कुराकानी- युद्ध साहित्य मार्फत आदिवासीहरुको लुकेको लामो लाहुरे इतिहास बाहिर ल्याउनु छ

टेम्के मैंयुङ्ग गाँउपालिका नागी ४ भोजपुरमा जन्मिनु भएका एक इमान्दार एवं सिद्दहस्त नेपाली साहित्यकार काङमाङ नरेश राई (नरेश काङमाङ राई) भूपु बेलायती सेना हुन । उहाँ युद्द साहित्यका एक मात्र अभियान्ता समेत हुनुहुन्छ । कविता, कथा, उपन्यास जस्ता विधामा कलम चलाउनुहुने राईका हालसम्म आँशुको दोभान कविता संग्रह (२०६१), अनुहारमा लुकाईएका चोटहरु कविता संग्रह (२०६५), युद्ध बोकेको सिताङ (युद्ध उपन्यास २०६८), खुकुरीको धारमा दुई शताब्दी (२०७१), लाहुरेका युद्ध कथा र व्यथाहरू, फियरलेस वरिवर (अंग्रेजी भाषामा २०१६), वेलायतको प्रकाशन हाउस् ओलम्पियावाट प्रकाशित पप्पी पूm कविता संग्रह (२०१७), वार ईज लाईक टियर्स कविता सन् २०११ मा १०० युवा कविहरुमा वेलायतमा सेलेक्टेड जस्ता कृतिहरु प्रकाशित भैसकेका छन । सीमाहीन बिम्बहरु (कविता संग्रह २०६३), ग्रीनवीचका प्रतिध्वनिहरू कविता संग्रह २०६६), युद्धमा हराएको प्रेम ( नेपाली युद्ध कविता संग्रह २०६८), गोर्खा वार पोयम (अथर हाउस वेलायतबाट प्रकाशित सन २०१४) , युद्ध साहित्य र सिद्धान्त (२०६९), गोर्खा सत्याग्रह (दस्तावेज सन् २०१४), ग्रीनवीच टाईम्स् दैमासिक म्याग्जिन (२०१२ – २०१४), गुरिल्ला गर्ल (तारा राई ,सम्पादन , २०१७) लगायतका पुस्तकहरूको समेत संपादन गरिसक्नु भएका राई हाल युद्द साहित्य लेखनमा व्यस्त हुनुहुन्छ । पहिचान पुरस्कार (२०१५) एवं भोजपुर प्रतिभा प्रतिष्ठान (हाल सचिव २००८….) संस्थापक समेत रहनुभएका राईसँग मूलतः कविता र युद्द साहित्यका÷कविताको बारेमा गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । स्मरण रहोस कि उहाँको चारओटा युद्द कविताहरु अरुणिमा को अघिल्लो अंकमा प्रकाशित गरिएको थियो ।

कविता खासमा के हो ?
कविता आफैमा विचार हो । जसले विभिन्न विचार र दर्शनहरूसंग साइनो गास्छ ।

कविताको भूमिका समाजमा कस्तो हुनुपर्छ जस्तो लाग्छ यहाँलाई ?
कविता साहित्यको अन्य विधाहरू मध्ये अमूर्त विधा हो । कविको लेखाई अनुसार समाजमा कविताको भूमिका रहने हो । कुनै कविताले शिक्षा देला । कुनै कविताले क्रान्तिको जन्म गराउँला या कुनै कविता रोमान्टिक होला । कविले के लेख्छ कवितामा ? त्यही कुरो समाजमा पुग्ने हो । अनि उसको कविताले समाजमा भूमिका निर्वाह गर्ने हो ।

तपाईले कविता मार्फत् आम पाठकलाई कस्तो स्वाद चखाउने गर्नु भएको छ ?
मेरा कविताहरु अन्य कविका कविताहरू भन्दा अलिक भिन्न छन् । म युद्ध कविता लेख्छु । नेपाली साहित्यमा युद्ध साहित्य नै नयाँ हो । मैले लेखेका कविताहरू पढ्दै जाँदा चित्र आउँछ भन्ने पनि लाग्छ । साधारण शब्दमा सरल भाषा प्रयोग गरी भिजेवल बनाउने प्रयत्न गर्छु । ऐतिहासिक पक्ष पनि पाठकहरूले पाउँछन् । मेरा कविताहरू धेरै जसो युद्ध र समान्तकोबारेमा लेखिएका हुन्छन् ।

