संशोधन नभए गठबन्धनमै संकट

काठमाडौं, असार २४ । राजपाका सांसद तथा नेताहरूले आश्वासन पूरा नगरे सरकारबाट बाहिरिने र राजीनामा गरी आन्दोलनमा होमिन आफूहरू स्वतन्त्र रहेको बताएका छन् । ती नेताका अनुसार राजपासँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको धारणा शुक्रबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्र र राजपाका शीर्ष नेतासँगको बैठकमा राख्नुभएको थियो ।

हप्ता-दस दिनभित्र संविधान संशोधन पारित गरेरै छाड्ने प्रतिबद्धताको कार्यान्वयन नभए वर्तमान गठबन्धनबाट आफू हट्ने चेतावनीसमेत उनीहरूले दिएका थिए । ‘प्रधानमन्त्री राजपालाई दिएको आश्वासन पूरा गर्न अझै पनि एमालेलगायत विपक्षी दलसँगको गृहकार्यमा संलग्न भएको देखिँदैन । संसद्बाट संविधान संशोधन पारित नभई असोज २ गते तेस्रो चरणको निर्वाचनमा सहभागी भए मधेसी जनताले राजपा नेतालाई कहिल्यै विश्वास गर्दैनन्’, ती नेताले भने ।

तराई मधेस सद्भावना पार्टीका सांसद नरेन्द्र साह कलवारले शुक्रबार साँझ प्रधानमन्त्रीसँगको वार्ता र त्यसपछिको राजपाको कदमलाई समर्पणका रुपमा नलिन आग्र्रह गर्नुभयो । आफूहरूले निर्वाचन आयोगमा राजपा दल दर्ताका लागि दिएको निवेदनको उद्देश्य चुनावमा सहभागी हुनु नभएर दलगत मान्यता हासिल गर्नु रहेको बताउनुभयो । राजपा चुनावमा सहभागी हुनका लागि तीनबुँदे सहमति कार्यान्वयन अपरिहार्य रहेको उहाँको भनाइ छ । समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका सांसद दिनेशप्रसाद साहले तीनबुँदे सहमतिको मुद्दाबाट राजपा पछाडि हट्न नसक्ने बताउनुभयो । सद्भावना पार्टीका सांसद नरसिंह चौधरीले कांग्रेसले आफ्नो विश्वसनीयता स्थापित गर्न सहमति लागू गर्नुपर्ने बताउनुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल रायले देउवा र पुष्पकमल दाहाल दुवैले असार मसान्तभित्रै संशोधन पारित गराउने गरी संसद्मा प्रस्ताव ल्याउने प्रतिबद्धता जनाएकाले यसपल्टको परिस्थिति भिन्न रहेको बताउनुभयो ।

(Esamata बाट)

Facebook Comments

Related posts

Leave a Comment