कविता – गाउँ छोडेको प्रमाणपत्र

— लक्ष्मिकला राई ‘जुनकिरी ’ —

आँखा भरी दुई कोसे सपना
अनि रहरको थुप्रो –
आधुनिक कान्तिपुर को सुख भोग गर्ने
जहाँ,
मलिलो माटोमा फलेको घर
गाडीले जन्माएको
असंख्य धुवा, धुलोको सुगन्ध,
सपनाले फुलेको
फुलहरूको बगैंचा
आकाशमा दौडेका
बादलको कमि संगै
पानीको अभाव अनि खुल्ला
हरियो रंगको कमि
हो, यहि आँए
जहाँ बाट मेरो बाङा छोडेर
मामा छोडेर,
सुंगुरले खाने खिसुक्मा, छोक्कु
गाई ले खाने खरुकी
काभ्राको अचार,
नया पालुवा टर्रो, तितो
अनि गाईबस्तुको गोबर,
कोठेबारि, बाउ बाजेको
धेरै बिघा जग्गा जमिन
चौर, भिर पाखा, धेरै प्रजातिको रुखपात
चौतारीमा पुर्खाले रोपेको
वर पिपलको अक्सिजन जो
म जन्मिने बित्तिक्कै मैले फेरेको श्वास
पहिलो अक्षर क ख सिकेको पाठशाला
आगनी, खरको छानावाला घर
बस्,
मैले एउटा कागज संग साटें
सयौं बिघा जमिन संग
एउटा सुत्ने ओछ्यान संग साटें
चुनाबमा भोट् हाल्न
आज गाउँ जान परेन
कान्तिपुर बाटै यो काम फत्ते गरें
गाउँ बिकासको मेरो सोच
अब ब्यक्ती बिकासमा खर्चिन थालें
किन कि मैले
एउटा कागज बोकेको छु
मेरो अधिकार सिर्फ
एउटा सांघुरो कोठामा सिमित
अनि, शहरको चापले समातेर
कुनामा सजिएको
पैसा नामक कागजमा
जो, मेरो दराजमा मात्र राखिएको छ,
गाउँमा,
घरको धुरीमा नाचेको परेवा
सिकुवाको मास्तिर हांसेको गौंथली
फुलबारिमा उफ्रिएका
भंगेरा अनि डुलिहिडेंका भमरा
भेंडा, बाख्रा, कुखुरामा
अधिकार साटेर आएं एउटा
कागजको अक्षरमा, लिपिमा
अनि गाबिसको एक
संस्थागत छापमा
काम, कर्तव्य र दायित्व
छोडेर आएं, तोडेर आएं
फराकिलो दुखी जीवन छोडेर
सिमित खुसी खोज्न आएं
कल्पनाको सागर भुलेर
सपनाको देश आएं
हो, गाउँ छोडेको प्रमाणपत्रले
मलाइ केही दिएन
खुसी दिएन
माया अनि निस्वार्थ भावना दिएन
ढुङ्गे धाराको चिसो कलकले
एक झ्वांक भोक खप्ने पानी दिएन
वर पिपल बाट पाउने
स्वच्छ अक्सिजन दिएन
मलाई मेरो बाङा, मामा दिएन
प्रगतिपथमा लम्किने गोडा दिएन
सिर्जनशिल हातका औंला दिनै सकेन
दुर्गन्धित फोहोर रहित मन दिएन
आगनिको डिलमा नाच्ने
भगेरो र गौंथली दिनै सकेन
आकाशमा बादल नाचेन
कोमल हृदय दिनै सकेन
बस्,
म यहि कागज बाट हारेको छु
खुसी गुमाएको छु
मुखमा बाक्लो माक्स लगाएर
सास फेर्न बिर्सेको छु,
आँसु झार्ने आँखा गुमाएको छु
अहो !
साच्चै म धन्न स्वार्थी भएको छु
यो कालो, सानो कान्तिपुरीको
कोठरीमा आधुनिकताले
आफै लोपरिएको छु !

Facebook Comments

Related posts

Leave a Comment