कविता- मलामी

Mahesh Paudyal

– महेश पौडेल —

आज पनि जलेछ चिता
त्यस विरान घाटमा, चुपचाप ।
दुईचार जोर आँखा र त्यही श्रापित घाट
साक्षी थिएछन् ।
हो, चोला “उन” को थियो,
जसको कुनै नाम थिएन ।
हामीले,
नदेखेको पनि देख्नेगरी
जब आँखा खोल्यौँ
हाम्रो विरान परिवारको साथी
उनै थिइन् ।
आफ्ना लागि कहिल्यै दुख्न नभ्याएकी उनी
हाम्रा शिशिर र हाम्रा बर्खाहरूमा
निरन्तर हाम्रा लागि दुखिरहिन्
हाम्रा घरका उत्सव र पर्वहरूमा
हामीलाई नपरेको चटारो
उनलाई प¥यो
परानुभूतिका हामीले नछिलेका गन्थ्रहरू
दिनदिन, घरघरमा
उनी बाच्थिन्
अरुहरूको महाप्रस्थानमा मलामी जानेहरू —
इराङ–तपन दोभानबाट फर्कदा
तल, एक्लेपीपलमा चिया खान्थे,
उनले पकाएको चिया त चल्दैनथ्यो
उनले हाँसपोखरीदेखि बोकिल्याएका दाउरा चल्थे ।
विकासले पाइला नटेकेको त्यस भूगोलभरि
डाडु, पुन्युँ, थाल, बटुका र भाँडाहरूमा
उनले आरनमा लेखेका महाकाव्यहरू छन्,
भुपडीबाट उठेर महलमा पसेका दुखका उद्गारहरू छन्,
पवित्र अर्घ चढाउने पात्रहरूमा,
अपवित्र नैनीको समाजशास्त्र छ
अनि, त्यसै गाउँमा छ कथा नैनीको
जसको मृत्युमा
मलामी जान भ्याएन गाउँ
भ्याए पनि चाहेन क्यार ।
सबैको मलामी, नैनीले
आज एक्लै तय गरेकी छिन्
यस लोक र त्यसलोकबीचको क्षीर ।
उनी एक्लै आगो बनिरहँदा
आज दोभान पनि रोएको हुनुपर्छ—
र बगेको हुनुपर्छ नदीसँगै
एक विषद् शोककाव्य बनेर
विरहको गाउँतिर ।

(अरुणिमा साहित्यिक पत्रिका, वर्ष १३, अंक १, २०७४ मा प्रकाशित)

Facebook Comments

Related posts

Leave a Comment