तपाई त लाहुरे कसरी लेख्न थाल्नु भो ?
लाहुरे पहिला कि लेखन पहिला भने जस्तो प्रश्न आयो । लाहुरे हुनु भन्दा १२ वर्ष अगाडि देखि लेखनमा लागेको ब्यक्ति हुँ । लाहुरे नलाग्दा माक्र्सवादी चिन्तनलाई मानक मानेर धेरै लेखियो । द्धन्द्धात्मक भौतिकवाद त अझै पनि बाँचेकै छ यो दिमागमा । लाहुरे भएपछि लेखनमा केही परिवर्तन भयो । युद्ध साहित्य लेखन थालियो । र नेपाली राजनीतिलाई नजिकबाट अध्ययन गर्दै समान्तको लागि लेख्न थालियो । अर्को पनि उत्तर छ त । धेरैले लाहुरे कवि भन्छन् । डाक्टरहरू पनि कविता लेख्छन् । तर डाक्टर कवि चाहिँ किन भनिदैन ? प्रोफेसरहरू
पनि लेख्छन् तर किन प्रोफेसर साहित्यकार भनिदैन ? यो चाहिँ गजब लाग्छ ।

तपाईले लेख्दै आएको युद्ध साहित्य कस्तो साहित्य हो ?
किन हुन्छ त युद्ध ? युद्ध विध्वंस मात्र हैन निर्माण पनि हो । मानव सभ्यताको विकास क्रममा जंगली युगदेखि अहिले प्रविधिको युगसम्म आई पुगेको छ । यति लामो समय पार गरेर आउँदा विभिन्न प्रकारका युद्धहरू भएका छन् । युद्धमा भएका वा हुने गरेका सकारात्मक र नकारात्मक चित्र नै युद्ध साहित्य लेखन हो । तिन चरणमा युद्धहरू हुन्छन् भनिरहेका छौ । युद्ध अघि, युद्धमा र युद्धपछि । तीन चरणमा भएका घट्नाक्रम भित्रको जीवन नै युद्ध साहित्य हो ।

किन युद्ध साहित्य नै लेख्न थाल्नु भएको ?
युद्ध साहित्य मार्फत विशेष गरेर आदिवासीको लाहुरे इतिहास भन्नु हो । २०२ वर्ष लामो लाहुरे इतिहासमा नेपालका आदिवासीहरुले के पाए र के गुमाए ? त्यो बुझाउँनु हो । पश्चिम नेपालमा कटुवाल लगाएर, पूर्वी नेपालमा पगरी, सुब्बा र मुखियाको माध्यमबाट आदिवासीको सक्लो छोरोहरूलाई जब्बरजस्त किन भर्ती पठाइयो पहिले पहिले ? युद्धको मार कति खपे होलान् उनीहरूका परिवारले ? नेपालमा १७ हजार नेपाली मारिँदा जसले माओवादीलाई मात्र गाली गर्छन् नि तर तिनै व्यक्तिहरू करिव ६० हजार आदिवासी लाहुरेहरू युद्धमा मारिदाँ किन अहिलेसम्म बोल्दैनन् ? युद्ध साहित्य मार्फत आदिवासीको लाहुरे इतिहास भन्नु पनि छ । जुन लाहुरे इतिहासमा चरम जातीवाद र धार्मिक आगोमा पारेका छन् आदिवासीहरूलाई ।

तपाईलाई केले युद्ध साहित्य लेख्ने प्रेरणा दियो ?
सेनामा कार्यरत भएकोले नै युद्ध साहित्य लेख्न थालेको हो । पेसा नै युद्धसँग सम्बन्ध राख्ने विषय पनि थियो ।

युद्ध साहित्यलाई किन पहिचानसँग जोड्नु हुन्छ ?

युद्ध साहित्य पहिचानको आन्दोलन पनि हो । माथि पनि थोरै कुरो कोट्याएँ । गोर्खा भर्ती किन आदिवासी, केहि खस र अति थोरै क्षेत्रीहरूलाई मात्र पठाइयो प्रश्न त आउँछ त । सन् १९४७ साल ९ नोभेम्बरमा भएको त्रिपक्षिय सन्धिलाई हेर्नुहोस् । त्यसमा लेखिएको छ, प्रत्येक गोर्खा रेजमेन्टमा एउटा मन्दिर हुनु पर्छ, जहाँ एक जना पण्डित हुने छ, गोर्खा सेनाहरू हिन्दूको विरुद्धमा लड्न पठाइने छैन । जहाँ आदिवासीको पहिचान नामेट पारिएको देखिन्छ । आदिवासीहरू हिन्दू धर्मलम्बी थिएनन् र हैनन् पनि । १९१० को मुलुकी ऐन र गोर्खा भर्तीले उनीहरूलाई पहिचान विहीन बनाएको पक्कै हो । आजको संसारमा प्रत्येक व्यक्ति स्वतन्त्र चाहान्छ । कसैको कन्ट्रोलमा कोहि पनि बस्न मान्दैनन् । नेपालमा तिनै जातिहरू जो पहिचान प्राप्तिको लागि संघर्ष गरिरहेका छन् । उनकै बाउ र काका पुस्ता वेलायतसँग समान्तको लागि आन्दोलनमा छन् । अनि त, युद्ध साहित्य आदिवासीको पहिचानसँग मज्जैले जोडिएर आउँछ ।

