहरू
ऊभित्र लालवहादुर खोज्छन
भेट्दैनन र निराश हुन्छन
नयाँ साथीहरू
लालवहादुर सुन्छन र मुख विगार्छन
लालवहादुर न लालवहादुर वन्न सक्यो
न म हरिवहादुर हुँ भन्न सक्यो
जिन्दगीको दोबाटोमा
अलमलमा छ लालवहादुर

इतिहासको भारीले नकुप्रिएको उसको ढाड
नामको भारीले कुप्रिएको छ अचेल
लाल वहादुर ओछ्यानमा छ
भेट्न आउनेहरू अँध्यारो मुख फर्किएका छन
केही विशेषज्ञहरूले भनेका छन-
-“लालवहादुर निको हुन पनि सक्छ
लालवहादुर निको नहुन पनि सक्छ
औषधिको सेवन
र आहार विहारमा ख्याल गरे
लाल वहादुर वाँच्न पनि सक्छ
औषधि आहार विहार र आचरण
सुधार भएन भने
लाल वहादुर मर्न पनि सक्छ
त्यसो त
आजको लालवहादुर मर्नु उपयुक्त पनि छ ।”
निकै पटक सोचेर
ठीक छ हैन वेठीक छ
वेठीक छ हैन ठीक छ
मन वाँधेर आफ्नै मनले
(तै पुरानै लालवहादुर व्युँझिन्छ कि ?!)
म लालवहादुर बड्डाको
सीघ्र स्वास्थ्य लाभको कामना गर्छु !

२०७४|०४|२४
सात दोवाटो ,ललितपुर पार्टी प्यालेस

Facebook Comments

Related posts

Leave a Comment