नेपाली साहित्यमा डायस्परिक साहित्यको भूमीका अलिकति बताईदिनुहोस् ?
ऊ वेलाको इसापूर्व ५८६ पछि बन्दी मुक्त यहूदीहरू छरपष्टिएको इतिहासले डायस्पोराको परिभाषा पुग्छ कि पुग्दैन ? त्यो छलफलको विषय छँदै छ । तर पनि कला र लेखनको बोर्डर नहुने भएकोले डायस्परिक साहित्यले नेपाली साहित्यमा योगदान बेस्सरी पु¥याएको छ । देश भन्दा बाहिर रहेका साहित्यकारहरूले नै नेपाली साहित्यलाई विश्व साहित्यमा पु¥याउने हो । यसैले हो त नेपाली साहित्यमा डायस्परिक साहित्यको भूमिका महत्वपूर्ण छ र अझै हुन्छ ।

देश वाहिर रहेर साहित्य लेखन गर्न कतिको सहज छ ?
पहिलो कुरो त नेपालीहरू विदेशमा रोजोरोटीको लागि गएका हुन् । दोस्रो कुरो अवसरको खोजीमा लागेका हुन् । त्यसो भएकोले विदेशमा फुल
टाईमर लेखकहरू छैनन् भन्दा हुन्छ । रोजगारी पछिको समय लेखन र अध्ययनमा विताउने भएकोले सहज छैन । तर सृजनशील ब्याक्तिहरू समय छैन भनेर पन्छिन मिल्दैन ।

देश बाहिर रहेर र देशमै रहेर कविता लेख्ने कविहरु र कवितामा के भिन्नता पाउनु हुन्छ ?

भिन्नता छ निकै नै । नेपालका अब्बल दर्जाका कविहरू छन् । जो फुलटायम लेख्छन् । अब्बल कविता लेख्ने कविहरू नै अब्बल कवि हुन् । माथि पनि भनियो, विदेशमा फुल टाईमर लेख्नेहरू छैनन् । विभिन्न कारणले अध्ययन पनि थोरै गर्छन् । नेपाली पुस्तक पाउन मुस्किल हुन्छ । तर विश्व साहित्यलाई मज्जैले अध्यान गर्ने व्यक्ति, व्याक्तित्वहरू पनि छन् । विश्व साहित्य भिजेवल हुने भएकोले, उनीहरूको लागि नेपाली साहित्यचाँहि अलिकति विलिनो लाग्न सक्छ । विचार विहीन कविता लेख्ने कविहरू विदेशमा अलिक धेरै छन् । यसो भन्दा मलाई गाली चाँहि गर्छन्, त्यो पनि थाहा छ । तर विचारविहीन साहित्य र लेखन त रहर जस्तो मात्र हो ।

तपाईको पहिलो युद्ध कविता कुन हो ?
यही भन्न सकिन अहिले सन् २००२ तिरबाट युद्ध साहित्यमा कलम चलाउन चाँहि थालेको हुँ ।

समाज रुपान्तरणमा युद्ध साहित्यको के भूमिका रहला ?
युद्ध परिवर्तनको बाटो हो । युद्ध भयनाक र क्रुर पनि हुन्छ । युद्ध कसैको लागि जित हुन्छ, कसैको लागि हार हुन्छ । युद्धमा सकरात्मक र नकरात्मक दुवै रहन्छ । ती विषय बस्तुहरूलाई युद्ध साहित्यले अगाडि ल्याउँछ । युद्ध साहित्य न युद्धको विपक्षी नै हो न पक्षपाती नै हो । युद्ध
साहित्यले इतिहास पढाउन चाहान्छ । देशको रक्षामा खटिएको एउटा सिपाहीले जीवनको माया त्यागेर देश किन बचाउँछ ?

– प्रधानसंपादक, अरुणिमा

(अरुणिमा साहित्यिक पत्रिका, वर्ष १३, अंक १, २०७४ मा प्रकाशित)

Facebook Comments

Related posts

Leave a Comment